सिद्धार्थ प्रिमियरले सुरु गर्‍यो डिजिटल बिमा सेवा

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बिमालेख जारी गर्न र दाबी फस्र्योट गर्न मिल्ने गरी एसपिआइएल–डिजी प्रणाली सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको हो । 

शुक्रबार काठमाडौंमा विशेष समारोहबीच नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रूपमा यसको शुभारम्भ गरेका हुन् ।

यससँगै अब ग्राहकले अनलाइनबाटै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्नेछन् । साथै, अनलाइनबाटै ५० हजार रकमसम्मको दाबी पेस गर्न सक्नेछन्, त्यसको दुई घन्टाभित्र दाबी फस्र्योटसमेत हुनेछ । नेपाली बिमा क्षेत्रमा यस्तो प्रविधिको शुभारम्भ भएको यो नै पहिलो हो ।

प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शुभकामना दिए । साथै, अन्य कम्पनीहरू पनि अब प्रविधिमैत्री हुनुपर्ने उनले बताए । 

यस्तै, कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बिमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताए । कम्पनीका सिइओ वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा बिमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्यअनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो प्रणालीमा अनलाइन भुक्तानीमार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थितिविना बिमालेख खरिद गर्न सकिनेछ । साथै, बिमितले निश्चित रकमसम्मको बिमा दाबी फस्र्योट गरी भुक्तानी लिन र बिमा दाबीको अवस्थाका बारेमा जानकारीसमेत लिन सक्ने कम्पनीको भनाइ छ । यसबाट समय र लागत घट्न जाने र झन्झटरहित तरिकाबाट बिमा सेवा लिन एवं प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सुझावित समाचार