नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा ५ र ६ असोजमा काठमाडौंमा हुने भएको छ । बिहीबार क्यानले सूचना निकाल्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा दुई दिन साधारणसभा गर्ने तालिका सार्वजनिक गरेको हो । साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
केन्द्रीय अधिवेशनअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन भइसकेको छ । साधारणसभामा केन्द्रीय कार्यसमिति सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरूले भाग लिन पाउनेछन् । आगामी चारवर्षे नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने पक्कापक्की छ ।
कोषाध्यक्ष रोशनकुमार सिंहले अध्यक्षमा उठ्ने बताएका छन् । तर, जिल्ला र प्रदेशको निर्वाचनको नतिजा आफूअनुकूल नआएपछि उनी पछि हटेको बताइन्छ । यता, चन्द भने सर्वसम्मत कार्यसमिति बनाउने प्रयासमा छन् । बागमती प्रदेशका चार जिल्ला चन्दलाई सहयोग गर्न तयार छन् । काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले क्रिकेट विकासमा सबै पक्ष मिलेर जानुपर्ने र सर्वसम्मत कार्यसमिति चयन गर्नुपर्ने जोड दिँदै आएका छन् । ‘अब पनि क्रिकेटमा पक्ष र विपक्ष भनेर हुँदैन । सबैजना मिल्नुको विकल्प छैन । नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पु¥याउन सबैले हातेमालो गर्नुपर्छ,’ घलेले भनेका छन् ।
क्यानले बन्दसत्रको एजेन्डा पनि सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७९÷८० को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने, वार्षिक लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति र संघको विधान र विविध गरी चार विषय समावेश गरिएको छ ।