प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन्। 

छलफलमा कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक प्रक्रियामा लैजान ढिलाइ भएकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन प्रमुख सचेतकसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीले चासो राखेका थिए। 

यस्तै, प्रमुख सचेतक परियारले संसदीय समितिको सभापति चयनमा विलम्ब हुँदा प्रभावकारी काम गर्न कठिनाइ भएका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

छलफलमा संसदमा जारी अवरोध हटाउने विषयमा समेत सो अवसरमा छलफल भएको थियो । यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। 

सुझावित समाचार