भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई सडक यातायातमार्फत तराइका जिल्ला जोड्ने एक मात्र विकल्प हो । धनगढी-अत्तरीया-डडेलधुरा हुँदै पहाडी जिल्ला जोड्ने यो राजमार्ग गत २२ साउन राति पहिरोका कारण अवरुद्ध हुँदा नौ दिनसम्म कैलाली–कञ्चनपुरसँग डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाको सडक यातायात ठप्प रह्यो । कैलालीको गोदावरी नगरपालिका–४, बुढितोलामा पहिरोले चार सय मिटर सडक बगाएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याउन नौ दिनसम्म कुर्नुपर्यो ।
यही कारण पहाडी जिल्लाबाट आएका बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गराउनुपर्यो भने ढुवानी रोकिएपछि पहाडी जिल्लामा खाद्यान्न अभाव भयो । पहाडबाट तरकारी आयात रोकिएपछि तराईमा तरकारीको अभाव भयो । हरेक वर्ष पहिरोले अवरुद्ध भइरहने भीमदत्त राजमार्गको विकल्पमा अन्य सडक आयोजना नभएका होइनन् । तर, तराई र पहाडलाई जोड्न अगाडि बढाइएका सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल फास्ट ट्रयाक र महाकाली करिडोर कार्यान्वयन कम, चुनावी एजेन्डा बढी बन्ने गरेका छन् ।
सेती लोकमार्गको ट्रयाक पनि खुलेन
सरकारको प्राथमिकतामा पर्न नसक्दा सेती लोकमार्ग निर्माण सुरु भएको करिब डेढ दशकसम्म ट्रयाक खोल्ने कामसमेत पूरा भएको छैन । लोकमार्गको तीन सय ५९ किलोमिटरमध्ये हालसम्म दुई सय चार किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ । ट्रयाक खोलिएको कच्ची सडकको धेरैजसो खण्डमा सवारीसाधन चल्दैनन् । यो लोकमार्गले कैलालीमा भारतसँगको सीमानजिक पर्ने टीकापुरदेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्छ ।
दुई देशीय नाका जोड्ने भएकाले व्यापारिक र रणनीतिक रूपमा मात्र महत्वपूर्ण छैन, लोकमार्ग निर्माण हुन सके पाँच जिल्लाका दर्जनौँ विकट बस्ती यातायात सञ्जालसँग जोडिनेछन् । तर, सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र समयमै रूख कटानको आदेश नदिँदा आयोजना अलपत्र बनेको हो ।
सेती लोकमार्गलाई टीकापुरदेखि चैनपुरसम्म दक्षिण र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तर गरी दुई भागमा विभाजन गरेर ट्रयाक खोल्ने काम भइहेको छ । टीकापुरदेखि चैनपुरसम्मको दुई सय ४२ किलोमिटरमध्ये एक सय ६४ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको दक्षिण खण्डका आयोजना प्रमुख रमेश भट्टराईले जानकारी दिए ।
टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न ०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो । तर, चार वर्षपछि ०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दियो । आयोजना कार्यालयका अनुसार अहिले तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।
ठुलीगाडदेखि अछाम र डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो । तर, रूख कटान आदेश नपाउँदा यो खण्डको काम पनि अगाडि बढ्न सकेको छैन । ‘हालसम्म रूख नभएको ठाउँमा डेढ किलोमिटर मात्र ट्रयाक खोल्ने काम भएको छ, थप काम गर्नका लागि रूख कटान आदेशको पर्खाइमा छौँ,’ आयोजना प्रमुख भट्टराईले भने ।
करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले यो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ । आयोजना कार्यालयका अनुसार अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ । अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ । २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो ।
बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन । बझाङमा दक्षिणी खण्डतर्फ ३८ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भइसकेको आयोजना प्रमुख भट्टराईले बताए । चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ ।
थप ६० किलोमिटरमा ट्रयाक खोल्ने केन्द्रसँग स्रोतको सुनिश्चितता मागिएको आयोजना प्रमुख तुलाराम शर्माले बताए । पञ्चायतकालमै सेती लोकमार्गको अवधारणा आए पनि सरकारले सेती लोकमार्ग निर्माणका लागि ०६७/६८ मा छुट्टै आयोजना कार्यालय स्थापना गरेर काम अगाडि बढाएको थियो । त्यसअघि सडक डिभिजन डोटी र महेन्द्रनगरले विभिन्न खण्डमा काम गरेका थिए । चीनको मानसरोवर जाने छोटो बाटो भएकाले यो लोकमार्ग बने ठूलो संख्यामा यो बाटोमा भारतीय पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी मायाप्रकाश भट्ट बताउँछन् ।
ट्रयाक खुले पनि गाडी गुडाउन मिल्दैन
धनगढी–खुटिया–दिपायल चैनपुर–उरैभन्ज्याङ सडक पनि करिब डेढ दशकसम्म अलपत्रजस्तै छ । ट्रयाक खोल्ने काम पूरा भएको भनिए पनि गाडी गुडाउन मिल्ने अवस्थामा छैन । अहिले दिपायलसम्मको दूरी एक सय ८६ किलोमिटर रहेकोमा यो सडक बनेमा ९६ किलोमिटर मात्र हुनेछ ।धनगढीबाट डोटी पुग्ने सबैभन्दा छोटो बाटो भएकाले सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । डोटीसम्म राम्ररी ट्रयाक खोल्ने काम पनि पूरा भएको छैन ।
कैलालीमा धनगढीदेखि स्याउलेसम्म साढे १३ किलोमिटर सडक कालोपत्रेका लागि ०७८ असारमा ठेक्का भएकोमा हालसम्म कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रेको तयारी अवस्थामा रहेको आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए । १८ करोड ५१ लाख ९० हजार लागतमा खड्का कृष्ण–नारायणम्–बंगलामुखी जेभीले ठेक्का पाएको छ ।
स्याउलेदेखि हाटखोलीसम्म थप साढे ६ किलोमिटर कालोपत्रेको अवधि आगामी असारमा सकिनेछ, तर हालसम्म २० प्रतिशत मात्र काम भएको इन्जिनियर रैखोलाले बताए । यो खण्डको काम गर्न १४ करोड २० लाखमा कालीका–बेदान्सी जेभीले पाएको छ ।
कैलालीको खण्डसँगै सम्झौता भएको डोटीमा दिपायलदेखि बझाङतर्फ २५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएकोमा त्यहाँ पनि काम सुस्त छ । ९.४ किलोमिटर पहिलो खण्डको काम ८५ प्रतिशत र बाँकी खण्डमा २० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । ९.४ किलोमिटर खण्डमा आयुष–प्रशंसा–दुनिला जेभी र अर्को खण्डमा क्याब–दुनिला जेभीले काम गरिरहेका छन् । बझाङको थलारासम्म जोड्ने यो सडक डोटीमा ९६ किलोमिटर र बझाङमा ९० किलोमिटर पर्छ । बझाङतर्फ ट्रयाक खोल्ने काम पूरा भएको इन्जिनियर रैखोलाले बताए ।
महाकाली करिडोर कछुवा गतिमा
नेपाल–भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार–विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर निर्माण सुस्त छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा–बैतडी र दार्चुलाको तिंकरसम्म चार सय १३ किलोमिटर सडक ०६६ देखि सुरु भएको हो । ०६५/०६६ बाट दार्चुला–तिंकर सडक नामकरण गरिएकोमा ०७४ पछि महाकाली करिडोरमा गाभिएको हो ।
चार सय १३ किलोमिटरमध्ये एक सय २० किलोमिटर सडकखण्डको ट्रयाक खोल्नै बाँकी रहेको महाकाली करिडोर आयोजनाका इन्जिनियर दीपक विष्टले जानकारी दिए । कञ्चनपुरमा १०, डडेल्धुरामा ३०, बैतडीमा ५५ र दार्चुलामा २५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । ‘डडेल्धुरामा रूख कटानको अनुमति नहुँदा त्यहाँकाम अघि बढ्न सकेको छैन,’ उनले भने ।
महाकाली करिडोरको आवश्यकता बढ्दै गर्दा बजेट भने घट्दै गएको छ । यो सडकमा आर्थिक वर्ष ०७८/७९ मा ८२ करोड ४२ लाख, ०७९/८० मा ४४ करोड ११ लाख बजेट विनियोजन हुँदा चालू आर्थिक वर्षमा २९ करोड ५० लाख मात्रै छुट्याइएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए । करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुनसेरासम्मको तीन सय ३४ किलोमिटर सडक आयोजनाले निर्माण गरिरहेको छ । गत आवमा २७ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको थियो ।
दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पीपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजीवी–उकु खण्डमा कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । गत आवमा खलंगा–पीपलचौरी सडकखण्डमा ब्याक कटिङको कार्य भएको इन्जिनियर विष्टले बताए । झन्डै ३२ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न एक अर्ब ३५ करोडको ठेक्का सम्झौता गरिएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत अत्तरियादेखि दार्चुलासम्म तीन सय आठ किलोमिटर सडक छ । सडक निर्माणमा हरेक वर्ष बजेट अभावले काममा सन्तोषजनक प्रगति नदेखिएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले बताए । उनले भने, ‘यो सडकलाई राज्यले उपेक्षा गरेको छ ।’
करिडोरअन्तर्गतको सुन्सेराको तुषारपानीदेखि तिंकर भन्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको काम आव ०७८/७९ बाट नेपाली सेनाले थालेको छ । उक्त सडकखण्डमा चालू आर्थिक वर्षमा सेनालाई १४ करोड बजेट उपलब्ध गराएको छ । गत वर्ष नौ करोड ३० लाख ३० हजारमा तिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो । आर्थिक वर्ष ०७/७९ मा २२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गत असारसम्ममा सेनाले १०.४ किलोमिटर सडक निर्माण कार्य गरेको जनाएको छ ।