ताइवानको कमजोरी : स्याटेलाइट सञ्चारमा परनिर्भरता

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

ताइवानमा इन्टरनेट कटअफको खतरा बढेको छ । यो कुरा यसै वर्षको सुरुवातमा मात्सु टापुको एक महिना लामो आउटेजले स्पष्ट पारिसकेको छ । सम्भावित चिनियाँ आक्रमण वा लामो नाकाबन्दीबाट आफूलाई जोगाउन ताइवानले एलन मस्कको स्टारलिंकको सेवा लिनुको सट्टा आफ्नै उपग्रहीय सञ्चार क्षमतालाई बलियो बनाउन लाग्नुपर्छ ।ताइवानका लागि इन्टरनेट कनेक्टिभिटी भलै कमजोर नै किन नहोस् सञ्जीवनी रेखा हो । ताइपेईमा हालैमा सेना, प्रविधि उद्योग, प्राज्ञिक क्षेत्र र सरकारका विज्ञहरूसहित आयोजित पछिल्लो युद्धाभ्यासले चिनियाँ नाकाबन्दीको स्थितिमा यो टापु विशेषगरी सञ्चार सम्पर्क विच्छेदनको जोखिममा पर्ने देखाएको छ ।

जब फेब्रुअरीमा चिनियाँ जलसेनाका जहाजले ताइवानलाई मात्सुसँग जोड्ने पानीमुनि बिछ्याइएका दुइटा तार काटिदिए, ताइवानको डिजिटल पूर्वाधारमाथिको खतरा उतिखेरै उजागर भएको हो । चिनियाँ तटमा अवस्थित भए पनि सो सानो द्वीपमाला ताइवानी भूमि हो । महिनौँ लामो कटौतीका कारण त्यहाँका बासिन्दा इन्टरनेटको पहुँचबाट वञ्चित भए साथै यसले रणनीतिक सैन्य अड्डा रहेको मात्सुलाई आक्रमणका लागि मार्ग प्रशस्त गरिदियो । इन्टरनेटका तारको यो क्षतिले ताइवानको पश्चिमी तटमा डाटा सेन्टर राखेको अमेरिकी टेक जायन्ट गुगलको कमजोरीलाई पनि उजागर गरेको छ ।

हाल १५ वटा पानीमुनि बिछ्याइएका तारले ताइवानलाई विश्वव्यापी दूरसञ्चारसँग जोडेको छ । चिनियाँ आक्रमण वा नाकाबन्दीले यो टापुलाई विश्वबाट अलगथलग पारिदिन सक्छ, जसको परिणाम विश्व अर्थतन्त्र र वित्तीय बजारमा पनि पर्न सक्छ । यसखाले दुष्परिणामले संयुक्त राज्य अमेरिका र जापानलगायत अमेरिकाका क्षेत्रीय सहयोगीको सुरक्षालाई समेत खतरामा पार्न सक्छ । यसर्थ, ताइवानी सरकारले आफ्नो सञ्चार क्षमतालाई सुदृढ बनाउन र बलियो र भरपर्दाे इन्टरनेट कनेक्टिभिटीको सुनिश्चिततामा ध्यान केन्द्रित गर्नुपर्छ ।

यसको एउटा सम्भावित समाधान एलन मस्कको रकेट कम्पनी स्पेसएक्सद्वारा सञ्चालित मोबाइल स्याटेलाइट–इन्टरनेट प्रणाली ‘स्टारलिंक’को सेवा लिने हुन सक्छ । कतिपयले मस्क, जो ट्विटर (अहिले एक्स भनिन्छ) का पनि मालिक हुन्, उनलाई इन्टरनेट दुनियाँको सबैभन्दा शक्तिशाली व्यक्ति भनेर वर्णन गर्छन्, केहीले चाहिँ अत्यन्त अविश्वसनीय व्यक्तिको रूपमा वर्णन गर्छन् । मस्कको व्यापारिक साम्राज्यको एउटा प्रमुख हिस्सा रहेको स्टारलिंकले आफ्ना पृथ्वीको तल्लो कक्षमा रहेका चार हजार पाँच सयभन्दा बढी उपग्रहमार्फत विश्वव्यापी रूपमा इन्टरनेट कनेक्टिभिटी प्रदान गर्छ ।

हाल पानीमुनि बिछ्याइएका १५ वटा तारले ताइवानलाई विश्वव्यापी दूरसञ्चारसँग जोडेको छ । यसमा हुन सक्ने क्षतिले टापुलाई विश्वबाट अलगथलग पारिदिन सक्छ, जसको परिणाम विश्व अर्थतन्त्र र वित्तीय बजारमा पनि पर्न सक्छ ।

रुसले युक्रेनमा आक्रमण गरेलगत्तै मस्कले आफ्ना स्याटेलाइटलाई सो देशमा निःशुल्क प्रसारण गर्न अनुमति दिएका थिए भने किभको सरकारलाई हजारौँ स्टारलिंक टर्मिनलहरू सित्तैमा दिएका थिए, जसले युक्रेनको दूरसञ्चार पूर्वाधारमा रुसी क्षतिको न्यूनीकरणमा मद्दत गरेको थियो । त्यसयता, स्टारलिंक युक्रेनी सेनाको एक अत्यावश्यक उपकरण बनेको छ, जसले उसलाई रुसको ताजा सैन्य गतिविधिबारे खुफिया जानकारी संकलन गर्न र नेटो साझेदारहरूसँग सुरक्षित रूपमा संवाद गर्न सक्षम बनाएको छ ।

मस्कलाई युद्धको सुरुमा नायकको रूपमा हेरिएको थियो, तर युक्रेनी सरकारका नेताहरू उनको सनकको अधीनस्त छन् । गत वर्ष मस्कले रुसी जहाजमा युक्रेनी ड्रोन आक्रमणलाई रोक्न क्रिमिया तटनजिकै स्टारलिंकलाई अवरुद्ध बनाउन लगाएका थिए अनि तत्कालीन उपप्रधानमन्त्री माइखाइलो फेडोरोभलाई लेखेको एक सन्देशमा ‘देश धेरै टाढा गएर रणनीतिक पराजय निम्त्याएको’ तर्क गरेका थिए ।

मस्कको स्टारलिंक प्रयोग गरेर इन्टरनेटमा पहुँच प्राप्त गर्ने र बाहिरी संसारसँग जोडिने कुरा ताइवानका लागि समस्याग्रस्त साबित हुन सक्छ । पहिलो, स्टारलिंकमा मात्र भर पर्नुको अर्थ कुनै पनि प्रणालीगत असफलता वा डेटाको क्षति अपरिवर्तनीय हुन सक्छ । दोस्रो, मस्कले स्पष्ट रूपमा नै आफूलाई ‘चीन समर्थक’को रूपमा चिनाएका छन् । उनले ताइवानलाई हङकङजस्तै जनवादी गणतन्त्र चीनको ‘विशेष प्रशासनिक क्षेत्र’बन्न सुझाब दिइसकेका छन् । तेस्रो, चीनमा मस्कको ठूलो व्यापारिक चासो छ । मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाको चीनमा सबैभन्दा ठूलो म्यानुफ्याक्चरिङ केन्द्र छ । साथै चीन विश्वको सबैभन्दा ठूलो इभी बजार पनि हो ।

यी कुरालाई ध्यानमा राख्दा चीन र ताइवानबीच सैन्य द्वन्द्वको स्थितिमा, मस्कले चीनका मागहरू स्वीकार गर्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन । डाटा प्रवाह र डाटा भण्डारणसहित डाटामा मुलुकको सार्वभौम नियन्त्रणविना ताइवानको राष्ट्रिय सुरक्षा खतरामा पर्नेछ । ताइवान, जो पहिले नै सेमिकन्डक्टरको आपूर्ति शृंखलामा एक वैश्विक नेता हो, उसले आफूलाई सुरक्षित राख्न उपग्रह सञ्चार एवं प्रविधिमा स्वदेशी क्षमता विकास गर्न आवश्यक छ । स्रोतहरूलाई एकीकृत र समायोजित गरेर ताइवानी सरकारले सार्वजनिक–निजी साझेदारीका प्रयास स्थापना गर्न र तिनमा नियन्त्रण कायम राख्न सक्छ, जुन युद्धको स्थितिमा द्रुत रूपमा क्षमता बढाउन सक्षम हुनेछ । यी स्टार्ट–अपलाई डिफेन्स कन्ट्याक्टरसँग काम गर्न सजिलो होस् भनेर ताइवानी सरकारले खरिद प्रक्रियालाई पनि व्यवस्थित गर्नुपर्छ । 

ताइवानको राष्ट्रिय विकास कोषले भूउपग्रह प्रणाली र महत्वपूर्ण सञ्चार पूर्वाधारमा लगानी गर्दा रक्षा मन्त्रालय र डिजिटल मामिला मन्त्रालयले जापान, दक्षिण कोरिया, फिलिपिन्स र अष्ट्रेलिया जस्ता साझेदारहरूसँग प्रतिरक्षा प्रणाली स्थापना गर्नतर्फ काम गर्नुपर्छ । ताइवानको स्पेस एजेन्सीलाई गुप्तचरी आदानप्रदानमा लगाउनुपर्छ । ताइवानले निर्बाध ब्याकअप कभरेज सुनिश्चित गर्न कम्तीमा १२० उपग्रहहरू प्रक्षेपण गर्न आवश्यक छ । तर नीति निर्माताहरू समय मागका विरूद्ध दौडिरहेका छन । उनिहरूले आफ्ना सहयोगीहरूको लाभ उठाउनुपर्छ ।

अमेरिकी सरकारले ‘चिप्स एक्ट’ र ‘नेसनल डिफेन्स अथोराइजेसन एक्ट’ले प्रदान गरेको केही रकम ताइवानको उपग्रह संचार प्रविधि र सम्बन्धित सेमीकन्डक्टर चिप्स प्रविधिको विकासमा छुट्याउने तर्फ विचार गर्नुपर्छ । यसबाहेक, आफ्नो इन्डो–प्यासिफिक रणनीतिको एक हिस्साका रूपमा, अमेरिकाले समुह गठन, प्रविधिको मानक र उच्चस्तरको आदनप्रदानमार्फत् यस्तो गठबन्धन स्थापनाको नेतृत्व गर्नुपर्छ । ताइवानको अवस्था युक्रेनको जस्तो छैन । रूससँग युक्रेनले लामो सीमा साझा गर्छ जवकि ताइवान चीनबाट जलडमरूमध्येको कुख्यात कठोर समुद्री रेखाले अलग छ । यसबाहेक, ताइवानले आफ्नो ऊर्जाको ९० प्रतिशत भन्दा बढी हिस्सा आयात गर्छ । यसको अर्थ नाकाबन्दीले यो टापुको अर्थव्यवस्थालाई दु्रत गतिमा ठप्प बनाउन सक्छ । साथै यसका छिमेकी र हिन्द–प्रशान्त क्षेत्रको सुरक्षालाई अझ बढी खतरामा पार्न सक्छ ।

यसकारण, ताइवानको इन्टरनेट कनेक्टिभिटीको अवरोध सजिलै विश्वव्यापी संकटमा परिणत हुन सक्छ । ताइवान जलडमरुमा तनाव बढ्दै जाँदा यो टापुको सुरक्षा साझा भूराजनीतिक चिन्ताको विषय बनिरहेको छ । चीनलाई परास्त गर्न सम्भव नहुन सक्छ, तर उसलाई रोक्न पक्कै सकिन्छ । यसका लागि, ताइवान र उसका सहयोगीहरूले आजदेखि नै लगानी सुरु गर्नुपर्छ ताकि यो द्वीपको बाहिरी संसारसँगको सम्बन्ध सबैभन्दा कठिन घडीमा पनि मजबुत रहोस् ।
–प्रोजेक्ट सिन्डिकेटबाट (प्रोजेक्ट सिन्डिकेटका स्तम्भकार जेसन सु हार्वर्ड केनेडी स्कुलका फेलो हुन् । सेवानिवृत्त एडमिरल रिचर्ड वाई. के. चेन ताइवान राष्ट्रिय रक्षा मन्त्रालयका पूर्व उपमन्त्री र ताइवानी नौसेनाका पूर्वप्रमुख हुन्)

सुझावित समाचार