एसिया कपको तयारी : सन्दीप पाकिस्तान जाने–नजाने अझै अन्योल

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण
एसिया कपको तयारी : सन्दीप पाकिस्तान जाने–नजाने अझै अन्योल

त्रिवि मैदानमा प्रशिक्षक मोन्टी देसाईसँग प्रशिक्षण लिँदै खेलाडी

काठमाडौं जिल्ला अदालतमा मुद्दाको छिनोफानो नभएका कारण लेग स्पिनर सन्दीप लामिछाने एसिया कपको अन्तिम प्रशिक्षणमा सहभागी भएका छैनन्, क्यान उनलाई एसिया कप खेलाउने तयारीमा छ 

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलोपटक सहभागिता जनाउन लागेको एसिया कपको तयारीमा जुटिरहेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाई आएपछि खेलाडीले नियमित रूपमा कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा अन्तिम तयारी गरिरहेका छन् । तर, वर्षाका कारण खेलाडीले सोमबार नेट सेसन मात्र गरेका थिए । उनीहरूले त्रिवि मैदानमा प्रशिक्षण गर्न पाएनन् । मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकले खेलाडीलाई नेट सेसनमा व्यस्त बनाए । प्रशिक्षणमा एसिया कप खेल्ने १७ मध्ये १६ खेलाडी मात्र प्रशिक्षणमा रहेका छन् । 

नेपाली क्रिकेटका महत्वपूर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछाने अन्तिम तयारीमा समावेश भएका छैनन् । एसिया कपको तयारीका लागि नेपाली टोली यसै बुधबार पाकिस्तानमा एक साताको तयारीमा जानेछ । बलात्कार अभियोगमा सन्दीपको मुद्दाको अन्तिम छिनोफानो भएको छैन । जिल्ला अदालत काठमाडौंले अन्तिममा सन्दीपको पेसी स्थगित गरेको छ । सुनुवाइ सरेपछि उनी पाकिस्तान जाने वा नजाने टुंगो नेपाल क्रिकेट संघ (क्यान)ले लगाएको छैन । 

एसिया कपमा नेपालले एकदिवसीय विश्वकप क्रिकेटकै पूर्वविजेताहरू भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लेग स्पिनर सन्दीप प्रतियोगितामा सहभागी हुने वा नहुने टुंगो अझै नलागेको बताएका छन् । ‘एसिया कपको तयारीमा खेलाडी छन्,’ चन्दले भने, ‘प्राविधिक कारण सन्दीप तयारीमा छैनन् ।’ स्वयं सन्दीपले समेत पाकिस्तान जान आनाकानी गरिरहेको उनले बताए । 

‘अदालतबाट अन्तिम फैसला नआएका कारण हामी सबै निराश भएका छौँ,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘उनी टोलीको महत्वपूर्ण सदस्य रहेकाले एसिया कपमा सहभागी हुनुपर्छ ।’ चन्दका अनुसार मंगलबार बिहानसम्म प्रतीक्षा गर्ने बताए । ‘हामीलाई आशा छ, मंगलबारसम्म केही सकारात्मक निर्णय आउनेछ,’ उनले भने, ‘सन्दीपले देशका लागि क्रिकेट खेल्नुपर्छ र जानुपर्छ ।’ 

नेपाली टोलीको बिदाई गर्न प्रधानमन्त्रीलाई निम्तो
नेपाली टोलीले पाकिस्तानमा केही दिन अभ्यास गर्नेछ । एसिया कपमा सहभागी हुने १७ खेलाडी र सात अफिसियललाई क्यानले मंगलबार बिदाई गर्दै छ । क्यानले खेलाडी बिदाई गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पठाएको छ । प्रधानमन्त्री दाहाल बिदाई गर्न आउने वा नआउने सम्बन्धमा टुंगो नलागेको अध्यक्ष चन्दले बताए । ‘टोली बुधबार पाकिस्तान जाने तयारी छ । हामीले प्रधानमन्त्रीज्यूलाई खेलाडी बिदाईका लागि बोलाएका छौँ,’ उनले भने, ‘तर, टुंगो लागेको छैन ।’

प्रभावकारी तयारी
क्यान अध्यक्ष चन्दले टोलीको प्रशिक्षण प्रभावकारी रहेको बताएका छन् । ‘अनौपचारिक प्रशिक्षण पहिल्यैबाट भइरहेको थियो, प्रशिक्षक मोन्टी आएपछि आधिकारिक रूपमा केही दिनअगाडिबाट तयारी भयो,’ उनले भने, ‘पाकिस्तानमा समेत प्रशिक्षण हुँदा एसिया कपमा राम्रो नतिजाको अपेक्षा छ ।’ क्यानले गत साता कप्तान रोहित पौडेलसहित १७ सदस्यीय टोली घोषणा गरेको थियो । टोलीमा सन्दीप र रोहितसँगै कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । 

रोहितदेखि कोहलीसम्म नेपालविरुद्ध खेल्ने
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एसिया कपमा सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । १६औँ संस्करण ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदै छन् । भारतले घोषणा गरेको १७ सदस्यीय टोलीमा लोकेश राहुल र श्रेयस ऐयरलाई स्थान बनाएका छन् ।

नेपालविरुद्ध रोहित शर्माले कप्तानी गर्नेछन् । भारतीय टोलीमा विराट कोहलीलगायतका प्रभावशाली खेलाडीहरूलाई समावेश गरिएको छ । सुभमन गिल, श्रेयस ऐयर, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, ईशान किसन, शार्दूल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक बर्मा र प्रसिद्ध कृष्ण रहेका छन् ।

एसिया कपका लागि टोली घोषणा गर्ने भारत चौथो राष्ट्र हो । यसअघि नेपालसहित पाकिस्तान र बंगलादेशले टोली घोषणा गरिसकेका छन् । अब श्रीलंका र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ । एसिया कपको समूह ‘ए’मा नेपालले भारत र पाकिस्तानसँगै प्रतिस्पर्धा गर्नेछ । नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको हो ।

३० अगस्टमा नेपालले पाकिस्तानसँग उद्घाटन खेलमा सामना गर्नेछ । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ । त्यसपछि नेपालले श्रीलंकामा २ सेप्टेम्बरमा भारतविरुद्ध खेल्नेछ । लिग चरणको खेलपछि दुवै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । 

सुझावित समाचार