भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले एमबिए पूरा गरेका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजका लागि एमबिएमा दीक्षित आठौँ ब्याच २०२० मा भर्ना भएर अध्ययन पूरा गरेका ४४ जना विद्यार्थीका लागि कलेजले दीक्षान्त समारोहको आयोजना गरेको थियो ।
४४ जनामध्ये ३४ जना विद्यार्थी शुक्रबार सहभागी थिए । बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार हालसम्म कलेजले एमबिएतर्फ एक सय ८५ विद्यार्थी दीक्षित गरिसकेको छ । पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, नबिल बैंक लिमिटेडका डेपुटी सिइओ मनोज ज्ञवाली, बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दलगायतले दीक्षित गरेका थिए ।
दीक्षित विद्यार्थीले व्यावहारिक र समयअनुसारको शिक्षा आफूहरूले कलेजबाट पाएको बताएका थिए । दीक्षितमध्येका एक राजदीप ओझाले भविष्यमा सहज हुने गरेर बोस्टन कलेजले विद्यार्थीको भावना र आजको आवश्यककताअनुसारको शिक्षा दिएको बताए । अतिथि वक्ताहरूले एमबिएतर्फ धेरै सम्भावना भएको भन्दै स्वदेश र विदेशमा विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने बताएका थिए । विद्यार्थीसँगै उनीहरूका आफन्त र अभिभावक पनि समारोहमा सहभागी थिए । पढाइको सफलतालाई विद्यार्थी र अभिभावकले नेपाली संस्कृति पञ्चेबाजासँगै खुसी साट्दै थिए ।
चितवनकै पुरानो कलेजमध्येको बोस्टन कलेजले एमबिएसँगै बिबिए, बिबिए–बिआई, बिसिआइएस कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरेको छ ।