डडेल्धुरा जिल्ला सदरमुकामका घर तथा जग्गाधनीले मुआब्जा पाएको महिनौँ पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेका छन् । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएको हो ।
सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गका नाममा लालपुर्जा पनि आइसकेको छ । सडक विस्तारका लागि घर भत्काउने काममा सहयोग गर्न सडक डिभिजन कार्यालयले अमरगढी नगरपालिकासँग सहयोग मागेको छ ।
‘बागबजारदेखि अन्दाजी तीन सय मिटरसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा भुक्तानी भई नेपाल सरकार महाकाली राजमार्गका नाममा लालपुर्जासमेत बनी आइसकेको हुँदा उक्त सडकखण्डमा पर्ने घर तथा टहराहरू यथाशीघ्र हटाउन लगाई सडक विस्तार तथा स्तरोन्नतिको कार्यमा सहकार्य गरिदिनुहुन निर्देशानुसार अनुरोध छ,’ सडक डिभिजन कार्यालय डोटीले अमरगढी नगरपालिका वडा नम्बर ५ लाई लेखेको पत्रमा उल्लेख छ ।
पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दूरीमा रहेका एक सय ६ जना घर तथा जग्गाधनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ । कित्ताकाट बाँकी रहेका १२ जना र भुक्तानी अस्वीकृत भएका तीनजनालाई अझै मुआब्जा बाँड्न बाँकी छ । तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घर तथा जग्गाधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाइ हुने देखिएको छ ।
अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले मुआब्जा पाइसकेका सम्पूर्ण घरधनीलाई तत्काल घर भत्काउन आग्रह गरेका छन् । त्यस्तै, अमरगढी नगरपालिकाको वडा नम्बर ५ को कार्यालयले पनि सूचना जारी गर्दै तत्काल घर भत्काउन आग्रह गरेको छ । ‘घर तथा टहरा नहटाइएको पाइएमा कार्यालयबाट जुनसुकै बखतमा हटाइने र त्यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने वडा नम्बर ५ को कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । तर, कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरक–फरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ । सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो ।
तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग पाँच मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । जसका कारण सडक क्षेत्रमा सयौँ घर निर्माण भएका छन् । सडक क्षेत्र खाली भएपछि सडक डिभिजन कार्यालय कुलपातेले सडक निर्माणका लागि टेन्डर गर्ने तयारी गरेको छ । ‘बागबजारदेखि कीर्तिपुरसम्मको सडक ३० मिटर कालोपत्रे गर्नका लागि ९० करोड बजेट मागेका छौँ,’ सडक डिभिजन कार्यालय डोटीका प्रमुख दीपक झाले भने, ‘बजेटको अख्तियारी प्राप्त हुनासाथ टेन्डरमा जान्छौँ ।’