यो बर्खा १२ ठाउँमा तापक्रमको रेकर्ड ब्रेक

इलामको कन्यामदेखि नवलपरासीको दुम्कौलीसम्मका १२ स्टेसनमा अहिलेसम्मकै अधिकतम तापक्रम मापन

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

- सामान्यतः अप्रिल र मेमा तापक्रमले रेकर्ड ब्रेक गर्ने गरेकामा यसपटक जुनमा ११ र अगस्टमा एक गरी १२ वटा मापन केन्द्रमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । 
- जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले प्रशान्त महासागर क्षेत्र तात्ने र नेपालसहित क्षेत्रमा बर्खामा कम वर्षा गराउने प्रणाली (एलनिनो) अलर्ट हुँदा वर्षा कम भएको छ । वर्षा नहुने र बादल पनि नलाग्दा तापक्रम बढेको उनीहरूको भनाइ छ । 

यस वर्ष बर्खामा १२ वटा क्षेत्रमा अधिकतम तापक्रमले सन् १९९० यताकै रेकर्ड ब्रेक गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुनमा ११ र अगस्टमा एउटा गरी १२ वटा स्टेसनमा दैनिक औसत अधिकतम तापक्रमले यसअघिका सबै रेकर्ड ब्रेक गरेको हो ।

विभागका अधिकारीहरूले प्रशान्त महासागर क्षेत्र तात्ने र नेपालसहित क्षेत्रमा बर्खामा कम वर्षा गराउने प्रणाली (‘एलनिनो) अलर्ट हुँदा वर्षा कम भएको छ । वर्षा नहुने र बादल पनि नलाग्दा तापक्रम बढेको उनीहरूको भनाइ छ । 

विभागका अनुसार औसतभन्दा एक दिन ढिलो मनसुन भित्रिए पनि सक्रिय नहुँदा असार दोस्रो सातासम्म मध्य र पश्चिमी तराईमा तातो हावा (लू) चलेकाले जुन महिनामै ११ वटा स्टेसनमा अधिकतम तापक्रम अहिलेसम्मकै बढी मापन भएको हो । अगस्टमा सुनसरीको चतरामा दैनिक अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ ।

विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार सन् १९९० देखिको स्टेसनगत दैनिक अधिकतम तापक्रम हेर्दा १२ स्टेसनमा रेकर्ड ब्रेक भएको छ । ‘यसपटक असार तेस्रो साता पुगेर मात्र देशभर मनसुन सक्रिय भयो । वर्षा नहुने र बादल पनि नलाग्दा सुक्खा भयो । बीच–बीचमा मनसुन ब्रेक हुँदा तापक्रमले रेकर्ड बनाएको हुनपर्छ,’ पोखरेलले भनिन्, ‘एलनिनो (प्रशान्त महासागर क्षेत्र तात्ने र नेपालसहित क्षेत्रमा बर्खामा कम वर्षा गराउने प्रणाली) अलर्ट छ, जसकारण वर्षा पनि कम भएको छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मनलाल श्रेष्ठ नेपालमा पनि तापक्रम वृद्धिमा जलवायु परिवर्तनको कुनै न कुनै असर हुन सक्ने भए पनि अध्ययन जरुरी रहेको बताउँछन् । ‘यसपटक बर्खामा दैनिक अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ, मनसुन सिजनभरकै तापक्रम र वर्षाको अध्ययन गरेर ग्लोबल वार्मिङ कारक हो कि होइन भनेर किटान गर्न सकिन्छ ।’

सुक्खा रह्यो जुन 
यस वर्षको जुन पूर्वी नेपालका केही क्षेत्रबाहेक सुक्खा रहेको थियो । औसतभन्दा एक दिनपछि १५ जुनमा मनसुन भित्रिए पनि देशभर फैलन समय लाग्यो, २३ जुनमा मात्र देशभर फैलियो । तैपनि कोशी, बागमतीबाहेकमा कम पानी परेको थियोे । यो वेला तराई–मधेशमा खडेरीको अवस्था रह्यो । दुई सातासम्म पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावले मनसुन सक्रिय हुन पाएको थिएन । 

जुनमा औसत २८५ मिलिमिटर पानी पर्नुपर्नेमा २४८ (८७.१ प्रतिशत)  मात्र पानी परेको थियो । जसकारण असार देशका अधिकांश क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा बढी रह्यो । पहाडी क्षेत्रमा अधिकतम तापक्रम औसत मासिक २० रहँदा तराईमा  ३५ डिग्री नाघेको थियो । दुम्कौलीमा त मासिक अधिकतम औसत तापक्रम नै ४०.७ डिग्री मापन भयो  भने दैनिक अधिकतम तापक्रम ४४.८ डिग्रीसम्म मापन भएको छ । 

न्यूनतम तापक्रम पनि तराईमा मासिक औसत २५ डिग्री  र पहाडी क्षेत्रमा  १० डिग्री थियो । वीरगन्जमा  औसत मासिक न्यूनतम तापक्रम २७.६ पुगेको थियो ।  न्यूनतम तापक्रमलाई  दैनिक औसतमा हेर्दा १५ जुनमा बर्दियामा ३१.५ डिग्री थियो । जुनमा ११ स्टेसनमा अधिकतम तापक्रमले अहिलेसम्मको रेकर्ड ब्रेक गर्दा २९ वटा स्टेसनमा जुन महिनाका अघिल्ला रेकर्ड ब्रेक भए । 

जुलाईमा मनसुनको एकतिहाइ कम्तीमा ४८३.५ मिलिमिटर पानी पर्नुपर्नेमा ४०७ मिलिमिटर मात्र पानी परेको थियो । जुलाई दोस्रो साताबाहेक मनसुन ट्रप (मनसुनी रेखा औसतभन्दा दक्षिणतिर गएको, जसले वर्षा घटाउँछ) भयो । जसका कारण कोशी र सुदूरपश्चिममा सरदर वर्षा हुँदा मधेशका धेरै क्षेत्र, कर्णालीको दक्षिणी, बागमती र लुम्बिनीका केही क्षेत्रमा निकै कम वर्षा भएको थियो । 

२०२३ र २०२४ मा विश्वमा गर्मीले बनाउन सक्छ रेकर्ड
यसपटक नेपाल मात्र नभई भारतलगायतका कयौँ देशमा जुन, जुलाई र अगस्टमा अत्यधिक गर्मी भएको छ । महासागर र वायुमण्डलीय मौसमको प्रक्षेपण गर्ने अमेरिकी नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (नोआ) ले त सन् २०२३ ले गर्मी वर्षमा रेकर्ड बनाउने प्रक्षेपण गरिसकेको छ ।  

एलिनोको प्रभाव र विश्वको  तापक्रम वृद्धिका कारण सन् २०२३ र २०२४ गर्मी वर्ष हुन सक्ने चेतावनी दिइएको हो । तापक्रम वृद्धिका कारण जलवायुजन्य विपत्का घटना बढ्नुका

साथै जंगलमा डढेलो, आरीघोप्टे वर्षासँगै हिमालमा हिउँ पग्लने दर बढ्ने आकलन गरिएको छ । यसअघि सन् २०१६ अहिलेसम्मकै गर्मी वर्ष रेकर्ड भएको थियो ।  

युरोपेली संघको जलवायु परिवर्तन सेवा कोपरनिकसका अनुसार गत जुलाईमा विश्वको औसत तापमान १६.९५ डिग्री मापन भएको छ । यो तापक्रम सन् २०१९ मा मापन भएको औसत तापक्रमभन्दा ०.३३ डिग्री सेल्सियसभन्दा धेरै हो ।  

See More On

सुझावित समाचार