भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब

फुटबल, क्रिकेट र बुद्धिचालपछि राष्ट्रिय खेलाडीलाई मासिक तलब दिने भलिबल चौथो संघ बनेको छ, खेलाडीले अब मासिक पाँच हजार पारिश्रमिक पाउनेछन्

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

नेपाल भलिबल संघले राष्ट्रिय पुरुष तथा महिला खेलाडीलाई मासिक तलब दिने भएको छ । संघले राष्ट्रिय टोलीमा रहेका पुरुष र महिलामा समान १२ खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिने घोषणा गरेको हो । खेलाडीलाई मासिक तलब व्यवस्था गर्ने भलिबल संघ चौथो खेल बनेको छ । यसअघि फुटबल, क्रिकेटर र बुद्धिचाल संघले आफ्ना खेलाडीलाई मासिक तलब प्रदान गरेको थियो । फुटबलले फिफा र एएफसीको आर्थिक अनुदानमा खेलाडीलाई तलबको व्यवस्था गरेको छ । 

नेपाल क्रिकेट संघले आइसिसी र एसिसीको फन्डमै तलब खुवाइरहेको छ । बुद्धिचाल संघले विभिन्न दाताहरूको सहयोगमा महिला तथा पुरुषतर्फका शीर्ष खेलाडीलाई मात्र मासिक तलबको व्यवस्था गरेको छ । भलिबल संघले अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वखेलाडी तथा बिजनेस इन्टरप्रेनियरको आर्थिक सहयोगमा खेलाडीलाई मासिक तलब खुवाउन लागेको जनाएको छ । 

भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आर्थिक सहयोगमा खेलाडीहरूलाई मासिक तलब व्यवस्था गर्न लागेको जानकारी दिएका छन् । ‘संघले थोरै भए पनि पुरुष र महिला राष्ट्रिय खेलाडीलाई मासिक तलबको व्यवस्था गरेको छ,’ उनले भने, ‘क्रिकेट खेलाडी, फुटबल खेलाडीले मासिक तलब पाइरहेका छन्, तर भलिबल खेलाडीले अहिलेसम्म पाएका छैनन्, हामीले पहल गर्यौँ र खेलाडीलाई मासिक पाँच हजार दिने घोषणा गरेका हौँ ।’ 

तीन महिनाको  पारिश्रमिक एकैपटक
चन्दका अनुसार आर्थिक सहयोगकर्ताहरूले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा जम्मा गरेका छन् । सबै खेलाडीले एकैपटक तीन महिनाको १५ हजार रुपैयाँ पाएका छन् । नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले संघबाट खेलाडीलाई हौसला प्रदान गर्ने कार्य भएको प्रतिक्रिया दिएकी छिन् । ‘भलिबलमा लागेको कम्तीमा १५ वर्ष भयो होला, भलिबल संघले आर्थिक सहयोग जुटाएर खेलाडीलाई सहयोग गरेको छ,’ उनले भनिन् । यसैगरी, पुरुषतर्फका कप्तान मानबहादुर श्रेष्ठले संघले खेलाडीहरूका लागि राम्रो सुरुवात गरेको बताए । पुरुष र महिलातर्फका राष्ट्रिय खेलाडी आसन्न १९औँ एसियाली खेलकुदको तयारीमा छन् । नेपालले पहिलोपटक भलिबलमा एसियाडमा सहभागिता जनाउन लागेको हो । 

सुझावित समाचार