अमेरिकाले चीन मामिलामा फोहोरी खेल नखेलोस्

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

पछिल्ला केही दिनयता अमेरिकाले अचानक चीनसँग सम्बन्धित मुद्दालाई उछाल्न ‘अल पर्पाेज स्पेयर टायर’ अर्थात् तथाकथित चिनियाँ ह्याकर समस्याको कुरो झिकेको छ । अमेरिकाको ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले अमेरिकी अधिकारीले चीनमा आधारित ह्याकरले माइक्रोसफ्टको क्लाउड सर्भिसमा मौजुद कमजोरीको दुरुपयोग गरी अमेरिकी इमेल एकाउन्टमा अनधिकृत प्रवेश (ह्याकिङ) गर्न खोजेका थिए भन्ने दाबी गरेका छन् । सो दाबीपछि ह्वाइटहाउसले माइक्रोसफ्टलाई अनधिकृत प्रवेशबारे सूचित गर्यो र लगत्तै माइक्रोसफ्टले ट्याकिङ र अनुसन्धान सुरु गरेको थियो ।

यो विषयलाई अमेरिकी मिडियाले व्यापक रूपमा प्रचार–प्रसार गरेको थियो । समाचारलाई लिएर अमेरिकामा व्यापक चर्चा–परिचर्चा पनि देखियो । तर, पछि केही अज्ञात अमेरिकी अधिकारीले अनधिकृत प्रयास वास्तवमै चीनसँग सम्बन्धित छ वा छैन भनेर निर्णय गर्न नसकिने बताएका छन् । प्रमाण पेस गर्न नसक्दा कर्मचारीमाझ रहेको अपराधबोध भावना स्पष्ट हुन्छ । 

अमेरिकाले चीनविरुद्ध निराधार आरोप लगाउने गरेको इतिहास नै छ । आरोप लगाएपछि चीनले जवाफ दिँदा अमेरिका तुरुन्तै पछि हट्ने गरेको पनि इतिहास छ । यो प्रवृत्ति निकै स्वाभाविक भएको छ, वास्तवमा यो अमेरिकाको बानी नै बनिसकेको छ । अमेरिकी बारम्बार यसो गरिरहन्छ, किनभने चीन प्रायः तनाव बढाउन अनिच्छुक हुने गर्छ ।

समाचारको प्रारम्भिक स्रोत नै अमेरिकी ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद् हो । आजभोलि अमेरिका र पश्चिमा देशमा ‘राष्ट्रिय सुरक्षा’ शब्द उल्लेख भएका संस्थाले के अर्थ राख्छ भन्नेबारे सबैलाई थाहा छ । विगतमा यस्ता समाचार प्रायः अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले जारी गथ्र्याे जुन मूलतः अमेरिकी साइबर कमान्ड, हो अर्थात् विश्वको सबैभन्दा ठूलो ह्याकर संगठन हो । यसपटक भने समाचार ह्वाइटहाउसस्थित राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको हो । तर, यसले पनि ‘जो चोर उसको ठूलो स्वर’ भन्ने तथ्यलाई परिवर्तन गर्दैन । यो प्रचारबाजीको समयलाई नै हेरौँ ।

ह्याक गरिएका इमेलमा कथित रूपमा अमेरिकी वाणिज्यमन्त्री जिना रेमन्डो संलग्न रहेको बताइएको छ । १३ जुलाईमा चिनियाँ वाणिज्य मन्त्रालयले रेमन्डोको चीन भ्रमणको सम्बन्धमा चीन अमेरिकासँग सञ्चारमा रहेको बताइएको थियो । त्यसैगरी, चीनले अमेरिकाले लगाएको चिनियाँ कम्पनीमाथिको एकतर्फी प्रतिबन्ध हटाउन पनि आह्वान गरेको थियो । अर्काे शब्दमा भन्नुपर्दा रेमन्डोले चीन भ्रमण गर्न लागेकी छिन् र यसैवेला यो निराधार समाचार बनाइएको छ । अमेरिकाले ठीक यही समयमा चिनियाँ ह्याकर आक्रमणको घटना बाहिर ल्याउनु के संयोग हो त ?

हामी अमेरिकालाई फोहोरी खेल नखेल्न सल्लाह दिन्छौँ, यसले अमेरिका–चीन सम्बन्ध स्थिर मार्गमा पुर्याउने अवसरलाई पनि बर्बाद गर्नेछ

अमेरिकी पक्षले यो समाचारलाई जनमतमा आफूमाथि पर्न र रेमन्डोको चीन भ्रमणमा मोलमोलाइ गर्ने बाटो खोल्न नियोजित ढंगले प्रचार गरेको हो भन्ने प्रस्टै झल्किन्छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको यही जुनमा चीन भ्रमण हुनु ठीक अघि पनि अमेरिकाले ‘चिनियाँ ह्याकिङका घटना’लाई उछालेको थियो । सम्पूर्ण प्रक्रिया अहिलेको प्रचारसँग मोटामोटी रूपमा मिल्छ । तर, अघिल्लोपटक चिनियाँ ह्याकरले ‘अमेरिकाको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी भविष्यको संकटको समयमा अमेरिका र एसिया क्षेत्रबीचको महत्वपूर्ण सञ्चार पूर्वाधारमा बाधा पुर्याउन सक्ने क्षमताको विकास गर्न खोजिरहेका’ भन्ने व्यहोरा उल्लेख थियो ।

यसपटक ‘चिनियाँ ह्याकर’ले इमेल एकाउन्टमा अनधिकृत प्रयास गरेको दाबी गरिएको छ । यदि हामीले ‘चिनियाँ ह्याकर’का बारेमा अमेरिकी प्रचारबाजीको हालैका वर्षलाई अवलोकन गर्ने हो भने हामी साझा ढाँचा वा खाका भेट्न सक्छौँ । यी घटनाहरू प्रायः चीन–अमेरिका सम्बन्धको महत्वपूर्ण बिन्दुमा हुने गर्छ । अथात् अमेरिकामा चीनसँग सम्बन्धित मुद्दामा ‘रुकावट भइरहेको’ अवधिमै यी घटना भएका छन् । ‘चिनियाँ ह्याकर’ वा ‘चिनियाँ जासुस’लाई यस अवस्थामा रिक्त स्थान भर्नका लागि बनाइएका हुन्छन् । अमेरिका यस्तोमा अभ्यस्त छ । किनभने यस्ता आरोप प्रमाणित गर्न वा खण्डन गर्न गाह्रो हुने गर्छ । यसले अरूका लागि समस्या निम्त्याउने मात्रै हो र यो नियोजित उद्देश्य नै हो ।

वर्तमान चीन–अमेरिका सम्बन्ध एक महत्वपूर्ण, नाजुक र अनिश्चितताको अवस्थामा छ । दुई देशबीचको उच्चस्तरीय सञ्चार अपेक्षाकृत रूपमा छिटो सुधार हुँदै छ । तथापि अमेरिकी पक्षबाट निस्कने प्रतिकूल सन्देश र षड्यन्त्रले सञ्चारको सकारात्मक प्रगतिमा ठूलो हस्तक्षेप गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले १३ जुलाईमा इन्डोनेसियाको जकार्तामा आसियान विदेशमन्त्रीको बैठकको छेको पारेर अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग भेट गर्नुभएको थियो । दुईबीच एक महिनामा भएको यो दोस्रो भेट हो । जलवायुसम्बन्धी अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरी र अमेरिकी वाणिज्यमन्त्री जिना रेमन्डो दुवैले निकट भविष्यमा चीन भ्रमण गर्ने भएका छन् ।

यसले चीन–अमेरिका सम्बन्धमा सुधारका लागि अन्तर्राष्ट्रिय समुदायमा अपेक्षा बढाएको छ । चीनले यस्तो सञ्चार र आदान–प्रदानमा सधैँ खुला एवं स्वागतयोग्य व्यवहार कायम राख्छ । तर, हामी अमेरिकालाई फोहोरी खेल नखेल्न सल्लाह दिन्छौँ अन्यथा अमेरिकाले आफ्नो घुँडामा बन्चरो मात्रै हान्ने छैन, अमेरिका–चीन सम्बन्धको पुनस्र्थापना गरेर एक स्वस्थ र स्थिर मार्गमा पुर्याउने अवसरलाई पनि बर्बाद गर्नेछ ।
(१४ जुलाईमा प्रकाशित ग्लोबल टाइम्सको सम्पादकीय)

सुझावित समाचार