हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ सार्वजनिक [भिडियाे]

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन्।

गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन्। तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको उनी बताउँछन्।

‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री-उफ्री नाचिरहेको देखेँ। त्यही वेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो। हत्तपत्त कोठामा गएँ, मोबाइलमा रेकर्ड गरेँ। लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का। तैपनि पछि रेकर्ड गरौँला भनेर बसेको थिएँ।’ सरोज ओलीलाई गीतको शब्द र लय मन परेपछि रेकर्ड गरेको उनले बताए।

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन्। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै गायक तथा निर्देशक सरोज ओली स्वयंले अभिनय गरेका छन्। नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन्।

सुझावित समाचार