परिचय खोजिरहेको देश

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

एउटा देश परिचित हुन के–के हुन सक्छ ?
दुनियाँकै शिक्षित,
सुरक्षित
या विकसित ?
तर, हामी कति गरिब छौँ
हामीलाई देश चिनाउन
दोषी चाहिएको छ
एक समय रगतको होली खेलेर
चोख्खिन संसद् भवन छिर्नेहरू 
यस्तै राष्ट्रनायक
हामीलाई चाहिएको छ।

हामी गरिब हौँ
हामीलाई देश चिनाउन कसुरदार चाहिएको छ
हामी दरिद्र हौँ
जहाँ नैतिकताको खडेरी छ
कसैलाई कोपारेका रक्ताम्मे नंग्रा
हामी जोगाइराखौँ 
पीडितको आलो घाउमा
नुन छर्किराखौँ 
राष्ट्रियताको पट्टी आँखामा बाँधेर
पीडितको चरित्र नापौँ
इन्ची–टेप बोकेर
फरियामा छोरीको अस्तित्व नापौँ
अनि दोषीलाई मलमलले सिँगारेर
देश चिनाइराखौँ।

मेरो देशको न्यायालय 
दृष्टिविहीन भएको छ
त्यसैले त देख्दैन न्यायालयबाट फुत्केर
संसद् भवन छिर्नेहरू
यहाँ न्याय बधिर भएको छ
त्यसैले त सुन्दैन
पीडितको चीत्कारहरू
कठै ! 
मेरो देश
न्याय दृष्टिविहीन छ
न्याय बधिर छ
कठै !  
गरिबीले निसास्सिएको मेरो देश
संसारसामु चिनिन
दोषी लट्ठी चाहिएको छ ।

सुझावित समाचार