साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। आज नेप्से २१.९९ अंकले घटेर दुई हजार ११.१४ बिन्दुमा कायम भएको छ। नेप्से १.०८ प्रतिशतले घटेको हो।
आज दुई सय ६९ कम्पनीका ४४ लाख ५९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार रकममा सामान्य गिरावट आएको हो। यसअघिको कारोबार दिनमा एक अर्ब ५१ करोडबराबरको सेयर कारोबार भएको थियो।
आज नेप्सेका सबै समूह राताम्मे भएको छ। हाइड्रोपावर सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ। त्यसैगरी, होटेल तथा पर्यटन १.८५ प्रतिशत, जीवन बिमा १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन १.६५ प्रतिशतले घटेको छ।
आज एक सय ९० कम्पनीको सेयर मूल्य घट्दा २९ कम्पनीको मूल्य मात्रै बढेको छ। त्यसमध्ये फरवार्ड माइक्रो फाइनान्सको सर्वाधिक ४.५७ प्रतिशतले वृद्धि भएको छ। तर, अपर स्याङ्जे हाइड्रोपावरको ९.०२ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ को मूल्य ८.४५ प्रतिशतले घटेको छ।