६ सयभन्दा बढी घरटहरा डुबानमा, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा पनि पस्यो बाढी
सधैँजसो दुर्गन्ध र फोहोर बोकेर बग्ने उपत्यकाका नदी–खोला मंगलबार एकाबिहानै उर्लिए । दायाँ–बायाँ पर्खाल उठाएर साँघुरा पारिएका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, कर्मनासा, कपनको खहरे खोलालगायत करिडोर सडक नाघ्दै बस्ती पसे । नदी–खोला बस्ती पसेर बितन्डा मच्चाउन थालेपछि एकाबिहानैदेखि नदीआसपासका क्षेत्रमा भागाभाग मच्चियो ।
थापाथलीस्थित बागमती करिडोरमा बस्दै आएकी सुन्तली तामाङ एकाबिहानै टहरोभित्र बाढी पसेपछि के गर्ने, कसो गर्ने भनेर रनभुल्लमा परिन् । लेदोसहितको ढल किचन र सुत्ने कोठामा छिरेपछि सामानसमेत जोगाउन सकिनन् । उनले भनिन्, ‘बाढीले बस्ने–खाने ठाउँ डुबायो, अब बालबच्चा लिएर कहाँ जाऊँ ?’ यस्तै, बाढीका कारण मनोहरा करिडोरस्थित जडीबुटी क्षेत्रमा बसोवास गर्दै आइरहेका सुकुमबासीहरूका टहरा पनि डुबानमा परेका छन् । टहरामा बाढी पसेपछि स्थानीयले प्रहरीलाई गुहारेका थिए ।
प्रहरीले सुकुमबासीलाई कोटेश्वर बहुमुखी क्याम्पसको कक्षाकोठा तथा सुरक्षित ठाउँमा सर्न आग्रह गरेको थियो । तर, वर्षा रोकिएपछि टहराभित्रको पानी फालेर सफा गरेका छन् । बागमती करिडोर र मनोहरा करिडोरमा रहेका सुकुमबासी बस्ती र खोला बस्ने तह बराबर रहेकाले यहाँ डुबानको जोखिम सधँै हुने गर्छ । थापाथली र जडीबुटी क्षेत्रमा मात्रै होइन, बाढीले बागमती, मनोहरा, विष्णुमती, खहरे, हनुमन्तेलगायत नदी करिडोर क्षेत्रका ६ सयभन्दा बढी घरटहरा डुबेका छन् । बाढीले ललितपुरको च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालयसमेत डुबानमा परेको छ ।
बाढी र डुबानका कारण फसेका २४ जनाको प्रहरीले उद्धार गरेको छ । दुई बालबालिका, १३ पुरुष र नौजना महिलाको उद्धार गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
सहरी विकास तथा पूर्वाधारविद् सूर्यराज आचार्यले उपत्यकाका नदी करिडोर क्षेत्रको इन्जिनियरिङ कमजोर भएको बताए । ‘हाम्रा सहरी पूर्वाधारका कमजोरी धेरै छन्, करिडोर क्षेत्रको मापदण्ड नै मिलेको छैन । पुलमुनिका सडक होचा छन्, केही सडक त खोलाभन्दा पनि होचा छन्,’ उनले भने, ‘डुबान पर्नुको कारण यही हो ।’ उनले करिडोर क्षेत्रमा ढल निकास व्यवस्थित गर्नुपर्ने बताए ।
बाढी डुबानपीडित भन्छन्– बिहान भएकाले धन्न ज्यान जोगायाैँ
काठमाडौं मनपा–१०, मदननगरका रवि पाण्डे मंगलबार बिहान ओछ्यानमै पल्टिरहेका थिए । ढलको गन्ध आउन थालेपछि झ्यालको पर्दा खोले । र, बाहिर देखे– उर्लिएको धोबी खोला घरको कम्पाउन्डभित्र छिरिसकेको रहेछ ।
भुइँतलामा बस्ने उनी हुर्रिएर कम्पाउन्डमा निस्के । छिमेकी घरको कम्पाउन्ड हेरे । धोबी खोला कम्पाउन्ड नाघेर कोठाभित्रै छिरिसकेको देखे । अविरल वर्षासँगै उर्लिएको धोबी खोला रोकिने छाँट देखिएन । हेर्दा–हेर्दै दुर्गन्धित खोला उनको कोठाभित्र पस्यो । भएभरका सबै सामग्री डुबे । डुबेका सामग्री नयाँ डेरातर्फ सार्दै गरेको अवस्थामा भेटिएका पाण्डेले भने, ‘बिहान उठिसकेको थिएँ । अचानक ढलको गन्ध आयो । झ्याल खोलेर हेर्दा पो थाहा भयो, धोबी खोला त कम्पाउन्डसम्म आइसकेछ । कोठाभित्र बाढी पस्ने डरले छेकबार लगाएर रोक्न त खोजेँ । तर, सकिएन । हेर्दाहेर्दै कोठाका सबै सामग्री डुबानमा परे ।’
बढीले मदननगर चोकस्थित स्टेसनरी पसल पनि डुबानमा पर्यो । घरका पार्किङ र कम्पाउन्ड बढीले भरिए, आसपासका सडकमा उर्लिएको धोबी खोला बग्यो । सटरमा खुलेका होटेल डुबे । रोकिएको वर्षासँगै धोबी खोलामा पानीको बहाब त रोकियो, तर बढीसँगै बगेर आएको कालो लेदो कोठा र सडकमा असरल्ल बन्यो । मदनगरमै रहेको त्रिताल रेकर्डिङ स्टुडियोका सञ्चालक अनिश योञ्जनले भने, ‘मंगलबार बिहान धोबीखोला बढेर आसपासको घरभित्र छिर्यो । वर्षा रोकियो । धोबी खोलामा पानीको बहाब पनि कम भयो । तर, बढीसँगै बगेर आएको कालो लेदोबाट आउने दुर्गन्ध कम भएको छैन ।’
मंगलबार बागमती नदीको वेग अझ तीव्र बन्यो । बागमतीको भेल करिडोर हुँदै दायाँ–बायाँका बस्तीभित्र छिर्यो । भेलले सबैभन्दा धेरै क्षति किनारसँगै रहेको सुकुमबासी बस्तीलाई पुर्यायो । बाढी सुकुमबासी बस्तीस्थित प्रत्येक टहराभित्र छिर्यो । कोठाका लत्ताकपडादेखि रासनपानीसमेत डुबानमा पर्यो । कोठाभित्र छिरेको बाढी साँझसम्म पनि स्थानीयले हटाइसकेको थिएन । भेल धन्न बिहान आएकाले मानवीय क्षति भएन । सोही भेल राति आइदिएको भए केही भन्न नसकिने कालीमाटीस्थित सुकुमबासी बस्तीका दुर्गा सुनारले सुनाए । उनले भने, ‘बिहानै बागमती उर्लिएर सुकुमबासी बस्तीभित्र छिर्यो । करिडोरको सडकमा बाढी बग्न थाल्यो । हेर्दाहेर्दै कोठा बढीले पुरिए । सामग्री सबै डुबे । बिहान भएर भाग्ने मौका पायौँ । राति भइदिएको भए भन्न सकिन्नथ्यो ।’ बागमतीमा आएको बाढीले अझ धेरै क्षति बल्खुस्थित तरकारी बजारमा पुर्यायो । बिहान भएको हुँदा क्षति अझ कम भएको बजारमा भेटिएका ज्ञानेन्द्र कँडेलले बताए । उनले भने, ‘एकातिर बागमती उर्लिएर आयो, अर्कोतर्फ बलम्बु खोला । बाढीसँगै बगेर आएको ढल र कालो लेदो पनि बजारभित्र पस्यो । बजारका सबै तरकारी डुबानमा परे ।’
कहाँ–कहाँ डुब्यो बस्ती ?
मंगलबारको वर्षाले खोला क्षेत्रका मात्रै होइन, भित्री बस्तीसमेत डुबानमा परेका छन् । गोठाटार, सिनामंगल, जडीबुडी, भक्तपुर सल्लाघारी, कपन मिलनचोक, खहरे बस्ती, विष्णुमती आसपासलगायतका घरहरू डुबानमा परेका छन् । यस्तै, त्रिपुरेश्वर, अनामनगर, चाबहिल, सुन्धारा, बालाजु, सानेपालगायत क्षेत्रमा बस्ती डुबानमा परेका छन् भने केही घरमा भेलसमेत पसेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा रहेको दिव्येश्वरी प्लानिङभित्र पनि बाढी पसेको छ । त्यस क्षेत्रका करिब एक सय परिवार प्रभावित भएका छन् । गुहेश्वर क्षेत्रमा पनि क्षति पुर्याएको छ । विष्णुमती करिडोरआसपासका बस्तीभित्र पनि बढी पसेको छ । बढीले कपन क्षेत्रमा उत्तिकै धेरै क्षति पुर्याएको छ । उर्लिएको कपन खोला सडकमै बग्दा यातायात आवागमन नै अवरुद्ध बन्न पुग्यो । भक्तपुरस्थित हनुमन्ते खोला उर्लिँदा अरनिको राजमार्ग नै केही बेर अवरुद्ध बन्न पुग्यो । खोला राधेराधेस्थित बस्तीभित्र छिर्यो । सोही स्थानमा रहेको भाटभटेनी सुपर मार्केट पनि खोलाका कारण डुबानमा पर्यो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जितेन्द्र बस्नेतले मंगलबारको बाढीले काठमाडौंमा मानवीय क्षति नपुर्याएको बताए । उनले भने, ‘मंगलबारको बढीको सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन । अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन ।’
गत २४ घन्टामा कहाँ कति वर्षा ?
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै (८४ मिलिलिटर) बुढानीलकण्ठमा वर्षा भएको छ । देशभर भएको वर्षाको अनुपात यो औसत मात्रै हो । यद्यपि, काठमाडौंमा यो वर्ष मंगलबार सबैभन्दा बढी वर्षा भएको हो । पछिल्लो २४ घन्टामा नगरकोट ८०.२, कीर्तिपुरमा ४५.६ र सुन्दरीजलमा ७६.६ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार १० मिलिमिटरसम्मलाई हल्का वर्षा मानिन्छ । ५० मिलिमिटरसम्मलाई मध्यम, यसमाथि सयसम्मलाई भारी, १००–२०० सम्मलाई धेरै भारी र दुई सय मिलिमिटरभन्दा माथिलाई अति भारी भनिन्छ । यस हिसाबले काठमाडौंमा परेको वर्षा भारी हो ।
पेप्सीकोलाको खहरे खोला व्यवस्थापन गर्ने निर्णय
कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर ९ र काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को सिमानामा रहेको खहरे खोला संरक्षण गर्ने गरी दुवै नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीच दुईबुँदे निर्णय भएको छ । बस्ती विस्तारसँगै मासिँदै गएको खोला संरक्षण र बर्खाका वेला खोला अवरुद्ध हुँदा बस्ती डुबानमा पर्ने थालेपछि समस्या समाधानका लागि मंगलबार बैठक बसेको हो ।
उक्त बैठकले समस्या समाधानका लागि काठमाडौं महानगर, कागेश्वरी नगरपालिका, नागरिक उड्डयन प्राधिकरण, उपत्यका विकास प्राधिकरणसहित स्थानीयसँग आगामी दिनमा बृहत् छलफल गर्ने निर्णय गरेको छ । यस्तै, खहरे खोलामा सहजै पानी बग्ने अवस्थाका लागि प्राविधिकको सल्लाहमा तत्काल जाम खोल्ने निर्णय भएको छ । यसका लागि दुवै पालिकाका स्थानीयलाई सहयोग गर्न आग्रह पनि गरिएको छ ।
बैठकमा कागेश्वरी महानगरका मेयर उपेन्द्र कार्कीसहित वडा नम्बर ८, ९ का वडाध्यक्ष एवं काठमाडौं महानगरपालिका–३२ का वडाध्यक्ष नवराज पराजुलीको उपस्थिति थियो । यस्तै, दुवै पालिकाका अन्य जनप्रतिनिधि एवं सार्वजनिक संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।
पद्मसुन्दर जोशी, उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता
मंगलबार आएको बाढी ठूलो होइन, ०५० सालमा जस्तो बाढी आएको भए यहाँको कुनै पनि क्षेत्र डुबानबाट जोगिँदैनथ्यो । खोलाको बहाब क्षेत्रमा पूर्वाधार बनाएका छौँ, त्यसैले खोला साँघुरियो । पानीले बाटो खोज्दै बस्ती र सडकमा पसेको हो । यस्तो समस्या समाधान नगरे डुबानको समस्या सधैँ हुन्छ । यस्तै, पुलमुनि अनेक संरचना बनाएर खोला बग्ने ठाउँ छेकेका छौँ । यहाँका पुल पनि होचा छन् । खोलालाई अझ चौडा र पुलको उचाइ बढाएको भए डुबान हुने थिएन । यहाँका नदीलाई स्वतन्त्र बग्न दिने हो भने डुबान हुँदैन ।
मधुकर उपाध्या, जलविद्
काठमाडौंमा मंगलबार भएको वर्षा ठूलो होइन । २४ घन्टामा ८४ मिलिमिटर वर्षा हुनु भनेको सामान्य नै हो । तर, हाम्रा सहरी संरचनाका कारण एकैछिनमा ठूलो बाढी आयो ।
आकाशको पानी बाटो र बस्तीमा पस्यो । पहिले–पहिले खेतबारीले पानी रोक्थे । अचेल खेत छैनन् । सामान्य पानी परे पनि सहर डुब्छ । यसले हामीलाई सहरी बाढीको चरित्र बुझायो ।
काठमाडौं डुब्न धेरै पानी पर्नुपर्दो रहेनछ । अझ ०५० सालमा जस्तो पानी पर्यो भने उपत्यकामा अझै धेरै डुबाउ हुन्छ । त्यतिवेला करिब २०० मिलिमिटर पानी परेको थियो ।