व्यक्तिका जग्गाको बीचबाट सडक खुल्यो, तर नापीले लगत कट्टा नगरिदिँदा स्थानीय त्यसको पनि मालपोत बुझाउन बाध्य
ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले मेची राजमार्गको करिब सात रोपनी जग्गाको मालपोत बुझाइरहेका छन् । मेची राजमार्ग फुङलिङ– ५ उकालीपानीसहित नगरपालिकाका विभिन्न ठाउँमा रहेको उनको जग्गाको बीचबाट सुकेटार विमानस्थलतर्फ गएको छ । तर, ०४५ मा राजमार्ग बनाउँदा उनको सात रोपनी जग्गा पनि परेको थियो । नापीले लगत कट्टा नगरिदिँदा उनले अहिले पनि मालपोत बुझाइरहेका छन् । ‘वार्षिक आठ हजार मालपोत बुझाइरहेको छु,’ उनले भने ।
फुङलिङ– ५ बुद्धचोकका गणेश दाहालको चार रोपनी जग्गा पनि मेची राजमार्गमा पर्छ । उनले पनि वार्षिक चार हजार आठ सय मालपोत बुझाइरहेका छन् । ताप्लेजुङभित्रको काबेलीदेखि सुकेटारसम्म मेची राजमार्गमा रहेका कम्तीमा पाँच सय जग्गाधनीले सडकको मालपोत तिरिरहेका छन् । सरकारले मेची राजमार्गको क्षेत्राधिकारभित्र पर्ने जग्गाको लगतकट्टा नगर्दा पालिकालाई मालपोत तिर्नुपरेको फुङलिङ नगरपालिका– ७ का सुरेश निरौलाले बताए । उनको पनि १३ रोपनीमध्ये चार रोपनी जग्गा राजमार्गको सडकमा परिणत भएको छ । त्यही चार रोपनीको पनि मालपोत तिरिरहेको उनले सुनाए । कुन जग्गा सडकको र कुन व्यक्तिको भनेर मालपोत कार्यालयसँग पनि रेकर्ड छैन ।
२ चैत ०७२ मा सडक डिभिजन कार्यालय इलामले नापी कार्यालयलाई पत्र लेख्दै राजमार्गअन्तर्गत काबेली–बाहनन्दे–सुकेटार सडक केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर लगत कट्टा गरिदिन अनुरोध गरेको थियो । तर, अहिलेसम्म लगत कट्टा भएको छैन ।
जिल्ला नापी कार्यालयमा मेची राजमार्ग कतै पनि नदेखिएको कार्यालयका सूचना अधिकारी सन्तोषकुमार यादवले बताए । लगत कट्टा गरेको १४ कित्ता रहेको र सो लगत कट्टा भएको कित्ता पनि राजमार्गमा हो–होइन यकिन गर्न नसकिएको उनले बताए । ‘धेरै जग्गा छ । तर, कुनचाहिँ राजमार्गको हो कसरी थाहा पाउने ?’ यादवको प्रश्न छ ।
मालपोत कार्यालय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाले राजमार्गको लगत कट्टा नभएकाले राजमार्ग छोएको जग्गाको हकमा समस्या भएको बताए । त्यही भएर नयाँ जग्गापास गर्न आउनेलाई लगत गरेर मात्र जग्गापास गरिने उनले बताए । मेची राजमार्गले ताप्लेजुङमा पाथीभरा याङवरक, फुङलिङ नगरपालिकालाई जोडेको छ ।
तमोर करिडोरमा पनि उस्तै समस्या
तमोर करिडोरमा पनि स्थानीयले तिरो तिर्दै आएका छन् । तमोरको क्षेत्राधिकारमा पर्ने जग्गाको लगत कट्टा नहुँदा सबैले मालपोत तिर्नुपर्ने बाध्यता छ । तमोरले फक्ताङलुङ– ३ लिङखिमका प्रेम निरौलाको करिब पाँच रोपनी जग्गा सडकमा परिणत गरेको छ । उनले सो जग्गाको पोत तिरिरहेका छन् ।
तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म यो समस्या छ । तमोर करिडोरको क्षेत्राधिकार केन्द्रदेखि दायाँ–बायाँ ५०–५० मिटर छ । ०६४ देखि सुरु भएको तमोर निर्माणाधीन सडक आयोजना हो । तमोरले ताप्लेजुङमा आठराई त्रिवेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई जोडेको छ ।