नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा पाएको अवसरलाई चुनौतीका रूपमा स्वीकार गर्ने बताएकी छिन् । नेपाली महिला फुटबलकी सर्वाधिक गोलकर्ता सावित्राले पहिलोपटक युरोपेली फुटबल खेल्न लागेकी हुन् । इजरायली महिला लिगअन्तर्गतको होपाइल रानानले उनलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो ।
‘एसियाली देशबाट एक पाइला अघि बढेको छु, युरोपको लिगमा खेल्नु चुनौती हो,’ उनले भनिन्, ‘म यो चुनौती स्विकार्न तयार छु ।’ विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध उनले नेपाली फुटबलरका लागि राम्रो सुरुवात भएको बताइन् । ‘म अन्तिम परीक्षासम्म पनि तयार रहनेछु’ उनले थपिन् ।
इजरायल एसियाली मुलुक भए पनि युरोपेली फुटबल महासंघ (युइएफए)को सदस्यता लिएको छ ।युवा तथा खेलकुद मन्त्रालयले बुधबार सावित्रालाई इजरायल प्रस्थान गर्नुअघि बिदाई गर्यो । खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपालका लागि इजरायली राजदूत हनान गोडर र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राको बिदाई गरेका थिए ।
इजरायली राजदूत हनानले सावित्रालाई इजरायली फुटबलमा स्वागत गरेका छन् । ‘इजरायलको फुटबलमा तपाईंलाई स्वागत छ, रानान उत्कृष्ट टोली हो,’ हनानले भने, ‘तपाईंलाई इजरायलमा पर्खिरहेका छन् ।’ घरेलु लिग एपिएफबाट खेल्दै आएकी सावित्राले भारत र माल्दिभ्सको लिग अनुभव बटुलेकी छिन् । भारतको चर्चित आइलिगको उपाधिमा ह्याट्रिक गरेकी छिन् ।
५९ गोलका साथ उनी आइलिगकै उच्च गोलकर्तासमेत हुन् । उनले यसै सिजन भारतीय महिला खेलाडी बाला देवीको ४८ गोलको कीर्तिमान तोडेकी हुन् । गत सिजन गोकुलम केरलाले आइलिग जित्दा सावित्राले २९ गोल गरेकी थिइन् ।