ललितपुरको भैँसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय र निवास भवन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार उक्त भवनहरूको उद्घाटन गरेका हुन् । साथै, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भवनको साँचो पनि हस्तान्तरण गरेका छन् ।
प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा सम्पर्क कार्यालय र निवास बनाउने गरी असोज ०७६ मा भवन निर्माण सुरु गरिएको थियो । करिब चार वर्षमा उक्त संरचना निर्माण पूरा भएको हो । २७ रोपनी १२ आनामा क्रमशः एउटै डिजाइनका सातवटा (१४ ब्लक) ठूला भवनहरू निर्माण गरिएका छन् । साथै, भवनहरूले मात्रै १७ रोपनी सात आना जग्गा ओगटेको छ । त्यसबाहेक पाँच रोपनीमा आन्तरिक सडक, आठ आनामा बगैँचा, पोखरी र चार रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ । आयोजनाको कुल लागत ८५ करोड रुपैयाँ रहेको छ । एउटा भवनको खर्च साढे १२ करोड रहेको छ । प्रत्येक भवनको एउटा ब्लकमा प्रदेश प्रमुख र अर्काे ब्लकमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास रहेको छ ।
यद्यपि, यसको सम्पूर्ण काम भने सकिएको छैन । हालसम्म यसको भौतिकतर्फ ९८ प्रतिशत र इन्टेरियरतर्फ ९१ प्रतिशत काम सकिएको छ । बाँकी काम सकिएपछि मुख्यमन्त्री र प्रदेश प्रमुखहरू सर्नेछन् । हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई राखेको छ, त्यसका लागि मासिक सात लाख भाडा तिर्नुपर्छ । विशेष गरी सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई संघीय राजधानीमा आउँदा बस्नका लागि र सम्पर्क कार्यालय खोल्न भवन बनाइएको हो । साथै, सातै प्रदेशका सम्पर्क कार्यालय एकै ठाउँमा हुँदा अन्तरप्रदेश समन्वयन र संघीय सरकारसँग समन्वयन गर्न पनि सजिलो हुने बताइएको छ ।