भारतले एसिया कपको सुपर फोरमा पाकिस्तानलाई दुई सय २८ रनले पराजित गरेको छ । श्रीलंकामा सोमबार भएको खेलमा भारतले पहिलो ब्याटिङ गरी दुई विकेटको नोक्सानीमा तीन सय ५६ रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले ३२ ओभरमा एक सय २८ रन बनाएको थियो । पाकिस्तानका ह्यारिस राउफ र नसिम शाहले ब्याटिङ गर्न नसकेपछि भारतले विशालअन्तरले जित निकालेको हो । भारतको सानदार जितमा कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिएका थिए ।
यसअघि विराट कोहली र लोकेश राहुलको नटआउट शतकीय इनिङ्सको मद्दतमा भारतले पाकिस्तानलाई विशाल योगफल दिएको थियो । कोहलीले ४७औँ एकदिवसीय शतकका रूपमा एक सय २२ रन बनाए । उनले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । राहुलले एक सय ११ रन जोडे । उनले एक सय ६ बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । चोटका कारण गत मार्चपछि राहुलको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो । उनले एकदिवसीय खेलमा पाकिस्तानविरुद्ध छैटौँ शतक पूरा गरे ।
दुवै ब्याट्सम्यानले भारतका लागि तेस्रो विकेटका लागि दुई सय ३३ रनको साझेदारी गरेका थिए । यसका लागि उनीहरूले एक सय ९४ बलको सामना गरेका थिए । भारतले आइतबार वर्षाले खेल रोकिनुअघि कप्तान रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा एक सय २१ रनको शतकीय साझेदारी गरेका थिए । रोहित सादब खानको बलमा क्याचआउट भएका थिए । उनले ४९ बलमा ६ चौका र चार छक्कासहित ५६ रन जोडे । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।
पाकिस्तानी बलरले थप विकेट लिन सकेनन् । हरिस रौफ फिट नहुँदा पाकिस्तानलाई ठूलो घाटा लागेको थियो । सादबले १० ओभरमा एक मेडनसहित ७१ रन खर्चेर एक विकेट लिए । आइतबार वर्षाका कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्थाबाट खेल सुरु गरेको थियो ।