सातपटकको बालोन डिअर विजेता लियोनल मेसीले अमेरिकाको मेजर सकर लिगमा इन्टर मियामीसँग तीन वर्षको सम्झौता गरेका छन् । इंग्लिस फुटबलर डेभिड बेकह्यामको सहलगानीमा रहेको मियामीले मेसीलाई सन् २०२५ को अन्त्यसम्म सम्झौता गरेको एजेन्सीले जनाएको छ ।
सन् २०२२/०२३ को सिजन समाप्तिसँगै मेसीले फ्रेन्च पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नवीकरण नगरी अमेरिकन सकर लिगमा करिअर समाप्त गर्ने लक्ष्यका साथ अमेरिका रोजेका हुन् । मियामीसँगको सम्झौतासँगै मेसीले पहिलोपटक करिअरमा युरोपबाहिर फुटबल खेल्ने भएका हुन् । उनको गर्विलो करिअरमा बार्सिलोना र पिएसजीबाट मात्र खेलेका थिए । अब उनको नाम मियामीसँग जोडिएको छ ।
मेसीले बार्सिलोनामा १७ वर्ष बिताएका थिए । अमेरिकामा फुटबल करिअर सुरुवात गर्न पाउँदा खुसी लागेको उनले बताएका छन् । ‘मेरो करिअरको नयाँ पाइला मियामी हो, विशेष गरी अमेरिकामा फुटबल सुरुवात गर्न पाउँदा ज्यादै खुसी लागेको छ,’ उनले भने । बेकह्यामले मेसी र क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भिœयाउने घोषणा गरेका थिए । बेकह्यामले दुवै खेलाडीलाई ल्याउन नसके पनि कम्तीमा वर्तमान समयकै उत्कृष्ट खेलाडीलाई अनुबन्धित गर्न सफल भएका छन् ।
बेकह्यामको सपना पूरा
बेकह्यामले वर्तमान समयकै उत्कृष्ट खेलाडीलाई मियामीबाट खेलाउने आफ्नो सपना पूरा भएको जनाए । ‘मैले देखेको सपना पूरा भएको छ, मेसीलाई ल्याउने अहिलेसम्मकै ठूलो सपना थियो, जुन आज पूरा भयो,’ हर्षित हुँदै बेकह्यामले भने, ‘एक दशकअगाडि मियामीमा नयाँ टिम बनाउने निर्णय गर्दा उत्कृष्ट खेलाडीलाई ल्याउने सपना देखेको थिएँ ।’ उनले मेसीजत्तिको क्षमतावान् खेलाडीलाई अनुबन्धित गर्न पाउँदा गर्वको महसुस भएको बताए । ‘अहिले हामीसँग विश्व च्याम्पियन र यो समयकै महान् खेलाडी छन्,’ इंग्ल्यान्डका पूर्वकप्तानसमेत रहेका बेकह्यामले भने, ‘मेसी परिवारलाई अमेरिका र मियामीलाई स्वागत छ ।’
एक–आपसका प्रतिद्वन्द्वी
मेसी र बेकह्याम कुनै समय युरोपियन लिगमा एक–आपसका प्रतिद्वन्द्वी थिए । मेसीले भर्खर फुटबल सुरुवात गरेको वेला बेकह्याम विश्वकै चर्चित खेलाडी बनिसकेका थिए । मेसी स्पेनिस क्लब बार्सिलोनामा रहँदा बेकह्याम सहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडमा आबद्ध थिए । सन् २००७ मा बेकह्यामले म्याड्रिड छाड्दै अमेरिकी क्लब ग्यालेक्सीमा आबद्ध भए । सन् २००७ देखि ०१३ सम्म उनी ग्यालेक्सीमै रहे । यसबीचमा उनले पिएसजीबाट पनि खेले । ३६ वर्षीय मेसीले पछिल्ला दुई सिजन पिएसजीबाट ७५ खेलमा ३२ गोल गरे । गत सिजनमा उनले १६ गोल र १६ असिस्ट गरेका थिए ।