भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीलाई सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयले माग्यो निवेदन

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

भौगोलिक क्षेत्रको अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निवेदन मागेको छ। 

मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिनसमेत आह्वान गरेको छ।

निश्चित भौगोलिक क्षेत्रमा लामो समय कार्यरत कर्मचारीलाई अर्को भौगोलिक क्षेत्रमा सरुवा गर्ने उद्देश्यले मन्त्रालयले कर्मचारीहरूबाट निवेदन मागेको हो। 

केही दिनअघि मन्त्रालयद्वारा गठित सरुवा व्यवस्थापन कार्यदलले तीन वर्ष अवधि पूरा भएका कर्मचारीलाई सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो। 

निजामती सेवा ऐनको व्यवस्थालाई टेकेर मन्त्रालयले कर्मचारीहरूबाट सरुवाको निवेदन मागेको हो। निजामती सेवा ऐनको व्यवस्थाबमोजिम अवधि पुगेका र नियमावलीले तोकेको ‘क’ देखि ‘घ’ वर्गको भौगोलिक क्षेत्रमा कार्यरत कर्मचारीलाई एक क्षेत्रबाट अर्कोमा सरुवा गर्ने गरी मन्त्रालयले सूचना जारी गरेको हो। 

कर्मचारी सूचना प्रणाली (पिआइएस) अद्यावधिक गरी नौ दिनभित्र मन्त्रालयले तोकेको ढाँचाबमोजिम निवेदन दिन सूचनामा भनिएको छ। त्यसको ढाँचा पनि मन्त्रालयले दिएको छ। 

यो घोषणाले घर अपायक र भौगोलिक क्षेत्रका कारण अप्ठ्यारो भएकालाई सहज बनाउनेछ। 

ऐनमा ‘क’ र ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘घ’ वा ‘ग’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि र ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘ख’ वा ‘क’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि सरुवा गर्न सकिने व्यवस्था छ। 

यसैबमोजिम सरुवाका लागि मन्त्रालयले इच्छुकहरूबाट सूचना आह्वान गरेको हो। 
यस्तो छ ऐनको व्यवस्था 
निजामती सेवा ऐन २०४९ को दफा १८ मा निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउनका लागि सरुवा गर्ने व्यवस्था छ। 

उक्त दफाको उपदफा ३ मा विशेषज्ञताको सेवा लिनुपर्ने पदमा रहेको र स्थानीयस्तरमा अन्यत्र कतै पनि निजको सेवा, समूह वा उप–समूहसम्बन्धी पद तथा कार्यालय नभएको निजामती कर्मचारी र विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया वर्षमा एकपटक तोकिएबमोजिमको समय तालिकाअनुसार सरुवा पत्रमा अवधि तोकी सरुवा गर्नुपर्ने व्यवस्था छ। 

त्यसमा ‘क’ र ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘घ’ वा ‘ग’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि र ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘ख’ वा ‘क’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि सरुवा गर्न सकिने व्यवस्था छ । 

निजामती सेवा नियमावली, २०५० अनुसार यस्तो छ भौगोलिक क्षेत्रको विभाजन 

‘क’ वर्गको भूगोल 
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखाको लामाबगर र रोल्वालिङ क्षेत्र, धादिङको सेतीवास उत्तरको सिंहार क्षेत्र, मनाङ, गोरखाको सैर्दिवास उत्तरको लार्के क्षेत्र, साबिकको धवलागिरि अञ्चलको टुकुचेभन्दा दक्षिणी क्षेत्रबाहेकको मुस्ताङ र उत्तरी बाग्लुङको ढोरपाटन क्षेत्र, रोल्पा, रुकुम, हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला। 

‘ख’ वर्गको भूगोल 
 पाँचथर, भोजपुर, तेह्रथुम, संखुवासभाको नुमसहित दक्षिणी क्षेत्र, ओखलढुंगा, खोटाङ, दोलखाको लामाबगर र रोल्वालिङ क्षेत्रबाहेक बाँकी क्षेत्र, रामेछाप, रसुवाको राम्चेभन्दा उत्तरको क्षेत्र, लमजुङको खुदी उत्तरी क्षेत्र, अर्घाखाँची र गुल्मी, म्यग्दी, पर्वत, मुस्ताङको टुकुचेभन्दा दक्षिणी क्षेत्र, उत्तरी बाग्लुङको ढोरपाटन क्षेत्र, म्याग्दीको निस्कोट पहाडबाट दक्षिणतर्फ बाग्लुङ जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुँदै गुल्मी जिल्ला उत्तरदक्षिण अक्षांश रेखाको पूर्वी भागबाहेकको बाग्लुङ, सल्यान, प्युठान, डोटी, अछाम, डडेलधुरा, बैतडी र दैलेख। 
 
‘ग’ वर्गको भूगोल 
इलाम, धनकुटा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र सेतीवास उत्तरको सिंहार क्षेत्रबाहेक बाँकी धादिङ जिल्ला, रसुवाको राम्चेसहित दक्षिण क्षेत्र, तनहुँ, स्याङ्जा, सेर्दिवास उत्तरको लार्केक्षेत्रबाहेक बाँकी गोरखा र लमजुङको खुदी उत्तरी क्षेत्रबाहेकको बाँकी भाग, पाल्पा, म्याग्दीको निरकोट पहाडबाट दक्षिणतर्फ बाग्लुङ जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुँदै गुल्मी जिल्लालाई छुने उत्तर- दक्षिण अक्षांश रेखादेखि पूर्व पर्ने बाग्लुङ जिल्लाको बाँकी भाग, दाङ, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर। 

‘घ’ वर्गको भूगोल
झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, कास्की, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, काठमाडौं, भक्तपुर र ललितपुर।

सुझावित समाचार