चारदेशीय शृंखला नेपाललाई

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

फाइनल खेल वर्षाले प्रभावित भएपछि डिएलएस पद्धतिमा हङकङलाई १३ रनले हराउँदै नेपाल च्याम्पियन 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चारदेशीय टी–२० शृंखला जितेको छ । शनिबार मलेसियामा भएको फाइनलमा हङकङलाई डकवर्थ लेविस (डिएलएस) पद्धतिमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो । दोस्रो इनिङ्समा नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल पुनः सुचारु हुन सकेन । यसअघि सानदार इनिङ्स सुरु गरेको नेपाल च्याम्पियन भएको हो । शृंखलामा च्याम्पियन नेपाल र उपविजेता हङकङसहित आयोजक मलेसिया र कुवेतको सहभागिता थियो । लिग चरणमा नेपाल शीर्ष स्थान तथा हङकङ दोस्रो हुँदै फाइनल प्रवेश गरेका हुन् । 

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । शुक्रबार भएको तेस्रो खेलमा भने नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको हो । हङकङ पहिलो खेलमा नेपालसँग पराजित हुँदा मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले पराजित गर्दै उपविजेता भएको थियो । 

वर्षाले खेल अगाडि बढ्न सकेन
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा एक सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सानदार सुरुवात गरेको थियो । जवाफी ब्याटिङ गरिरहेको नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा भयो । फाइनल खेलमा दुवै टोली निर्धारित २० ओभर नै खेल्न चाहन्थे । तर, वर्षा नरोकिएपछि खेलमा नेपाल विजयी भएको हो । 

ओपनर सीता रानामगर १३ बलमा १३ रन बनाएर अविजित थिइन् । उनले एक चौका हिर्काएकी हुन् । यता, तेस्रो नम्बरमा क्रिजमा आएकी इन्दु बर्माले पनि १९ बलमा १९ रन बनाइन् । इन्दुले २ चौका प्रहार गर्दै सीतालाई साथ दिँदा वर्षा भएको थियो । ओपनर काजल श्रेष्ठ भने गोल्डेन डकआउट भइन् । काजललाई इक्रा सहारले दोस्रो बलमै एलबिडब्लू धरापमा पारेकी थिइन् । नेपालले अतिरिक्त ५ रन पाएको थियो । कप्तान रुविना क्षेत्री, अश्मिना कर्माचार्य, कविता जोशी, कविता कुँवर, खुसी डंगोल, अप्सरी बेगम, सम्झनाकुमारी खड्का र पूजा महतोले ब्याटिङ नै गर्नुपरेन । 

चम्किइन् खुसी
बलर खुसी डंगोल चम्किएपछि टस हारेर ब्याटिङ गरेको हङकङले ठूलो स्कोर बनाउन सकेन । प्लेयर अफ दी म्याच खुसीले तीन ओभरमा ८ बल डट खेल्दै २० रन मात्रै खर्चिएकी थिइन् । १.३ ओभरमा पहिलो विकेट लिएको नेपालले २.२ ओभरमा दोस्रो विकेट लिएपछि सानदार सुरुवात गरेको थियो । १०.२ ओभरमा तेस्रो विकेट लियो । यसपछि मात्रै हङकङले आफ्नो स्कोर बोर्ड बढाएको हो । निर्धारित २० ओभरमा हङकङले मात्र एक सय एक रन बनाएको थियो । 

हङकङकी का यिङ चानले सर्वाधिक २९ रन बनाइन् । ४५ बल खेलेकी चानलाई खुसीले बोल्ड गरेकी हुन् । १९ रन बनाएर खेलिरहेकी मारिना एन्टोनियालाई पनि खुसीले १९ रनमै बोल्ड गर्दै पेभिलियन फर्काएकी थिइन् । एन्टोनियाले दुई चौका प्रहार गर्दा २० बलको सामना गरेकी हुन् । 

यसैगरी, सान्जिन शाहजादले अविजित १४, यासमिन दासवानीले ११ तथा इक्रा सहारले अविजित १० रन बनाइन् । यसअघि आठ बलमा ६ रन बनाएकी नातसा तारालाई काजलले इन्दु बर्माबाट रनआउट गराएकी थिइन् । अर्की ओपनर मारिको ताविथा तीन बल खेलेर शून्य रनमै पेभिलियन फर्केकी हुन् । बलिङतर्फ खुसीसँगै अस्मिना र कविता जोशीले समान एक विकेट लिएका हुन् । 

एसिया छनोटमा ध्यान
चारदेशीय शृंखला जितेपछि नेपालको ध्यान आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हुनेछ । नेपाली टोलीले यही प्रतियोगिताको तयारीका लागि चारदेशीय शृंखला खेलेको हो । शृंखलापछि अन्तिम खेलको रूपमा थाइल्यान्डसँग खेल्ने तालिका छ । छनोट खेल ३१ अगस्टमा मलेसियामै हुनेछ । ९ सेप्टेम्बरसम्म हुने एसिया क्षेत्र छनोटमा नेपालसहित बहराइन, भुटान, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) समूह ‘ए’मा छन् । नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्ने तालिका छ । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् । फाइनलमा स्थान बनाउने दुवै टोली विश्वकप खेल्न छनोट हुनेछन् । 

सुझावित समाचार