अन्नपूर्ण पदमार्गमा एक वर्षमा २० हजार पर्यटक

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा  आव ०७९/८० मा २० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार आव ०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक गरी २० हजार दुई सय ६७ जनाले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुमेका छन् । 

पदमार्गमा १२ हजार सात सय ७९ पुरुष र सात हजार चार सय ८५ महिला र अन्य तीनजना पर्यटकले मनाङ घुमेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए । आव ०७८/७९ मा ६ हजार नौ सय ९० जना पर्यटक मनाङ भित्रिएका थिए भने ०७७/७८ मा कोरोनाका कारण ६ सय तीनजना  पर्यटक मात्र मनाङ पुगेका थिए ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ ।पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

सुझावित समाचार