महिला रेफ्रीले एसियन कप खेलाउने

कतार फिफा विश्वकप खेलाइसकेकी जापानी योसिमी यामासिता पुरुष एसियन कप खेलाउने पहिलो महिला रेफ्री

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

 पुरुष एसियन कप फुटबलमा पहिलोपटक महिलाले निर्णायक भूमिका निभाउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलोपटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको हो । जापानकी योसिमी यामासिता पुरुष एसियन कप खेलाउने पहिलो महिला बन्ने पक्का भएको छ । एसिया कप अर्काे वर्ष कतारमा हुँदै छ । 

योसिमीले सन् २०२२ को कतार फिफा विश्वकप खेलाइसकेकी छिन् । दोहामा भएको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन भएको थियो । अर्की चार महिला रेफ्रीले पनि १२ जनवरीदेखि १० फेब्रुअरीसम्म हुने प्रतियोगिता खेलाउनेछन् । ‘पहिलोपटक महिला रेफ्रीले एसियाको ठूलो प्रतियोगिता खेलाउने भएका छन्,’ एएफसीले भनेको छ ।

 यसपटकदेखि एएफसीले भिडियो सहायक रेफ्री (भिएआर) पनि राख्ने बताएको छ । साबिक विजेता कतारले यसपटक प्रतियोगिता आयोजना गर्दा २४ टोलीको सहभागिता रहनेछ । विश्वकपको अन्तिम १६ मा स्थान बनाएका जापान र दक्षिण कोरिया नै यसपटकको मुख्य दाबेदार हुन् । यसैगरी, एएफसीले पहिलोपटक एएफसी एसिया महिला च्याम्पियन्स लिग अर्काे वर्षबाट गर्ने बताएको छ । 

 नौ रंगशालामा खेल हुने 
एएफसी एसियन कप नौ रंगशालामा हुँदै छ । विश्वकप आयोजना भएको अल बायत मैदान, लुसेल मैदान, अहमद विन अली रंगशाला, एजुकेस सिटी रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल थुमाम रंगशालासहित जासिम विन हमाद, अब्दुल्लाह विन खालिफा र अल जानोउव मैदानमा खेल हुने कतारले जनाएको छ । विश्वकप आयोजना भएको लुसेल मैदानमा सर्वाधिक ८८ हजार दर्शक अटाउनेछन् । 

सुझावित समाचार