संखुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण : ६ दिनपछि आफन्तले शव बुझे

कारागार प्रमुख र सुरक्षा इन्चार्ज पक्राउ

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला कारागार संखुवासभामा कुटपिटबाट मृत्यु भएका दुई कैदीको ६ दिनपछि सोमबार आफन्तले शव बुझेका छन्। कारागार प्रमुख राजेन्द्र घिमिरे र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पक्राउ गरेपछि आफन्तले शव बुझेका हुन्।

उनीहरूले आजै मादी नगरपालिकाको राममन्दिरनजिकैको खोलामा विनोद तोलांगीको अन्त्येष्टी गरेका छन् भने नुवाकोटका आकाश बलामीको खाँदबारी– ९ स्थित मनकामनामा अन्त्येष्टि गरिएको छ। बलामीको शव लैजान खाँदबारी नगरपालिको गाडी र दाउराको व्यवस्थापन गरिदिएको हो।

कारागार प्रमुख घिमिरे र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक चौधरीविरुद्ध शनिबार किटानी जाहेरी दर्ता भएको थियो। चौधरीलाई जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला कारागारभित्र सजाय भुक्तान गरिरहेको दुई कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको कोसी प्रदेशबाट खटिएको एसपी ऋषिराम कँडेल नेतृत्वको अनुसन्धान टोलीले पत्ता लगाएको थियो। तर, प्रहरीले कारागारभित्र रहेको सिसिक्यामेराको फुटेज अनुसन्धानकै चरणमा रहेको भन्दै सार्वजनिक गरेको छैन। प्रहरीले कारागार सुरक्षामा रहेका इन्चार्ज चौधरीसहित १० प्रहरी र पाँच कैदीबन्दीमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ।

कारागारभित्र शंकास्पद मृत्यु भएका घटनाको गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानव अधिकार आयोगको टोली, कोसी प्रदेश प्रहरीको टोली  र संखुवासभा सहायक प्रजिअ मोहनमणि घिमिरे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । उक्त टोलीले घटना भएको १० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।

गत साउन २४ गते बुधबार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका– ७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।

कारागार प्रमुख घिमिरेविरुद्ध किटानी जाहेरीपछि चार कर्मचारी संगठनको विज्ञप्ति
उक्त प्रकरणमा कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी परेपछि संखुवासभाका चार कर्मचारी संगठनले ध्यानाकर्षण भएको जनाएका छन्। घटनाको समयमा कार्यालयमा नरहेका घिमिरेविरुद्ध किटानी जाहेरी दिएको भन्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

घटनामा प्रत्यक्ष संलग्न नरहेको कर्मचारीविरुद्ध किटानी जाहेरी दिँदा वास्तविक दोषी उम्कन सक्ने र निर्दाेष व्यक्ति फस्ने सम्भावना रहने विज्ञप्तिमा उल्लेख छ। यस्तो कार्यले पीडितहरूले समेत वास्तविक कानुनी उपचार नपाउने कर्मचारीहरूको ठहर छ।

सुझावित समाचार