ललितपुर महानगरपालिकाले राष्ट्रिय महिला लिगको पारिश्रमिक नदिएको भन्दै महिला फुटबल खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)मा उजुरी दिएकी छिन् । राष्ट्रिय फुटबल टोलीकी सदस्य सिर्जनासिंह ठकुरीले राष्ट्रिय महिला लिग र उपमेयर कप खेलेको पारिश्रमिक नपाएको भन्दै सोमबार एन्फामा निवेदन दिएकी हुन् । एन्फा महासचिव किरण राई र महिला संघकी अध्यक्ष पेमा लामालाई उनले पत्र लेख्दै बाँकी रहेको ४५ हजार रुपैयाँ क्लबसँग सहकार्य गरेर उपलब्ध गराइदिन अनुरोध गरेकी छिन् ।
‘क्लबले पारिश्रमिक दिन्छ भनी प्रतीक्षा गरेकी थिएँ, पदाधिकारीले समयमा फोन नउठाउने र बेवास्ता गर्न थालेका छन्, बाध्य भएर एन्फामा उजुरी हालेकी हुँ,’ नयाँ पत्रिकासँग सिर्जनाले भनिन् । सिर्जनाले ०७८ साल कात्तिक ४ देखि २७ सम्म भएको उपमेयर कप र १० देखि ३० चैतसम्म चितवन शारदानगरमा भएको राष्ट्रिय महिला लिगको पहिलो चरणमा ललितपुरको प्रतिनिधित्व गरेकी थिइन् । दुवै प्रतियोगितामा सहभागी हुँदा सृजनाले एक लाख १५ हजार रुपैयाँ पाउनुपर्ने थियो ।तर, क्लबले अहिलेसम्म ७० हजार रुपैयाँ दिएको छ । क्लबले ४५ हजार दिन बाँकी रहेको उजुरीपत्रमा उल्लेख छ ।
प्रत्येक खेलको १० हजार पारिश्रमिक
ललितपुर उपमेयर कपमा उपविजेता हुँदै राष्ट्रिय लिगका लागि छनोट भएको थियो । उपमेयर कपका लागि २५ हजारमा अनुबन्ध भएको सिर्जनाले बताइन् । प्रतियोगितामा उत्कृष्ट रक्षक घोषित भएपछि उनले २० हजार पाइन् । यसैगरी, राष्ट्रिय खेलमा सात खेल खेल्दा प्रत्येक खेलबाट उनले १० हजारका दरले ७० हजार पाउनुपर्ने थियो । तर, हालसम्म पूर्ण रकम नपाएको उनको दाबी छ । राष्ट्रिय महिला लिगमा ललितपुर सात खेलमा एक जित, एक बराबर र पाँच हारसहित छैटौँ स्थानमा रह्यो ।