भारतमा साम्प्रदायिक दंगाको खतरा

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

सोमबार बिहान झिसमिसेमा भारतको व्यापारिक राजधानी मुम्बई गइरहेको रेलमा एक राइफलधारी प्रहरी अधिकारीले आफ्ना वरिष्ठ अधिकारी र तीन निहत्था यात्रीलाई गोली हानी हत्या गरे ।

भारतीय समाचार रिपोर्टअनुसार तीनैजना यात्री मुसलमान पुरुष हुन् । चलिरहेको रेलमा भएको वारदातको मोबाइलबाट खिचिएको भिडियोको आवाज पूर्ण रूपमा स्पष्ट छैन । तथापि भिडियोमा राइफलधारी प्रहरी अधिकारी चेतन सिंहले हिन्दीमा ‘यदि हिन्दुस्तानमा रहन मन छ भने मोदी र योगीलाई मत दिनैपर्छ’ भनेको सुनिन्छ । सिंहले भारतका दुई हिन्दू नेता प्रधानमन्त्री नरेन्द्र मोदी र सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समर्थनमा 
बोलेको देखिन्छ ।   

यो हिंसा त्यही दिन भएको थियो, जब हिन्दू राष्ट्रवादी संगठनले केही मुसलमान बाहुल्य उत्तर भारतीय जिल्लामा मार्चपास गरेका थिए । थुप्रै मुसलमानको हत्या आरोपीले समेत भाग लिन खोजेको ¥यालीले अशान्तिपूर्ण मोड लियो । नतिजा अराजक सडक भिडन्त निम्तियो र अन्ततः अशान्ति दंगामा परिणत भयो । र, दंगा दिल्लीसम्म फैलियो । पसल, गाडी र मस्जिदमा आगो लगाइयो र मस्जिदका कनिष्ठ इमामसहित कमसेकम पाँचजना मारिए । 

यी दुई हिंसाका घटना एक–अर्कासँग नजोडिए पनि यस्ता घटना मोदी नेतृत्वको भारतमा असामान्य होइन । भारतले सेप्टेम्बरमा नयाँदिल्लीमा गर्ने जी२० सम्मेलनको मुखमा यी घटना भइरहेका छन् । मोदीले अहिले सक्रिय रूपमा अर्थतन्त्र–केन्द्रित ‘भारतको विकास कथा’लाई अन्तर्राष्ट्रिय रूपमा फैलाइरहेका छन् । यो प्रयत्नका कारण उनलाई पेरिस र वासिंटनको नेतृत्वले समेत प्रशंसा गरेको छ । यो उपलब्धि वास्तवमा उल्लेखनीय छ किनभने सन् २००५ मा अमेरिकी विदेश मन्त्रालयले मोदीलाई गृहराज्य गुजरातमा नरसंहारपछि ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन’ गरेको भन्दै करिब १० वर्ष भिसा दिएको थिएन । 

मोदी, आदित्यनाथ र मोदीले नेतृत्व गरेको राष्ट्रवादी अभियानले भारतका बहुसंख्यक हिन्दूलाई त्यहाँको सबैभन्दा ठूलो अल्पसंख्यक मुसलमानविरुद्ध भिडाउँछ । आदित्यनाथ ‘शान्ति सुव्यवस्था’को कुरा पनि गर्छन् र ‘मुसलमान उपद्रवी’लाई ‘बिर्यानी होइन, गोली खुवाउँछु’ पनि भन्छन् । मोदी योगीजत्तिको चर्को भाषा बोल्दैनन् । तर, एक चुनावी अभियानमा सलवार कमिज लगाउने मुसलमानलाई लक्षित गर्दै हिंसात्मक उपद्रवीलाई ‘हामी पहिरनबाटै पहिचान गर्न सक्छौँ’ र तिनलाई कारबाही गर्छौं भनेका थिए । वास्तवमा हालका दंगामा सरकार स्पष्ट रूपमा एउटा समुदायको पक्षपोषण गरिरहेको छ ।  

मोदी र आदित्यनाथले नेतृत्व गरेको राष्ट्रवादी अभियानले भारतका बहुसंख्यक हिन्दूलाई त्यहाँको सबैभन्दा ठूलो अल्पसंख्यक मुसलमानविरुद्ध भिडाउँछ 

सोमबार हिन्दू राष्ट्रवादी मार्चपासपछि भड्किएको दंगा साम्य पार्न राष्ट्रिय बल परिचालन गरिएको थियो । यो दंगाको आगो नयाँदिल्लीबाट मात्र एक दर्जन माइल टाढा रहेको क्षेत्रमा पनि फैलियो । प्रतिक्रियामा अधिकारीले दंगा प्रभावित क्षेत्रमा व्यापक इन्टरनेट सटडाउन (बन्द) गरे, विद्यालय बन्द गराए र सार्वजनिक कार्यक्रम रद्द गरे । मंगलबार दिउँसोसम्म अधिकारीले दंगा अन्त्यको घोषणा गरेर २५ देखि ३० जनालाई पक्राउ गरेको बताए । यद्यपि मंगलबार साँझ थप झडप र हिंसाका घटना सतहमा आएका छन् ।

हिंसाको घटना भएको हरियाणाका मुख्यमन्त्रीले ‘कसैले हाम्रो समाजमा विष घोलिदिएको छ’ भनेर एक भारतीय न्युज एजेन्सीलाई बताएका छन् । मुसलमानका कारण हिंसा भएको हो भन्ने आशयसाथ उनले ‘कसैले हिंसाको षड्यन्त्र रचेको’ समेत भनेका छन् । स्थानीय जनप्रतिनिधि चौधरी आफताब अहमद मुख्यमन्त्रीको भनाइमा असहमति जनाउँदै दंगा ‘प्रशासन र प्रहरीको’ असफलताका कारण भएको हो भन्ने बताउँछन् ।

भारतमा व्यापक लोकप्रिय नेता मोदी सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै देशको हिन्दू–राष्ट्रवादी अभियानसँग जोडिएका छन् । सन् २००२ नरसंहारमा गुजरात राज्यमा उनको नेतृत्वदायी भूमिकाका कारण उनको व्यक्तित्वलाई दुवै आलोचक र भक्तले परिभाषित गर्छन् । स्मरण रहोस्, सो दंगामा एक हजारभन्दा बढी मानिस मारिएका थिए र मारिनेमा ठूलो संख्यामा मुसलमान थिए । सन् २०१७ मा मोदीले मुसलमानविरोधी राजनीतिक एवं द्वेषयुक्त अभिव्यक्ति दिने हिन्दू योगी आदित्यनाथलाई करिब चार करोड ५० लाख मुसलमान बसोवास गर्ने उत्तर प्रदेशका नेताका रूपमा खडा गरे ।

 मंगलबार चेतन सिंहले प्रधानमन्त्री मोदीका नाममा तीनजना निहत्था मुसलमान यात्रीलाई हत्या गरेकै राज्यमा प्रधानमन्त्री मोदीले एक हिन्दू समारोहमा भाग लिएका थिए र उनले त्यहाँ हत्याबारे एक शब्द पनि बोलेनन् । सोमबारका दिन भएको हिन्दू राष्ट्रवादी मार्चपासको नेतृत्व विश्व हिन्दू परिषद्ले गरेको थियो र यही परिषद्ले कुनैवेला मध्यकालीन मस्जिदलाई भत्काएर राम मन्दिर निर्माण गर्ने अभियान चलाएको थियो ।

सो राम मन्दिर उद्घाटन मोदीले अर्को वर्ष हुने चुनावी अभियानको अन्त्यभन्दा पहिले गर्ने भनिएको छ । यही सोमबारकै दिन एक भारतीय समाचार एजेन्सीलाई पोडकास्ट अन्तर्वार्ता दिँदै एक अर्को चर्चित मस्जिद भत्काएर हिन्दू मन्दिर निर्माण गर्न मार्ग प्रशस्त गर्नेसमेत बताएका छन् । 

भारतको शासन व्यवस्थालाई नयाँ आकार दिनमा मोदीको प्रभाव कसैबाट छिपेको छैन । उनले हिन्दू पहिचानलाई खुलमखुल्ला स्वीकृति प्रदान गर्दै अन्य धर्मलाई निरुत्साहित र राक्षसीकरण गरेका छन् । यसको झल्को आदित्यनाथको पोडकास्ट अन्तर्वार्ताको क्रममा दिएको टिप्पणीले पुष्टि गर्छ । आदित्यनाथले अन्तर्वार्तामा मुसलमानलाई तारो बनाउँदै ‘यो मुलुक संविधानले चल्ने हो न कि पन्थ वा धर्मले चलाउने हो । पन्थ, धर्म तिम्रा आफ्नै होलान्, तर त्यो तिम्रा मस्जिद र घरमै सीमित होस् न कि सडकमा’ भनेका छन् ।

(ट्रेभेली र कुमार न्युयोर्क टाइम्सका पत्रकार हुन्) न्युयोर्क टाइम्सबाट

सुझावित समाचार