बालिकाका हजुरबुबा कृष्णबहादुर गोपाली भन्छन्–उपचारको आस गर्दागर्दै काखमै नातिनीको सास गयो

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरा लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो ।

आइतबार बिहानदेखि नातिनीलाई ज्वरो आउने र बान्ता हुने भइरहेको थियो । गाह्रो भएपछि त्यसै दिनदेखि स्कुल पठाएनौँ । बाफलमै मेडिकलमा चेकजाँच गराएर औषधि खुवायौँ । तर, सोमबारसम्म पनि कुनै सुधार देखिएन, खानासमेत खान नमानेपछि बेलुकातिर ट्याक्सीमा राखेर कान्ति बाल अस्पताल पुर्‍यायौँ । 

रेजिशा गोपाली जसले अस्पतालको लापरबाहीले ज्यान गुमाइन्

५:०० बजे कान्तिको इमर्जेन्सीमा पुग्दा भिडभाड थियो । नातिनी राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सुरुमै लागेको थियो, यस्तो भिडभाडमा कसरी छिटो उपचार पाइएला र ? सोधपुछ गरेर १ नम्बर काउन्टरमा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्‍यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । त्यहाँ व्यवस्थापन गर्ने सेक्युरिटी गार्ड हुने रहेछन् । मैले नातिनीको जटिल अवस्थाबारे सबै बताएँ ।

नातिनी काखमा रोइरहेकी थिइन् । गार्डले जतिसुकै गाह्रो भए पनि लाइनमै बस्न भनेपछि कुर्नुको विकल्प रहेन । तर, नातिनीको शिथिल अवस्था देखेर छटपटी चल्थ्यो । उठेर सेक्युरिटी गार्डलाई बिन्ती गर्थेँ– छिटो पालो मिलाइदिनुस् न । सेक्युरिटी गार्डले उल्टै झपारे । ड्युटीमा रहेका प्रहरीलाई पनि चाँडो पालो मिलाइदिन आग्रह गरेँ, तर प्रहरीले भनेको पनि मानेनन् सेक्युरिटीले । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, उपचारको आस गर्दागर्दै ७:१० बजे काखमै नातिनीको सास गयो । 

इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरा लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि ! छोरा विदेशमा छ । म, बुहारी र नातिनी यहाँ थियौँ । अब नातिनी रहिनन् । हामीलाई पहाडले थिचेजस्तो भएको छ । 

सुझावित समाचार