नेपाली कांग्रेस मुलुकमा अस्तित्वमा रहेका राजनीतिक दलहरूमध्ये सबैभन्दा पुरानो पार्टी हो । संसद् र संविधानसभा गरी सम्पन्न सातवटा आमनिर्वाचनमा यो पार्टी चारपटक पहिलो र तीनपटक दोस्रो भएको छ । मन्त्रिपरिषद्का अध्यक्षसमेतलाई गणना गर्ने हो भने यो पार्टीका सात नेता मुलुकका प्रधानमन्त्री भइसकेका छन् ।
यसले सात साल, छयालीस साल र बैसठ्ठी–त्रिसठ्ठी सालका गरी तीनवटा क्रान्ति तथा जनआन्दोलनमा या त नेतृत्वदायी या निर्णायक भूमिका खेलेको छ । यही २०७९ मा सम्पन्न आमनिर्वाचनमा बहुमत ल्याउन नसके पनि पहिलो पार्टी त भयो, तथापि नेकपा(माओवादी केन्द्र) लाई सरकारको नेतृत्व सुम्पेर भए पनि गठबन्धन सरकारको ताल्चा–साँचो हातमा लिएर निर्णायक साझेदारको भूमिकामा छ । यस्तो इतिहास भएको यो पार्टीले लिने नीति र गर्ने क्रियाकलापले मुलुकको राजनीतिलाई प्रभाव पार्ने नै भयो, साथमा अन्य राजनीतिक पार्टीको व्यवहारलाई पनि प्रत्यक्ष वा परोक्ष प्रभाव पार्नु अस्वाभाविक हुनेछैन ।
अतः यस आलेखमा यही नेपाली कांग्रेसको वर्तमान नेतृत्व र त्यसका कार्य–व्यवहार र आगामी चुनौतीबारे चर्चा गर्ने जमर्को गरिएको छ । विगत लामो समय अध्यक्षात्मक नेतृत्व प्रणालीमा चलेको यो पार्टीमा महाधिवेशनबाट निर्वाचित सभापतिले आफ्नो स्वेच्छाले अन्य पदाधिकारी रोज्ने अभ्यास थियो । तर, विधान संशोधनपछि यतिवेला महाधिवेशनबाटै निर्वाचित हुने बहुपदीय नेतृत्व प्रणाली अपनाएको भए पनि यो पार्टीमा पुरानै अध्यक्षात्मक प्रणालीको धङधङी बाँकी नै देखिन्छ ।
पार्टीको चौधौँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित शेरबहादुर देउवा त्यही विरासतलाई निरन्तरता दिन दत्तचित्त देखिन्छन् । त्यसैले, पार्टीको शक्तिशाली महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवानेता निर्वाचित भए पनि पार्टीले गर्ने अनेकौँ महत्वपूर्ण निर्णयमा तिनको सामेली निर्णायकभन्दा पनि सांकेतिक मात्र देखिन्छ ।
जस्तो कि आमनिर्वाचनमा गठबन्धन गर्ने या नगर्ने र गर्दा पनि को–कोसँग गर्ने, निर्वाचनमा टिकट वितरण कसरी गर्ने, भ्रातृ संगठनको नेतृत्व चयनको मापदण्ड के हुने, पार्टीबाट मन्त्री पठाउँदा के आधार बनाउने, प्रदेश सरकारमा गठबन्धन कसरी बनाउने र नेतृत्व कसले गर्नेजस्ता महत्वपूर्ण अनेकौँ नीतिगत निर्णयमा महाधिवेशनको लोकप्रिय मतद्वारा निर्वाचित महामन्त्रीद्वयको भूमिका प्रभावहीन देखिन्छ ।
वस्तुतः सभापति शेरबहादुर देउवा महाधिवेशनबाट निर्वाचित नेतृत्वभन्दा पनि त्यहाँ निर्वाचित वा पराजितको सानो ‘कोटरी’ भनौँ वा ‘किचेन क्याबिनेट’ बनाएर चल्नमा रमाइरहेका देखिन्छन् । ०७८ मंसिरमा सम्पन्न चौधौँ महाधिवेशनयता पार्टीले गर्नुपर्ने अधिकांश काम लथालिंग अवस्थामा छन् । पार्टीको केन्द्रीय समितिले पूर्णता पाएको छैन, पदाधिकारीको कार्य विभाजन भएको छैन, २८ विभागमा प्रचार विभागबाहेक अरू त गठन भएकै छैनन् । महाधिवेशनले नेतृत्व र नीति एकसाथ तय गर्नुपर्नेमा त्यसमा नेतृत्व मात्र चयन भएपछि ६ महिनाभित्रै भइसक्नुपर्ने नीति महाधिवेशन अठार महिनासम्म भएको छैन, पार्टीका भ्रातृ संगठनका अधिवेशन वर्षौंदेखि नभएर भाँडभैलोको अवस्थामा छन् ।
समयले आमूल रूपमा पथ परिवर्तनको माग गरिरहेको यो वेला केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्नेजस्ता खुद्रा–मसिना युक्तिले तत्कालका लागि कसैको अहं त तुष्टि होला, तर इतिहास बोकेको यो पार्टीमाथिको आसन्न संकट भने टार्न सक्दैन
हुन त देउवाको नेतृत्वमा पार्टीको यो अवस्था नयाँ होइन, किनकि उनको अघिल्लो कार्यकालमा पनि यस्तै अवस्था थियो र यसपटक पनि त्यसैले निरन्तरता पाएको मात्र हो । एकातिर पार्टीको आन्तरिक अवस्था यस्तो लथालिंग छ भने अर्कातिर मुलुकको युवा असन्तोषलाई पुँजीकृत गर्दै नयाँ राजनीतिक दलहरू सशक्त ढंगले राजनीतिक रंगमञ्चमा उदाएका छन् ।
तर, यस्ता अस्तव्यस्तता र चुनौतीबाट बिल्कुलै बेखबर सभापति देउवा भने गठबन्धन पार्टीमाझ भएको सहमतिअनुसार छैटौँपटक प्रधानमन्त्री पद पड्काएर नयाँ कीर्तिमान बनाउने ध्याउन्नमा ‘अर्जुनदृष्टि’ लगाएर बसेका छन् । हो, उनी नेपाली राजनीतिमा जोडजाड र टालटुलमा खप्पिस छन्, राजनीतिक लेनदेनमा माहिर छन् र ‘शक्तिका नामुद फौबञ्जार’ पनि हुन् । तर न कुनै भिजन, न जनतामा उत्साह जगाउने कुनै आकर्षक कार्यक्रम, न युवालाई आकर्षित गर्ने ‘करिस्म्याटिक’ व्यक्तित्व, न कार्यसम्पादनमा गतिलो ‘ट्र्याक रेकर्ड’ अनि विदेशी पाहुनासामु सार्वजनिक कार्यक्रममै र्याल चुहाएर जगहँसाइ गराएका ‘पड्किसकेको बारुद’बाट अब मुलुकलाई दिन के बाँकी छ र जनताले पाउन बाँकी के छ ?
पार्टीमाथि आसन्न संकट र त्यसको सामना गर्ने मामिलामा सभापतिको शून्य भिजन र पहलकदमीले पार्टीभित्रका युवानेतामा छटपटी छ । म महामन्त्री गगन थापाका विगत केही दिनदेखिका सार्वजनिक अभिव्यक्तिमा त्यही छटपटीको प्रतिबिम्ब पाउँछु । उनी विगतमा शेरबहादुर देउवाले पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग संसदीय दलको नेता हुन पटक–पटक भिडेको दृष्टान्त दिँदै आफू पनि अब त्यही पथमा अविश्रान्त लाग्ने भन्न थालेका छन् । उनलाई पार्टीको केन्द्रीय समिति र संसदीय दलको गणित आफ्नो अनुकूल छैन भन्ने थाहा छ । तैपनि उनले संसदीय दलको नेता परिवर्तन गर्ने प्रयासमा निरन्तर लागिरहने उद्घोष गरेका छन् ।
थापाको यो हुट्हुटी र सार्वजनिक अभिव्यक्तिका दुई कारण हुन सक्छन् । एक, पार्टीभित्र आफ्ना समर्थक तथा शुभचिन्तकमा हौसला जगाइराख्ने र समर्थनको दायरा बढाउने युक्ति । र, दुई, समग्र युवामा कांग्रेसभित्रै पनि युवा नेतृत्व दिन सक्ने अवस्था विद्यमान छ भन्ने मनोविज्ञान सिर्जना गर्ने सोच । यो त फगत आकलन मात्र हो, वास्तवमा यसको पछाडि उनको रणनीति के छ भन्ने तथ्य भने आगामी समयमा खुल्दै जाला ।
एघार महिनाको अन्तरालमा बस्न थालेको केन्द्रीय समितिको एजेन्डा तय गर्न पार्टीका वर्तमान र पूर्वपदाधिकारीको धुम्बाराहीस्थित देउवानिवासमा सोमबार अपराह्न बसेको बैठकले जम्माजम्मी दशवटा कार्यसूची तय गरेको छ । ती हुन्– समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षा । महामन्त्री विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार केन्द्रीय समिति बैठक सम्भवतः एक साता चल्ने अनुमान गरिएको छ ।
तर, यी त औपचारिक कार्यसूची भए, मुख्य कुरा त संस्थापन पक्ष र इतर पक्षमाझ हुने सम्भावित रस्साकस्सीको छ । इतर पक्ष संस्थापन पक्षको ‘ल्याक लस्चर’ कार्यशैली, पार्टी निर्णयमा वैधानिक समितिहरूको उपेक्षा पार्टी संगठनको ल्याङ्फ्याँङे अवस्थामाथि आक्रमक भएर आउन सक्छ । अर्कातिर संस्थापन पक्ष प्रतिकूल अवस्थामा पनि पार्टीले आमनिर्वाचनमा पहिलो स्थान ल्याएको र केन्द्रलगायत सातै प्रदेशमा सत्ता साझेदार हुन सकेको उपलब्धिको श्रेय सभापतिलाई दिने ध्याउन्नमा छ । जतिसुकै हानथाप र वादविवाद भए पनि आफ्नो प्रचण्ड बहुमतको बलमा सभापतिले जे चाहन्छन्, त्यही निर्णय गराइछाड्छन् ।
तर, यसपटकको कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गराउने सभापति देउवाको प्रस्ताव अप्रत्याशित र रोचक छ । मिडियासामु कुनै आकर्षक छवि बनाउन नसकेका उनै देउवा आखिर किन बैठक सामाजिक मिडियामार्फत प्रत्यक्ष प्रसारणका लागि हौसिएका छन् ? घोषित रूपमा त बैठकमा नउठाएका कुरा पनि कतिपय नेताले सार्वजनिक खपतका लागि आफूले उठाएको र सुुनवाइ नभएको भन्ने गरेको अवस्थालाई सम्बोधन गर्न चाहेको भनिएको छ । मलाई लाग्छ, उनी बैठकमा आफ्नो तरफदारी र महिमा मण्डन गर्ने बहुमत सदस्यको अभिव्यक्ति जनतालाई देखाउन चाहन्छन् र तिनले सार्वजनिक वृत्तमा ‘छवि’ बनाएका केही नेता ‘ग्रिल’ गरेको देखाउन चाहन्छन् । उनको यो युक्तिलाई बुझेका नेताहरू कसरी प्रस्तुत होलान् र स्वयं पाको पार्टीको यो जवान हरकतको आयु कति लामो होला, त्यो एक–दुई बैठकपछि नै थाहा भइहाल्ला ।
समयले आमूल रूपमा पथ परिवर्तनको माग गरिरहेको यो वेला यस्ता खुद्रा–मसिना युक्तिले तत्कालका लागि कसैको अहं त तुष्टि होला, तर इतिहास बोकेको यो पार्टीमाथिको आसन्न संकट भने टार्न सक्दैन । जरुरत ‘¥याडिकल सर्जरी’को छ, तर हद्द भए यो बैठक आपसी मतभेद टाटटुल गरेर सम्पन्न होला । चुनौती नेपाली कांग्रेसलाई मात्र नाइँ, एमाले र माओवादीसामु पनि उत्तिकै बस्न थालेकाले त्यसबारे चर्चा गरिएको हो ।