एसिया कपमा सोमबार ३ः१५ बजे नेपाल र भारतबीच समूह ‘ए’ अन्तर्गत महत्वपूर्ण खेल हुँदै छ।
श्रीलंकाको क्यान्डीमा हुन लागेको यस खेलको विजेता सुपर फोरमा पुग्नेछ। भारतले एक अंक बटुलेको छ। नेपाल शून्य अंकमा छ। वर्षाका कारण खेल रद्द भए भारत दुई अंकका साथ सुपर फोरमा पुग्नेछ।
भारतले अघिल्लो खेलमा पाकिस्तानसँग अंक बाँडेको थियो। आजको खेल वर्षाले बिथोलिए नेपालले एक अंक बटुली एसिया कपको यात्रा सकाउनेछ। यदि नेपालले अप्रत्याशित रूपमा जित हात पारे प्रतियोगिताकै सर्वाधिक विजेता भारत घर फर्किनेछ । नेपाल र भारतबीचको खेलमा प्रभाव पार्न सक्ने खेलाडी यस्ता छन्।
प्लेयर टु वाच
शुभमान गिल (भारत)
पाकिस्तानसँगको खेलमा खासै प्रभावशाली प्रदर्शन गर्न नसकेका गिलले पछिल्ला १० इनिङ्समा पाँच सय ५३ रन बनाए । उनको औसत ६१.४४ रहेको छ । उनी १००.३६ स्ट्राइक रेटमा ब्याटिङ गर्छन्।
हार्दिक पाण्ड्या (भारत)
पाकिस्तानी सिमर स्पिनरविरुद्ध पाण्ड्याले डटेर सामना गरेका थिए । मध्यक्रममा उनको भूमिमा महत्वपूर्ण मानिन्छ । विशेषतः स्पिनरविरुद्ध उनको प्रदर्शन निकै राम्रो छ । पछिल्ला १० इनिङ्समा उनले तीन सय १७ रन जोडे । उनको औसत ३९.६३ हो । १०१.२७ स्ट्राइकमा उनलाई ब्याटिङ गर्न मन पर्छ ।
कुशल भुर्तेल (नेपाल)
डेब्युको छोटो समयमै कुशलले नेपालको ओपनिङ जिम्मेवारी सम्हाल्ने मौका पाए । यसलाई उनले राम्रोसँगै निर्वाह गरेका छन्। पहिलोपटक पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा उनले आठ रन जोडेका थिए। वर्तमान समयकै तीव्रगतिका पाकिस्तानी बलर साहिन साह अफ्रिदीको पहिलो ओभरमै उनले दुई चौका प्रहार गरेका थिए । उनले पछिल्ला १० इनिङ्समा दुई सय ७२ रन जोडे । उनको स्ट्राइक ९२.४२ र औसत २७.२ छ।
गुल्सन झा (नेपाल)
आइसिसीले एसिया कपको पूर्वसन्ध्या प्रत्येक सहभागी राष्ट्रका प्रभावशाली खेलाडीमा झालाई समेटिएको थियो। पाकिस्तानसँग खासै राम्रो गर्न नसकेका उनले पछिल्ला नौ खेलमा दुई सय ६९ रन जोडे। एकदिवसीय खेलमा उनको औसत ५३.८ रहेको छ । उनको ब्याटिङ स्ट्राइक ८३.२८ छ।
कुलदीप यादव (भारत)
भारतका लागि पछिल्लो समयमा सिमर कुलदीपले प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन्। उनले पछिल्ला १० खेलमा १७ विकेट लिए। २२.०५ स्ट्राइकमा उनको बलिङ इकोनोमी ४.९८ रहेको छ।
शार्दूल ठाकुर (भारत)
भारतका युवा खेलाडीमध्ये शार्दूलले टोलीमा राम्रै स्थान बनाएका छन् । जसप्रित बुमराह व्यक्तिगत कारण भारत फर्किँदा शार्दूलमाथि दबाब बढ्नेछ। उनले पछिल्ला आठ खेलमा १४ विकेट लिए। वर्तमान भारतीय टोलीमा उनी महँगा बलरका रूपमा चिनिन्छन्। उनको इकोनोमी ५.९२ छ।
करण केसी (नेपाल)
पहिलोपटक पूर्वएकदिवसीय विश्व च्याम्पियन पाकिस्तानसँग प्रतिस्पर्धामा उनले एक विकेट लिएका थिए। नेपाल आइसिसी एकदिवसीय विश्वकप ग्लोबलमा छनोट हुनु र एसिया कपमा स्थान बनाउँदा करणको योगदान विशेष मानिन्छ। करणले पछिल्ला नौ खेलमा १८ विकेट लिएका थिए। उनको इकोनोमी ५.७ छ।
सन्दीप लामिछाने (नेपाल)
नेपालका एक मात्र लेग स्पिनर सन्दीपसँग भारतीय खेलाडीसँग प्रतिस्पर्धा गरेको अनुभव छ।
इन्डियन प्रिमियर लिगमा उनले भारतीय पूर्वकप्तान विराट कोहलीलाई बलिङ गरेका थिए। नेपालकै स्ट्राइक लेग स्पिनर सन्दीपले पछिल्ला १० खेलमा १४ विकेट लिएका थिए । उनको इकोनोमी ५.४९ छ। उनले पाकिस्तानविरुद्ध ६९ रन खर्चँदै एक विकेट लिएका थिए।
स्रोत : क्लिकइन्फो