भ्रष्टाचारका अरू फाइल खुल्छन् : प्रधानमन्त्री प्रचण्ड

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अरू फाइल पनि खुल्दै जाने बताएका छन् । भ्रष्टाचारविरोधी लडाइँ सुरु गरेपछि सत्तारूढ गठबन्धनमा फाटो ल्याउने प्रयास भएको र समाजवादी मोर्चाभित्र पनि भ्रम र आशंका पैदा गराउने खेल भइरहेको उनले बताएका छन् । यद्यपि, त्यस्ता षड्यन्त्रलाई परास्त गर्दै अगाडि बढ्नेमा दृढ रहेको उनको भनाइ छ । 

समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले राजधानीमा आइतबार गरेको कार्यक्रममा प्रचण्डले ग्राउन्डमा समर्थन प्राप्त नभई एक्लै प्रधानमन्त्री वा सरकारले जित्न नसक्ने बताए । ‘भ्रष्टाचार र तस्करीविरुद्ध जेहाद छेडिएकै छ । यो कदम यहीँ रोकिनेवाला छैन,’ उनले भने, ‘नेपाल राष्ट्रको एकताका निम्ति, समाजवादको आधार निर्माणका निम्ति, सामाजिक न्यायका निम्ति, समृद्धि र विकासका निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्छ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन ।’

वामपन्थी एकता आवश्यक : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । समाजवादी मोर्चा घोषणापछि तल्लो तहसम्म सकारात्मक सन्देश गएको उनले बताए । ‘मोर्चामा सकेसम्म धेरैलाई समेट्न चाहन्छौँ । अरूले पनि चाहना राख्नुपर्छ । चाहना राखेनन् भने हामी घिसारेर ल्याउन सक्दैनौँ । हामी सबैलाई मोर्चामा आउन आह्वान गर्छौं । आउनुस्, नेपाल राष्ट्रका लागि, जनताको हितका लागि मिलेर काम गरौँ,’ उनले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भाषणले मात्रै समाजवाद नआउने बताए । उनले भने, ‘मिठामिठा भाषण गरेर मात्रै समाजवाद आउँदैन । सोहीअनुसारको कार्यक्रम र व्यवहार चाहिन्छ । अहिलेको विकृत पुँजीवादलाई अन्त्य गरेर समाजवादमा जानुको विकल्प छैन ।’ जसपा संघीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री अशोक राईले व्यावहारिक शिक्षा ऐन बनाइएको दाबी गरे । शिक्षण पेसालाई सम्मानजनक र गुणात्मक बनाउने गरी शिक्षा ऐनको तयारी गरेको उनको भनाइ छ । नेकपाकी नेतृ उमा भुजेलले समाजवादमा पुग्न चिन्तन र व्यवहारमा परिवर्तनको आवश्यकता औँल्याइन् ।

See More On

सुझावित समाचार