पहिलोपटक एसिया कपमा सहभागी नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ । एकदिवसीय र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानविरुद्ध साहसिक प्रदर्शन गरेको टोली दिउँसो १२: ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एसिया कपबाट विश्व क्रिकेटको ध्यान केन्द्रित गर्न सफल भएका खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
क्यान कार्यवाहक सचिव दुर्गाराज पाठकलगायतले खेलाडीलाई स्वागत गरेका थिए । एसिया कप खेलेका खेलाडीलाई स्वागत गर्न विमानस्थलमा सयौँ समर्थक पुगेका थिए । क्यानले प्रहरीको एक बाजा टुकडी व्यवस्था गरेको थियो । खेलाडीहरू बाहिरिने क्रममा समर्थकले विभिन्न नाराबाजीसहित स्वागत गरे । नेपालका कप्तान रोहित पौडेलले बाल्यकालदेखिको भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताएका छन् ।
‘हामी सबैले भारत र पाकिस्तासँग क्रिकेट खेल्ने सपना देखेका थियौँ, जुन आज पूरा भएको छ,’ विमानस्थलमा संक्षिप्त कुराकानीमा उनले भने, ‘यस्तो अवसर बारम्बार आउँदैन, प्राप्त मौका हामीले धेरै सदुपयोग गर्यौँ ।’ उनले पाकिस्तानसँगको खेलमा विश्वस्तरीय बलर र ब्याट्सम्यान रहेका कारण नेपाली खेलाडीसँग अनुभवको कमी भएको प्रतिक्रिया दिएका छन् । ‘यदि त्यो खेल हेर्यौँ भने पाकिस्तानमा वर्तमान समयकै उत्कृष्ट खेलाडी छन्,’ उनले भने, ‘बलिङका क्रममा अन्तिम १० ओभर बिग्रियो ।’
यसैगरी, भारतसँगको प्रतिस्पर्धामा नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको उनले बताए । तर, स्कोर बोर्डमा सोचेजस्तो योगफल बनाउन नसकेको उनको भनाइ छ । ‘हामीले ब्याटिङमा नियन्त्रण राख्यौँ, यद्यपि दुई सय ५० रनमाथि कटाउने लक्ष्य थियो, बलिङमा करण दाइले सुरुवातमा एक वा दुई विकेट लिँदा खेलको मोड अर्को हुने थियो,’ उनले भने । यसैबीच, विमानस्थलमा क्यानले राम्रो व्यवस्था गर्न सकेन । विमानस्थलबाहिर दर्शकलाई सुरक्षाकर्मीले थेग्न नसकेपछि क्यानले खेलाडीलाई सीधै होटेल पुर्याएको थियो ।
क्यानले विमानस्थलमा नेपाल प्रहरीसँग कुनै सहकार्य नगरेकोजस्तो देखियो । अत्यधिक भिडका कारण खेलाडीलाई बससम्म पुग्न हम्मेहम्मे भएको थियो । साथै, पहिलोपटक एसिया कप र भारत, पाकिस्तानसँग खेलेपछि विमानस्थलमा सञ्चारकर्मीले खेलाडीसँग कुरै गर्न पाएनन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको तीन सय ४२ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय चार रन बनायो । अर्को खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।
पत्रकारमाथि दुर्व्यवहार
समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार भएको छ । बाक्लो भिडभाडले अनलाइनखबरमा कार्यरत पत्रकार नमिता दाहालमाथि दुर्व्यवहार भएको हो । नेपाल पत्रकार महासंघ र नेपाल खेलकुद पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षणसहित दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् । ‘हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । समाचार संकलनका क्रममा पत्रकारमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेका छन्,’ महासंघले विज्ञप्तिमा भनेको छ ।
आगामी दुई महिनाभित्र नेपालले दुई ठूला क्रिकेट खेल्दै
एसिया कपमा सहभागिता जनाएको नेपालले अबको दुई महिनामा दुईवटा प्रमुख क्रिकेट प्रतियोगिता खेल्दै छ । पछिल्लो चार महिनायता ५० ओभरको खेल खेलिरहेको नेपालले अब दुई महिनाभित्र टी–२० फम्र्याटका खेल खेल्न लागेको हो । असोजमा चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले भाग लिनेछ । त्यसपछि आइसिसी टी–२० विश्वकपको एसिया छनोटमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । एसियाडमा नेपाल समूह ‘बी’मा रहेको छ । १० असोजदेखि सुरु हुने एसियाडमा नेपालले आफ्नो समूहमा जापान र मंगोलियाको सामना गर्नेछ ।
नेपालले अब टी–२० फम्र्याटको एसियाड र आइसिसी टी–२० विश्वकप छनोट खेल्नेछ
एसियाडमा आइसिसीको पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सीधै क्वार्टरफाइनल स्थान पाएका छन् । उनीहरूले एसियाडमा सिनियर टोली पठाएका छैनन् । भारतले अन्तर्राष्ट्रिय खेलको एक्सपोजर प्राप्त गर्ने उद्देश्यले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी खेलाडीलाई समेटेर एसियाडमा टोली पठाएको छ । भारतले रुतुराज गायकवाडलाई कप्तान बनाएको छ ।
समूह ‘बी’ विजेता हुँदा नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । एसियाडपछि नेपालले कात्तिकमा कीर्तिपुरमै आयोजना हुने आइसिसी टी–२० विश्वकप २०२४ को एसिया कप छनोट खेल्नेछ । यो प्रतियोगिता १३ कात्तिकदेखि सुरु हुनेछ । छनोटमा नेपालले युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, साउदी अरेबिया र मलेसियासँग भिड्नेछ ।
यसपटक आइसिसीको क्षेत्रीय छनोटका शीर्ष दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप खेल्नेछन् । सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।
पाकिस्तान सात विकेटले विजयी
एसिया कपअन्तर्गत सुपर फोर खेल बुधबारदेखि सुरु भएको छ । सुपर फोरको पहिलो खेलमै पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको छ । लाहोरमा भएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गरी ३८ ओभरमा सबै विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले ३९.३ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९४ रन बनाउँदै महत्वपूर्ण दुई अंक बटुल्यो ।
पाकिस्तानको जितमा ओपनर इमान उल हकले सर्वाधिक ७८ रनको योगदान दिए । यसैगरी, मोहमद रिजवानले ७९ बलमा ६३ रन बनाए । उल हकले ८३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । रिजवानले सात चौका र एक छक्का हिर्काए । कप्तान बाबर आजम १७ रनमा आउट भए । यसअघि बंगलादेशलाई सस्तै योगफलमा समेट्न पाकिस्तानका बलर नसिम साहले तीन र ह्यारिस रौफले चार विकेट लिएका थिए । बंगलादेशको ब्याटिङ क्रममा कप्तान सकिव उल हसनले ५७ बलमा सात चौकाको सहयोगमा ६३ रन बनाए । मुसफिकर रहिमले ८७ बल खेल्दै ६४ रनको योगदान दिए ।
भारत र पाकिस्तानसँग खेलेर उत्साही छौँ
रोहित पौडेल, कप्तान, नेपाल
एसिया कपमा हामीले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गरेका छौँ । सानैदेखि देखेको सपना पूरा हुँदा एकदमै खुसी लागेको छ । सबै खेलाडीले राम्रो अनुभूति गरेका छन् । नेपालले पाकिस्तानविरुद्ध सुरुवातमा राम्रो बलिङ गरेको थियो । तर, अन्तिम १५ ओभर नेपालले सोचेजस्तो हुन सकेन । डेथ ओभरमा नेपालले एक सय २९ रन खर्चिएको थियो । विश्वका उत्कृष्ट ब्याट्सम्यानका साथ पाकिस्तानले प्रतिस्पर्धा गरेको थियो । त्यो खेलमा बलिङ एकदमै राम्रो थियो ।
भारतविरुद्ध कुशल र आसिफले जुन सुरुवात दिलाए, मध्यक्रममा अझै राम्रो गर्न सकिन्थ्यो । समग्रमा एकदमै राम्रो खेल्यौँ । विशेषगरी, ब्याटिङ युनिट बनेको छ । मलाई लाग्छ, यो वर्ष नेपाली क्रिकेटलाई एकदमै राम्रो भएको छ । आइसिसी विश्वकप लिग–२ खेल्नुअघि हामी जुन अवस्थामा थियौँ, यस्तो कसैले सोचेको थिएन । सबै खेलाडीको विश्वास थियो । कडा मिहिनेत पनि हो । प्रशिक्षकहरूको प्रयास पनि हो ।
भारतसँगको खेल अन्तिममा टी–२० जस्तै भयो । एक सय ४५ रनको लक्ष्य थियो । जुन हिसाबले करन दाइले बलिङ सुरुवात गर्नुभएको थियो, सुरुमा एक–दुई विकेट झरेको भए जे पनि हुन सक्थ्यो । आज नेपाल यहाँसम्म पुग्नुपछाडि पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकरलगायत पुराना खेलाडीको योगदान बिर्सन मिल्दैन । उहाँहरूले नै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउनुभयो ।
विराट कोहलीसँग ठट्टा गरेँ
आसिफ शेख, ब्याट्सम्यान, नेपाल
भारतीय ड्रेसिङको क्षण निकै रमाइलो भएको थियो । हामी सबै खेलाडीले विश्वका चर्चित खेलाडीसँग कुराकानी र अनुभव साट्न मौका पायौँ । यसैक्रममा हामीले भारतका खेलाडीबाट पदक लियौँ । पदक लिएको क्षणमा वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहलीसँग ठट्टा गर्न अवसरसमेत पाएँ । उनले मसँग ठट्टा गर्दै यो पदक मैले पनि पाउनुपर्छ भन्नुभयो । कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको थियो । उहाँले अन्त्यमा एउटा मेडल मलाई पनि दिनुपर्यो भन्नुभयो, मैले पनि क्याच छोडेको थिएँ । हामीलाई त्यो सरप्राइजजस्तो थियो । खेलपछि हेन्डसेक गर्ने, बिदा हुनेजस्तो लागेको थियो ।