मननीय र पठनीय कृति, पचपन्न सन्तको एक ग्रन्थ

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

जीवनका सबै आयामको समग्र रुप जिउनु हो । तर सकभर आनन्दले जीउनु । जीवनमा रोग, भोक, शोक छ अर्थात सुख, दुख सबै छ । भगवान गौतम बुद्धले मनुष्य जीवनमा दुःख छ र दुःखको कारण छ भनेर त्यसै भनेका होइनन्, यसको अर्थ आफैँमा गहन छ । 

सुखी भएर हास्दा साथसाथै अरु पनि हाँस्छन् तर दुःखी भएर बाँच्दा साथमा रहेका पनि भाग्छन् । मनुष्य समाजको यो शास्वत सत्य हो । त्यसैले खुसी भएर बाँच्न सुखलाई चिन्नुपर्छ, यो हरेक मनुष्यमा विद्यमान छ । यसलाई जगाउनु पर्छ, यो आफैँ जाग्दैन । यसका निम्ति सिद्ध साधु, सन्त र योगीको सत्संगमा जानुपर्छ । त्यहाँ शरणागती भएपछि त्यो सुख र त्यो शान्ति जागृत हुन्छ । 

लेखक एवम् अनुसन्धाता उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’ ले आफ्नो पछिल्लो कृति ‘विश्वप्रसिद्ध सन्तहरूको जीवन चरित्र’ बजारमा ल्याएका छन् । सन्तका बारेमा उनी लेख्छन् –‘जो शान्त छ, निष्पृह छ, प्रेम र आनन्दले ओतप्रोत छ र आफू दुःख सहेर पनि अरुलाई सत्मार्ग देखाउन सक्छ, अरुको दुःखमा साथ दिन्छ र आध्यात्मिक ज्ञानमा सिद्ध छ भने त्यही व्यक्ति सन्त हो ।’

सन्तमा प्रेम हुन्छ, करुणा हुन्छ र आनन्द हुन्छ । दृष्टि शुद्ध हुन्छ र वाणी सिद्ध हुन्छ । सन्तको समिपमा रहँदा दुःख भाग्दछ, प्रेम र करुणाले प्रेरित हुन्छ । उनीहरू ज्ञान र साधनाले पूर्ण हुन्छन् । आफू सुखी र खुःशी भएर यो सुख र आनन्दलाई साधना वा ज्ञानका माध्यमले अरु मनुष्यमा प्रसारित गरेर लोककल्याणको कार्यमा सिद्ध सन्तहरू कार्यरत रहन्छन् ।’ 

विश्व प्रसिद्ध सन्तहरूको जीवन चरित्रमा लेखक भट्टराईले यही कोटीका विश्व प्रसिद्ध सन्तहरूलाई समेटेका छन् । पचपन्न जना विश्व प्रसिद्ध सन्तहरूको संक्षिप्त जीवन र उनीहरूको जीवन चरित्र अर्थात विशेषतासहित लोककल्याणका लागि उनीहरूले दिएका अति महत्वपूर्ण र उपयोगी ज्ञान यस पुस्तकमा पाउन सकिन्छ । यस पुस्तकमा महर्षि वाल्मीकि, याज्ञवल्क्य, वेदव्यास, महामुनी सुकदेव, सिद्धार्थ गौतम बुद्ध, आदि शङ्कराचार्य, सन्त सुकरात, महावीर, निम्बाकाचार्य, लाओ–त्सु, रामानुजाचार्य, रामानन्दाचार्य, कविरदास, तुलसीदास, गोरखनाथ, नानक, आवाल व्रहमचारी, स्वामी प्रभुपाद, रमण महर्षि, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, परमहंस योगानन्द, खप्तड बाबा, जे कृष्णमूर्ति, इमर्शन, कृपालुजी महाराज, जैनमुनी, करपात्रिजी महाराज, साइँ बाबा, व्रम्हा बाबा, सच्चिदानन्द विशुद्धदेव, योगी नरहरीनाथ, ओशो रजनीश, अघोरी रामनाथ, निखिलेश्वरानन्दजी, स्वामी प्रपन्नाचार्य, स्वामी रामानन्द गिरीलगायतको संक्षिप्त तर अति ज्ञानोपयोगि जीवन चरित्र समेटिएको छ । 

लेखक एवम् अनुसन्धाता उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’ आफ्नो पछिल्लो कृति ‘विश्वप्रसिद्ध सन्तहरूको जीवन चरित्र’मा सन्तका बारेमा लेख्छन्– ‘जो शान्त छ, निष्पृह छ, प्रेम र आनन्दले ओतप्रोत छ र आफू दुःख सहेर पनि अरुलाई सत्मार्ग देखाउन सक्छ, अरुको दुःखमा साथ दिन्छ र आध्यात्मिक ज्ञानमा सिद्ध छ भने त्यही व्यक्ति सन्त हो ।’

सन्तहरूको अलग–अलग पुस्तक भन्दा सबैको एकमुष्ट प्रस्तुतिको यो पुस्तक वर्तमानको व्यस्त एवम् तनावयुक्त दिनचर्यामा शान्तिको दीप प्रज्वलन गर्न सक्ने गरी तयार गरेको देखिन्छ । लेखक भट्टराईले यो पुस्तक तयार गर्नुको मूल आशय नै सज्जन आत्मा तयार होस् र सबैको कल्याण होस भन्ने रहेको उल्लेख गरेका छन् । 

पुस्तकलाई अध्ययन गर्दा यही उद्देश्य परिपूर्तिको महत्वपूर्ण सन्दर्भ ग्रन्थको रूपमा भएको पाउन सकिन्छ । ४ सय ६८ पृष्ठको यो पुस्तकको मूल्य व्यक्तिगत एक हजार पाँच सय रुपैयाँ राखिएको छ भने यसको प्रकाशकको रूपमा शान्ता भट्टराई राखिएको छ । लेखक भट्टराईले यसअघि महर्षि विशुद्धदेव एवं दिब्य साधना सुत्र, स्वर्णिम साधना विज्ञान, महासमुद्रका तरंङ्गहरू, मुक्त हृदयको आवाज, गुरुगङ्गालगायतका कृति बजारमा ल्याइसकेका छन् । उनको यो पछिल्लो पुस्तक वर्तमान नेपाली समाजको आधुनिक पुस्तकका निम्ति त उपयोगी छँदैछ, साथमा जिज्ञासु सबैका निम्ति उत्तिकै महत्वपूर्ण ग्रन्थका रूपमा लिन सकिन्छ ।

सुझावित समाचार