काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरु

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबारबाट सुरु भएको छ।

तीन दिनसम्म होटेल हिमालयमा चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो। महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।

उनले स्वागत मन्तव्यमा भने, ‘यो महोत्सवले सांस्कृतिक आदान–प्रदानको मञ्चका रूपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्नेछ।’ साउदले महोत्सवको सफलताको शुभकामना दिँदै यस्तो प्रयासहरूको खाँचोलाई औँल्याए।

महोत्सवका संंस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदान–प्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए। अर्का वक्ता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको, तर नाटकलाई भने सोहीअनुरूप महत्व नदिने धारणा राखिन्। आगामी शृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न उनले सुझाव दिइन्।

प्राध्यापक माधवप्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले सम्राट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताए। यो महोत्सव दुई देश जोड्ने मञ्चका रूपमा स्थापित हुँदै गएको चर्चा महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायत वक्ताले पनि गरेका थिए।

पत्रकार रूपेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य पनि समावेश गरिएको थियो।

सुझावित समाचार