गर्मीमा सहरको सडकको कुनामा उभिएर कंक्रिट, सिसा र स्टिलले बनेका अग्ला भवन हेरेर कल्पना गर्नुहोस् । यदि तापक्रम ३० डिग्री सेल्सियस छ भने पनि तपाईंलाई निकै गर्मी महसुस हुनेछ । यसका पछाडि सहरी ताप टापु प्रभाव (अर्बन हिट आइलेन्ड इफेक्ट) को हात रहेको छ ।
सहरमा स्टिल र कंक्रिटले गर्मी अवशोषित गर्छ र आफूभित्र संग्रहित गर्छ । यसबाट बढ्ने बाह्य तापक्रमले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ विशेषतः वृद्ध र बालबालिकालाई जोखिममा पार्न सक्छ । कतिपय ठाउँमा यसले ज्यानसमेत लिन सक्छ ।
सहरी ताप टापुको प्रभावले अर्थतन्त्रलाई पनि असर गर्छ । बाह्य तापक्रम वृद्धिसँगै वातानुकूलित व्यवस्थाका लागि ऊर्जा प्रयोगमा करिब पाँच प्रतिशत वृद्धि हुन्छ । सन् २०१६ को एक अनुमानअनुसार सन् २०५० मा वातानुकूलनको आवश्यकता र खर्च आश्चर्यजनक रूपमा सात सय ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
औसत तापक्रम वृद्धि दुई डिग्री सेल्सियसनजिक पुग्दा बढ्दो स्वास्थ्य खतरा एवं आर्थिक व्ययका कारण सहरी क्षेत्रलाई थप वातावरणमैत्री बनाउनुपर्ने हुन्छ । महत्वपूर्ण समाधान भनेको हालका भवनलाई पुनः निर्माण र तिनको प्रभावलाई रूपान्तरण गर्नु नै हो ।
हाम्रा सहरलाई थप वातावरणमैत्री बनाउने प्रक्रियामा तीन मुख्य चरण समावेश छन्– पहिलो, भवन निर्माणका क्रममा हुने सञ्चालनात्मक कार्बन उत्सर्जनलाई घटाउने । दोस्रो, भवन निर्माणसँग सम्बन्धित मूर्त कार्बन उत्सर्जन घटाउने र तेस्रो ती स्रोतको उत्पादन गर्न र सहरी वातावरणलाई पुनरुत्थान गर्न सहरको भूमिका बढाउने रहेका छन् ।
सहरमा वातानुकूलन, बिजुली, फोहोर व्यवस्थापन, र यातायातबाट सिर्जित हुने सञ्चालनात्मक कार्बनको न्यूनीकरण गर्नु एक जटिल चुनौती हो । भवनको थर्मल दक्षता बढाउनुबाहेक निर्माण प्रक्रियाको प्रारम्भिक चरणमा कार्बन उत्सर्जनलाई सम्बोधन गर्नेजस्ता थप समाधान खोज्न सकिन्छ ।
विश्व हरित भवन परिषद्को शुद्ध शून्य उत्सर्जनको लक्ष्यले सन् २०५० सम्ममा निर्माण कम्पनीबाट परिचालन र मूर्त कार्बन उत्सर्जन दुवैलाई हटाउने लक्ष्य राखेको छ । निर्माण सामग्री उत्पादन र ढुवानी, निर्माण विधिले भवनको मूर्त कार्बनमा महत्वपूर्ण योगदान पुर्याउँछ । मूर्त कार्बनले विश्वको कार्बन उत्सर्जनको ११ प्रतिशत हिस्सा ओगट्छ ।
सहरले विश्व ऊर्जाको ७५ प्रतिशत हिस्सा प्रयोग गर्छ र ऊ ५० देखि ६० प्रतिशत हरितगृह ग्यास उत्सर्जनका लागि जिम्मेवार छ
मूर्त कार्बन अग्लो भवनमा संरचना र लिफ्टमा प्रयोग हुने स्टिल र सिमेन्टजस्ता सामग्रीबाट उत्सर्जित हुन्छ । स्टिल पुनर्चक्रण गर्दा प्रोत्साहन गर्नेजस्ता सरल उपाय लागू गर्दा यी उत्सर्जनलाई ६० प्रतिशतसम्म कम गर्न सकिन्छ । तर, परिषद्को २०५० को महत्वाकांक्षी लक्ष्य पूरा गर्न धेरै गर्न आवश्यक छ ।
मूर्त उत्सर्जनलाई सम्बोधन गर्न हाम्रा सहरमा रहेका भवनलाई पुनर्निर्माण गर्नु हो । भवन अनुकूलन गर्ने प्रक्रियाले विभिन्न प्रकारका परिमार्जनको माग गर्छ जुन भवनको ऐतिहासिक र सांस्कृतिक मूल्यको सुरक्षादेखि लिएर विभिन्न प्रयोगका लागि यसको उद्देश्य परिवर्तन गर्ने हुन सक्छ । अवधारणागत रूपमा सरल रहेको अनुकूलन प्रयोगले महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ । सन् २०५० मा आवासीय भवन आपूर्तिमा लगभग एकतिहाइ हालका संरचनाबाट गरिने आकलन गरिएको छ जसमा अधिकांश नवनिर्माण हुने आवासीय परियोजना छन् । हालका नीति र हरित भवन मूल्यांकन संयन्त्रले यसलाई थप समर्थन गर्छ ।
सरकारले तत्कालै पहलकदमी लिएर नवप्रवर्तनीय डिजाइन विधिका लागि प्रोत्साहन नगरेसम्म सहरी ऊर्जा खपत ७० प्रतिशतले घटाउने अवसर गुम्नेछ । सिड्नीको क्वे क्वार्टर टावरको नवीकरण हो सफलताको पछिल्लो उदाहरण । नवीकरणमा पुरानो भवनको महत्वपूर्ण हिस्सा अर्थात् मूल संरचनाको लगभग ६५ प्रतिशत र मूल कोरको ९५ प्रतिशत कायम राखिएको थियो । नतिजा १२ हजार टन कार्बन डाइअक्साइड बचत भएको थियो ।
विश्वको आधाभन्दा बढी जनसंख्या सहरमा बसोवास गर्दै आएकाले जलवायु परिवर्तनमा सहरी क्षेत्रले ठूलो भूमिका खेल्छ । सहरले विश्वको ऊर्जाको करिब ७५ प्रतिशत हिस्सा प्रयोग गर्छ र सहर करिब ५० देखि ६० प्रतिशत हरितगृह ग्यास उत्सर्जनका लागि जिम्मेवार छ । यसबाहेक सहर विशेषतः ग्लोबल वार्मिङको प्रभावका लागि संवेदनशील छ, किनभने सहरमा मानिस, धन र पूर्वाधारको उच्च एकाग्रता देख्न सकिन्छ ।
धेरै सहरमा न्यून आय भएका मानिसको बस्ती प्रायः सीमित हरित क्षेत्र, थोरै रूख भएका र धेरै गर्मी अवशोषित गर्ने सघन जनसंख्या भएको इलाकामा छन् । यदि हामीले ‘जलवायु न्याय’को कुरा गर्छौँ भने विभिन्न समुदायप्रति हुने असमान व्यवहार एक निरन्तर चिन्ताको विषय हो । उच्च घनत्व भएको असुविधाजनक क्षेत्रमा बस्ने बासिन्दाले ठूलो मूल्य चुकाउने गर्छन् । यहाँका बासिन्दा प्रायः आपत्कालीन योजना र प्रकोप प्रशिक्षण एवं रोकथामका लागि आवश्यक स्रोतमा न्यून पहुँच पाउँछन् ।
भवन जलवायु परिवर्तनको एक महत्वपूर्ण कारक हुन्, विश्वव्यापी कार्बन उत्सर्जनको ४० प्रतिशतका लागि जिम्मेवार छन् । यिनको डिजाइन र निर्माण विधिमा सुधार गर्नाले ठूलो परिवर्तन हुन सक्छ । यो विशेषतः सहरी क्षेत्रमा महत्वपूर्ण छ जहाँ अग्ला भवनले छोटा भवनको तुलनामा प्रतिएकाइ ठाउँको धेरै ऊर्जा र सामग्री खपत गर्छन् ।
हाम्रो भविष्य सुरक्षित गर्न दिगो परिप्रेक्ष्य र दिगोपनका लागि समर्पण, रचनात्मक समाधान एवं प्रविधिमा लगानी गर्ने तत्परताको आवश्यकता छ । बृहत् अवधारणामार्फत सहरले आफ्नो कार्बन प्रभावलाई धेरै हदसम्म घटाउन सक्छ र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
(ब्राम्बिला र गोचर सिड्नी विश्वविद्यालयमा क्रमशः आर्किटेक्चरकी सहप्राध्यापक र सस्टेनेबल डिजाइनकी वरिष्ठ लेक्चरर हुन्) ३६० इन्फोबाट