नेविसंघ विवाद : तीनजनाले गरे केन्द्रीय समितिमा बस्न अस्वीकार

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद झनै बढेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय सदस्य मनोनीत गरेका तीनजनाले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन्।

देउवाले साउन २२ गते नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यसमध्ये एलिजा ढकाल र मुकेश घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।

‘नेविसंघ लोकतान्त्रिक मूल्य–मान्यतालाई आफ्नो आदर्श मानेर अघि बढिरहेको कुरा सर्वविदितै छ। यद्यपि, केही वर्षयता मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण नेविसंघभित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको कुरा घामजस्तै छर्लंग छ,’ विज्ञप्तिमा भनिएको छ।

केही वर्षयता संगठनमा पार्टी सभापतिले अनुचित हस्तक्षेप गर्दै आएको उनीहरूको भनाइ छ। केन्द्रीय सदस्य चुन्ने क्रममा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको तथा महिला सहभागिता एकदमै न्यून रहेकाले उल्लेख गर्दै विज्ञप्तिमा नेविसंघमा असमानताको अवस्था सिर्जना गरेकोप्रति देउवाको ध्यानाकर्षण गराएका छन्।

यसअघि साउन २७ गते नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनीष डंगोलले पनि केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका थिए। नेविसंघमा एकाधिकारवाद मौलाएकाे र त्यसले संगठनको मूल मर्म, भावना र गरिमालाई कुठाराघात गरेको उनकाे तर्क थियाे।

साउन २५ गते नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई दिएपछि डंगोलले आफूले जिल्ला अध्यक्षमा रहने, तर केन्द्रीय समितिमा नरहने प्रस्ट पारेका थिए।

See More On

सुझावित समाचार