नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका छन्।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै उनले अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरू नष्ट हुँदै जाने बताए। उच्चस्तरीय छानबिन न्यायिक समिति बनाई जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भू-राजनीतिमा समेत असर पर्ने उनको भनाइ थियो।
सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको उनले आरोप लगाए। मन्त्रीहरूले राजीनामा दिनुपर्छ भन्दा तर्साउनका लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताउँदै उनले सिआइबीले नाम किटान गरेकालाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकिलले उनीहरूको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाब र प्रभाव छ भन्ने प्रमाणित भएको दाबी गरे।