सुनसरीको विभिन्न स्थामा संगठित रूपले शृंखलाबद्ध अपराधमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । कोसी राजमार्गस्थित सुनसरीको तरहरा जंगल क्षेत्रको सेउती पुलनजिक एकजना युवकलाई गोली प्रहार गरेर हत्या गरी लुटपाट गर्ने लेटाङ नगरपालिका– १ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान– १० का ३४ वर्षीय अनसन राईलाई कोसी प्रदेश प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
अपराधमा संलग्न दुवैजनालाई कोसी प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाको नेतृत्वमा खटिएको विशेष अनुसन्धान समूह संघीय प्रहरी कार्यालय धरान, जिप्रका सुनसरी र इलाका प्रहरी धरानबाट खटिएको संयुक्त टोलीले संलग्नहरूलाई १६ साउनमा धरानको पुतलीलाइनबाट पक्राउ गरेको कोसी प्रदेश प्रमुख राजेशनाथ बास्तोलाले बताए ।
प्रहरीका अनुसार ५ साउनमा उनीहरूले सुनसरीको इटहरी नगरपालिका– २० सेउती पुलमा जन्मदिन मनाएर धनकुटाको भेडेडारबाट केटी साथीसँगै मोटरसाइकलमा फर्कँदै गरेका विराटनगर– ५ का २८ वर्षीय युवा रोहित चौधरीलाई गोली प्रहार गरेर धनमाल लुटपाट गरेका थिए ।
घाइते चौधरीको उपचारका क्रममा धरानस्थित बिपी अस्पतालमा मृत्यु भएको थियो । उनीहरूले ८ असार ०८० मा सुनसरी धरान उपमहानगरपालिका– १७ को खैरेनी जंगलमा एकजना महिलामाथि लुटपाट गरेका थिए । यसैगरी २३ असारमा धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका श्रीमान्–श्रीमतीको जोडी र ३१ असारमा धरानबाट कालाबन्जारतर्फ गइरहेका एक व्यक्तिलाई पनि उनीहरूले पेस्तोल देखाएर लुटेका थिए । सुनसरीको जंगल क्षेत्रमा गौँडा ढुकेर उनीहरूले खुकुरी र पेस्तोल देखाएर लुटपाट गर्ने गर्दथे । ५ असारमा हतियार देखाएर लुट्ने क्रममा प्रतिकार गर्दा विराटनगरका चौधरीलाई उनीहरूले गोली प्रहार गरेका थिए ।
प्रहरीको अनुसन्धानअनुसार संगठित शृंखलाबद्ध अपराधमा संलगन दुवै आरोपी लागुऔषध दुर्व्यसनी हुन् । पक्राउ परेका तिमिल्सिना जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअघि र तामाङ लागुऔषध मुद्धामा ६ महिना कैद भुक्तान गरी दुई वर्षअघि छुटेका थिए ।
पक्राउ परेका तिमिल्सिना र तामाङबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, गोली नौ राउन्ड, म्यागजिन दुई थान, कालो झोला पाँच थान, लेडिज ब्याग चार थान, खुकुरी दुई थान, मोबाइल पाँच थान, औँठी एक थान र फायर भएको गोलीको खोका एक थानलगायत बरामद गरिएको जनाइएको छ ।