नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ।

कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटीबढी गरेका व्यापारीलाई कारबाही गरेको हो। 

पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको  कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए। 

कार्यालयले आव ०७९/८० मा तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ। 

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रूपमा बजार अनुगमन गरेको थियो। आव ०७९/८० मा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने–तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार आठ सय ३७ ट्याक्सीको मिटर जाँच गरेको छ।

कार्यालयले आव ०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो।

आव ०७८/७९ मा ६ हजार ६ सय २६ ट्याक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए। कार्यालयले रु. एक करोड ८५ लाख ५४ हजार राजस्व संकलन गरेको थियो।

कार्यालयले आव ०७९/८० मा रु. दुई करोड नौ लाख राजस्व संकलन गरेको छ । कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा  गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ। 
 

सुझावित समाचार