प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य शृंखला सुरु

शनिबार, २७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल प्रज्ञा– प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृंखला प्रारम्भ गरेको छ। यस शृंखलामा मातृभाषा साहित्यबारे  सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ।यस क्रममा  प्रज्ञा(प्रतिष्ठानका  साहित्य (मातृभाषा)  विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा.सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गरे। 

यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू,आरोह अवरोह, अवस्था, पुस्तान्तरण, चलचित्र, गीति साहित्य, पत्रकारिता, लोककथा, लोकउखान, किंवदन्ती, कविता, गीत, नियात्रा आदि विधागत कृतिबारे कार्यपत्रमा उल्लेख गरिएको छ। 

यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सबै जातजाति र समूदायका आ-आफ्नै भाषा छन्। तिनले बोल्ने सबै भाषा मातृभाषा हुन्। भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत छैन। कर्मकाण्डीय रूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो। त्यस परम्पराको साटो  मातृभाषाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले मातृभाषा साहित्य शृंखलाको  सुरु गरिएको हो। यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्नेछ। 

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले भने, 'सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो।यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृंखलाले उत्साह र हौसला थप्नेछ।' 

यसै क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषा भएको देश हो। यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र संवर्द्धन गर्ने दायित्व बहन गरेका छौँ। यसै अनुरूप मातृभाषा साहित्यको नियमित शृंखला सुरु गरेको बताए।  

सुझावित समाचार