कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

दोलखाको भीमेश्वर नगरपालिका– ३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कुल १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले संस्थापकका लागि नौ लाख ७४ हजार नौ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेका दुई लाख ४३ हजार सात सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ।

आइतबार नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ। कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ। कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले एक ५९ रुपैयाँ ६७ पैसादेखि चार सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेन्ज’ तोकेको छ।

नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेन्ज’ तोक्ने गर्छ। नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा सोही रेन्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुने गर्छ।

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले ०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो। कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले नौ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ। यसको निर्माण लागत रु. २४ करोड ७५ लाख रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिए।

सुझावित समाचार