गाईभैँसीमा अहिले देखिएको महामारीजन्य लम्पी स्किन रोगको उद्गम अफ्रिकन देशबाट भएको हो । नेपालमा ०५५ सालआसपासमा कैलाली जिल्लामा यो रोग पहिलोपटक बाख्रामा देखिएको थियो । त्यतिखेर सानो स्केलमा देखिएको हुँदा सजिलै नियन्त्रण गरियो । र, तत्कालै दोहोर्याएर यो रोग कतै देखिएन । तर, ०७७ असारमा यो रोग मोरङको सुन्दरहरैँचा नगरपालिकाका पशुचौपायामा दोहोर्याएर देखिएको थियो । लगत्तै मधेस प्रदेशको रौतहटमा पनि फाट्टफुट्ट देखिएको थियो । ०७७ मा भने यो रोगले पशुचौपायामा खासै धेरै संक्रमण गरेन । त्यतिवेला भ्याक्सिनसमेत उपलब्ध नभएको अवस्थामा सरकारीस्तरबाट रोग लागेका गाईभैँसीलाई पौष्टिक आहार खुवाउने र एन्टिबायोटिकलगायत अन्य औषधि गरेर निको पारी नियन्त्रणमा आएको थियो । गत वर्षको चैतबाट भने गाईभैँसीमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिन थालेको छ ।
०७७ मा यो रोग देखा परेपछि सरकारीस्तरमा सतर्कता अपनाउन सुरु हुनुपर्ने थियो । हामीकहाँ यस किसिमको भ्याक्सिन उत्पादन हुने अवस्था छैन । अर्कातिर, भ्याक्सिन आयातमा समेत खासै चासो दिएनौँ । जुनसुकै रोग नियन्त्रण गर्न चाहने हो भने ६० देखि ८० प्रतिशतसम्म भ्याक्सिन प्रयोग गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा हुँदाहुँदै पनि यो पक्षमा कमजोरी हुन पुगेको छ । जसकारण तीन वर्षअघि तराईबाट सुरु भएको लम्पी स्किन अहिले हिमाल, पहाड, तराई सबैतिर ७७ वटै जिल्लामा फैलिइसकेको छ ।
प्रायजसो सबै किसानको गोठमा रहेका पशुचौपायामा यो रोगले संक्रमण गर्न थालिसकेको अवस्था छ । सुरुका दिनमा हाम्रा स्थानीय गाईमा मात्रै देखिएको यो रोग अहिले भैँसीमा समेत सरिसकेको छ भने होलस्टेन र जर्सी गाई हुँदै उच्च पहाडी क्षेत्रमा रहने चौँरीमा समेत संक्रमण फैलिइसकेको छ ।
सरकारी तथ्यांकअनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी लम्पी स्किन रोगको संक्रमण फैलिइसकेको छ । त्यस क्षेत्रमा यो रोग धेरै फैलिनुको प्रमुख कारण भनेको गोठको सरसफाइमा हुने कमी र पशुलाई पर्याप्त पौष्टिक आहार खुवाउन नसक्नु हो । अहारा, दाना नपुगेका पशुचौपायमा रोगको संक्रमण बढी हुने गर्छ । मधेस प्रदेशमा भने तुलनात्मक रूपमा यो रोगको कम संक्रमण देखिन्छ । खासमा पानी नपरेकाले मधेसमा लम्पी स्किनको संक्रमण कम देखिएको हो । हाम्रो मौसमी प्रणालीअनुसार आउँदा दिनमा मज्जाले वर्षा हुने देखिन्छ । र, पानी धेरै र नियमित रूपमा पर्न थालेपछि मधेस प्रदेशमा लम्पी स्किन रोगका कारण संक्रमण हुने गाईभैँसीको संख्या बढ्ने देखिन्छ, किनभने पानी पर्न थालेपछि गोठको सरसफाइमा कमी हुने र पशुचौपायाले आहारा, दाना पर्याप्त मात्रामा खान नपाउने हुँदा रोग फैलिने जोखिम रहन्छ ।
अहिले देशभर एक करोड २५ लाखको संख्यामा पशुचौपाया छन् । यीमध्ये मुख्य रूपमा गाईभैँसीलाई यो रोगबाट बचाउन जरुरी छ । र, भ्याक्सिन नै रोग नियन्त्रणको प्रमुख आधार हो ।
चैतयता यो रोग नेपालमा व्यापक फैलिएको छ । साथै, यसले अनुमान गरेभन्दा ठूलो क्षति गरेको छ । यो रोग लागेका पशुचौपायालाई टोक्ने झिंगा, लामखुट्टे, भुसुना, किर्नालगायतले अर्को स्वस्थ पशुलाई टोक्दा फैलिने गरेको छ । यो वर्ष तापक्रम उच्च हुँदा र मनसुन ढिला हुँदा लम्पी स्किन झन् तीव्रतर रूपमा फैलिएको छ । बढी तापक्रम हुँदा पशुचौपायालाई बाहिर निकाल्नुको सट्टा गोठमै राखियो र त्यहाँ तुलनात्मक रूपमा फोहोर बढी हुने र किर्ना, भुसुनाहरू पनि एक पशुबाट अर्को पशुमा छिटो संसर्ग भई रोग फैलिन्छ । त्यस्तै, पहाडी र उच्च पहाडी क्षेत्रमा सामूहिक चरनको अभ्यास बढी छ । यसरी धेरै पशुचौपाया एकै ठाउँमा लामो समयसम्म भेला हुँदा पनि रोग फैलिएको हो ।
महामारी बनेको लम्पी स्किनलाई सरकार, निजी क्षेत्र र सरोकारावाला पक्ष सबै मिलेर नियन्त्रणका लागि पहल गर्नुपर्ने थियो, तर अहिलेसम्म नियन्त्रणका लागि कतैबाट ठोस पहल भएको देखिँदैन । यो रोगले मूलतः दुधालु गाई, भैँसीलाई संक्रमित बनाउँछ । रोग लागेपछि धेरै गाईभैँसीको उपचार अभावमा मृत्यु हुने गरेको छ । अहिले हाम्रो देशमा पनि मृत्यु हुने गाई, भैँसीको संख्या बढिरहेको छ । अर्कातिर रोग लागेर निको भइहाले पनि दीर्घकालसम्म यो रोगको असर देखिन्छ । फलस्वरूप दूध कम दिने, गर्भ नरहने, गर्भ बसिहालेको खण्डमा बारम्बार तुहिने समस्या हुन्छ । ब्याउने गाई, भैँसीलाई रोगको संक्रमण भएको छ भने पनि तुहिने सम्भावना उच्च हुन्छ । अहिलेको साउन, भदौ भनेको भैँसी ब्याउने समय हो । यही वेला लम्पी स्किनको संक्रमण उच्च हुँदा किसानले ठूलो नोक्सानी बेहोर्ने हुन् कि भन्ने चिन्ता छ ।
अहिले देशभर एक करोड २५ लाखको संख्यामा पशुचौपाया छन् । यीमध्ये मुख्य रूपमा गाईभैँसीलाई यो रोगबाट बचाउनु जरुरी छ । र, भ्याक्सिन नै रोग नियन्त्रणको प्रमुख आधार हो । तर, अहिलेसम्मको तथ्यांक हेर्दा पर्याप्त मात्रामा भ्याक्सिन आएको देखिँदैन । पछिल्लो जानकारीअनुसार १० लाख भ्याक्सिन आएको छ । यो भ्याक्सिनलाई अधिकतम उपयोग गर्न चाहने हो भने रोग लागिसकेका गाईभैँसीलाई अहिले भ्याक्सिन नलगाऔँ । किनभने, लम्पी स्किनबाट संक्रमित भएकालाई अब भ्याक्सिनले पनि निको पार्न सकिँदैन । बरु पर्याप्त मात्रामा पौष्टिक आहारा खुवाउने र ज्वरो आएको भए सोहीअनुसारको उपचार विधि अवलम्बन गर्नुपर्छ ।
संक्रमितको जोखिममा रहेका गाईभैँसीलाई भने उच्च प्राथमिकता दिएर भ्याक्सिन लगाउनुपर्छ । यद्यपि, अहिले आयात भएको थोरै भ्याक्सिन लगाउन पनि जनशक्तिको अभाव देखिन्छ । अहिलेको अभ्यास हेर्दा त सय दिनसम्म पनि सबै भ्याक्सिन लगाएर सकिँदैन भन्ने लाग्छ । जब कि आउँदो सय दिनमा यो रोगले कति ठूलो रूप लिइसक्ला भन्ने चिन्ता छ । त्यसैले किसानका गोठगोठमा पुगेर गाई, भैँसीलाई ‘म्यासिभ’ रूपमा भ्याक्सिन लगाउनका लागि एउटा अभियान नै चलाउनुपर्छ ।
नत्र यसले थप क्षति पुर्याउने निश्चित छ । यसका लागि विभिन्न विश्वविद्यालय र कलेजमा अध्ययन र अध्यापन गरिरहेका पशु प्राविधिक, केन्द्रीय तहमा रहेका कर्मचारी, निजी क्षेत्रमा क्रियाशील भेटेनरी डाक्टर र अवकाश पाइसकेका विज्ञ तथा प्राविधिकलाई समेत अभियानमा जोडिन आह्वान गरी भ्याक्सिन लगाउन खटाउनुपर्छ । यसो गर्दा छोटो समयमै धेरै गाई, भैँसीमा भ्याक्सिन लगाई रोग नियन्त्रण गर्न सहयोग मिल्छ । अहिलेको आवश्यकता कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी जिल्लामा बढी संक्रमण फैलिएकाले सो क्षेत्रमा भ्याक्सिनलाई बढीभन्दा बढी प्रयोग गर्नुपर्ने हुन्छ ।
खासगरी लम्पी स्किनबाट साना किसान धेरै नै पीडित भएको देखिन्छ । उनीहरूले जीविकोपार्जनका लागि घरमा दुईवटा गाई वा भैँसी पालेका हुन्छन् । रोगले दुवै गाई, भैँसी मरे भने यस्ता किसानलाई अपूरणीय क्षति हुन्छ । त्यसैले सरकारले किसान हितलाई प्राथमिकता दिई संक्रामक रोग नियन्त्रणसम्बन्धी कार्यविधि वा निर्देशिका मन्त्रिपरिषद्बाटै जारी गरी राहतको व्यवस्था गर्नुपर्छ । बर्डफ्लूपीडित किसानलाई समेटेकै मोडेलमा राहत वितरण गर्न सकिन्छ । मन्त्रिपरिषद्ले यससम्बन्धी व्यवस्था गर्न ढिला गर्नुहुँदैन । साथै, सबै पक्ष रोग नियन्त्रणका लागि खटिनुपर्छ । पशु प्राविधिकहरूको मात्रै जिम्मेवारी हो भनेजसरी हेरिनुहुँदैन । किनभने, बर्डफ्लू नियन्त्रण गर्दा प्रहरी र सेनासमेत खटेको अवस्था थियो ।
यो रोग नियन्त्रण गर्न सरकारी वा अन्य क्षेत्रमा उचित मात्रामा ठोस पहल केही भएको देखिँदैन । सरकारले राहत नै दिन आवश्यक ठानेको खण्डमा गाई मरेका किसानलाई बाच्छी र भैँसी मरेका किसानलाई पाडी दिन सकिन्छ । बिरामी गाई, भैँसीको हेरचाह गर्न सम्बन्धित किसानलाई पौष्टिक आहार, साइलेज र औषधि वितरण गर्न सकिन्छ ।
लम्पी स्किनले ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको विभिन्न रिपोर्ट आएका छन् । यो भनेको कृषिको कुनै एउटा क्षेत्रमा अहिलेसम्म भएको सबैभन्दा ठूलो क्षति हो । अझ, सबैभन्दा चिन्ताको विषय के हो भने यो रोगबाट साना किसान सबैभन्दा बढी पीडित भएका छन् । साना किसानलाई माथि उठाएर कृषिको विकास गर्ने सरकारको लक्ष्य भएका वेला सोही वर्ग पीडित बन्दा सरकारले उचित कदम चाल्न नसक्नु विडम्बना हुन पुगेको छ ।
सुदूरपश्चिम, कर्णालीजस्ता कृषिको व्यवसायीकरण नै नभएको ठाउँका किसानले पालेका गाई, भैँसी यो रोगबाट बढी पीडित भएका छन् । त्यहाँका किसानले आफ्नो परिवारलाई खान र दूध बेचेर आम्दानी गरी घर चलाउन गाई, भैँसी पालेका हुन्छन् । तिनै गाई, भैँसीमा रोगको संक्रमण फैलिँदा सरकारले मलम लगाउन सक्नुपर्छ । अहिले सरकारीस्तरबाट यसलाई चासो नदिनुको कारण यो सहरबजारको रोग नभएर हो । यो गाउँघर र दूरदराजको रोग हो । जसकारण पीडित किसानको हल्ला र पीडा बाहिर आउन पाएकै छैन ।
(निर्मल पशु सेवा विभागका पूर्वमहानिर्देशक हुन्)