निर्माण व्यवसायीको जायज माग सम्बोधन गर्न महासंघको आग्रह

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग महासंघले आग्रह गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्याउने निर्माण क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले समग्र अर्थतन्त्रमा नै समस्या पर्ने महासंघको ठहर छ । 

व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र  अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको भन्दै सरकारलाई संवेदनशील हुनु महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । ‘विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पुँजीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन् । गत वर्ष पुँजीगत खर्च ६१ प्रतिशत भएको थियो, यसले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन,’ विज्ञसप्तिमा उल्लेख छ । 

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको महासंघले ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको छ । राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका छन् ।’ 

सुझावित समाचार