तीन वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्दै छन् । लाखौँ समर्थकले यी तीनवटै राष्ट्रमा फुटबल हेर्ने सोच बनाएका छन् । क्यानडा र मेक्सिकोले सहज रूपमा भिसा दिनेछन् । सन् २०२६ को विश्वकप मुख्य आयोजक राष्ट्र अमेरिकाले भने समर्थकलाई सहज रूपमा भिसा दिने रणनीति बनाएको छैन । फुटबल हेर्ने बहानामा लाखौँ समर्थकले अमेरिकामा अराजकता मच्चाउने र त्यतै लुक्न सक्ने सम्भावना देखाउँदै अमेरिकाले विश्वकपमा भिसा अराजकता रोक्न टास्क फोर्स स्थापना गर्ने भएको छ ।
ह्वाइट हाउसले विश्वकपमा धेरै अजराजकता फैलन सक्ने डर देखाउँदै यसलाई रोक्न टास्क फोर्स गठन गर्ने योजना बनाएको बेलायती एजेन्सीहरूले जनाएका छन् । यस किसिमको रणनीतिले खेलाडी, सहयोगी स्टाफ र लाखौँ प्रशंसक प्रभावित हुन सक्नेछन् । अमेरिकाले अहिलेदेखि नै भिसा प्रक्रियामा कडाइ गर्ने भएको छ ।
ह्वाइट हाउसले विश्वकप अवधिमा अमेरिकामा फुटबल हेर्न आउने समर्थकको व्यक्तिगत ‘हिस्ट्री’ हेरिने बताएको छ । आपराधिक गतिविधिमा संलग्न नभएको र कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएका व्यक्तिलाई भिसा प्रदान गरिनेछ । टास्क फोर्स गठनले विश्वकपमा सोचेजस्तो समर्थक पुग्न नसकिने चिन्ता फिफाका अधिकारीहरूले गरेका छन् । यद्यपि, फिफाका अधिकारीले ह्वाइट हाउसमा भिसा सहजीकरण गर्न छलफल जारी नै राखेका छन् ।
आपराधिक गतिविधि रोक्ने उपाय
एक महिनासम्म चल्ने फुटबल प्रतियोगितामा अमेरिकामा आपराधिक गतिविधि मौलाउने दाबी अमेरिकाको छ । यस वेला सबैको ध्यान विश्वकपमै रहँदा आपराधिक गतिविधिमा संलग्न समूह सक्रिय हुन सक्ने ह्वाइट हाउसको भनाइ छ । ‘त्यहाँ आपराधिक रेकर्ड भएकासँग समस्याको सम्भावना छ, जसले अमेरिकालाई नै समस्याग्रस्त बनाउन सक्छ,’ ह्वाइट हाउसले भनेको छ, ‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न चाहनेले विश्वकपलाई अवसरको रूपमा प्रयोग गर्न सक्ने डर छ ।’ प्रतियोगिताको अवधिमा एक विशेषज्ञ भिसाको सम्भावना छ । तर, अमेरिकाले यसको मापदण्ड भने छुट्याएको छैन । यसका लागि अमेरिकाले एक फरक कानुन बनाउनुपर्छ । विश्वकपका सह–आयोजक राष्ट्रद्वय क्यानडा र मेक्सिकोले पहिलेकै प्रणालीमा भिसा दिनेछन् ।
सन् २०२६ को विश्वकप फुटबल हेर्ने बहानामा लाखौँ समर्थकले अराजकता मच्चाउने र त्यहीँ लुक्न सक्ने सम्भावना देखाउँदै आयोजक अमेरिकाले भिसा प्रदान गर्न टास्क फोर्स स्थापना गर्ने भएको छ
४८ राष्ट्रको सहभागिता
तीन वर्षपछि हुने विश्वकपमा ४८ टोलीले भाग लिनेछन् । यसअघिका विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । गत मंसिर–पुसमा कतारमा सम्पन्न भएको विश्वकपमा ६४ खेल भएका थिए । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा १०४ खेल हुनेछन् । धेरै खेल र रहभागी राष्ट्रसमेत बढ्दा अमेरिकालाई टाउको दुखाइ बनेको बेलायती एजेन्सीको भनाइ छ ।
खेलाडी र अफिसियलको हकमा त्यति समस्या नआउन सक्छ । उनीहरूको भिसा प्रक्रियामा फिफाले सबै कागज मिलाउनेछ । तर, सहभागी राष्ट्रका समर्थकको हकमा सबै काम उनीहरूले गर्नुपर्छ । यस्तो अवस्थामा समर्थकको भिसा रद्द पनि हुन सक्छ । ‘धेरै अवस्थामा दूतावासहरूमा अन्तर्वार्ता आवश्यक हुन्छ र मागलाई सम्बोधन गर्न अतिरिक्त कर्मचारी व्यवस्था गर्नुपर्ने हुन सक्छ,’ ह्वाइट हाउसले भनेको छ, ‘यदि सहभागी राष्ट्रका समर्थकलाई अमेरिका प्रवेश गर्न अनुमति छैन भने विशेष व्यवस्था गर्नुपर्नेछ,’ फिफाले भनेको छ ।