सरकारले पहिले थुन्ने र पछि सुन्ने मात्रै गर्‍यो : निजी क्षेत्र

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

निजी क्षेत्रका अगुवाहरूले सरकारले पछिल्ला दिनमा व्यवसायीप्रति देखाएको व्यवहारको खुलेर विरोध गरेका छन् । उनीहरूले व्यवसायीका समस्या समाधान नगरी निचोर्ने काम मात्रै गरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।बाह्रखरी मिडियाले बुधबार काठमाडौंमा आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले अब सडकमा आउनुको विकल्प नभएको भन्दै नेतृत्व गर्न उद्योग वाणिज्य महासंघसहित सबै निकायको ध्यानाकर्षणसमेत गरे । व्यवसायीले आफ्ना कुरा पनि नसुनी सरकारले समातेर थुन्ने काम गरेको भन्दै यस्तो व्यवहारले मुलुकमा आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? भन्दै प्रश्न गरेका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,’ ढकालले भने, ‘चाहे हामी हाम्रा नीतिगत कारण भनौँ वा कोभिडको कारण या विश्वव्यापी रूपमा देखिएको संकट या श्रीलंकाको डर देखाएर नीतिगत रूपमा अप्ठ्यारो पारिएको छ ।’ 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले योजनाअनुसारको आर्थिक नीति नभएकाले समस्या भोग्नुपरेको बताए । उनले भने, ‘कोभिड– १९ को महामारीले त्यो वेला लिएको सस्तो ब्याज, लगानीले अहिले ब्याजदर वृद्धि हुँदा समस्यामा परेका हौँ ।’ समग्र रूपमा राजनीतिक एजेन्डा र विभिन्न दलको धारणा फरक–फरक भए पनि आर्थिक  एजेन्डा सबैको एउटै हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘जुनसुकै एउटा एजेन्डा आउँदा जुन कालोबजारी ऐन छ, यो धेरै पुरानो भयो संशोधन गर्नुपर्छ । नेपालमा पहिले थुन्ने र पछि सुन्ने अवस्था छ त्यसको अन्त्य गर्नुपर्छ ।’

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले नेपाली अर्थतन्त्रका सूचकांक राम्रो नदेखिएको बताए । उनले भने, ‘मुद्रास्फीतिको रेट हेर्नुपर्दा अमेरिकामा समेत उच्च रह्यो भारतमा पनि त्यस्तै रह्यो । त्यो हिसाबले हाम्रो ३.६ बाट लगभग डबलभन्दा बढी भयो, तर वार्षिक रूपमा हामीले नियन्त्रणमा नै राखेको देखिन्छ ।’

सुझावित समाचार