सन् २०३० सम्ममा एड्स नियन्त्रण सम्भव छ : राष्ट्रसंघ

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा ‘एड्सको नियन्त्रण’ अझै सम्भव रहेको बताएको छ, तर विश्व नेताहरूले अवसरको सदुपयोग गरे मात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन्।

‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआइभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (युएन एड्स)ले भनेको छ। 

युएन एड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ। एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भनिन्, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौँ, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ।’

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो।

ब्यानिमाका अनुसार एचआइभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन्। उनले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भनिन्, ‘ती मुलुकमा सन् २०१० यता नयाँ एचआइभी संक्रमण ५७ प्रतिशतले घटेको छ।’

बोत्सवाना, इस्वातिनी, रुवान्डा, तान्जानिया र जिम्बावेले ९५–९५–९५ को लक्ष्य हासिल गरिसकेका छन्। यसको अर्थ एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ।

एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन्। संक्रमितमध्ये ९५ प्रतिशत मानिस संक्रमणलाई दबाउन उपचार गरिरहेका छन्। त्यसैले अरूलाई संक्रमित गर्ने सम्भावना छैन।

कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हासिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी संक्रमित बसोवास गर्ने उपसहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्यान्डलगायत आठ मुलुक छन्।

युएन एड्सले एक प्रतिवेदनमा भनेको छ, ‘दुई दशकअघि एड्सको महामारी रोक्न नसकिनेजस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआइभी संक्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो। तर, अहिले त्यो चित्र नाटकीय रूपमा फरक छ।’

युएन एड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआइभी संक्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन्। यो सेवाबाट छुट्नेमा ६ लाख ६० हजार बालबालिका छन्।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचारको संख्या ७७ लाख रहेकोमा अहिले चार गुणाले वृद्धि भएको छ।यसबाहेक, एचआइभी संक्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो संख्या सन् २०१० मा ४६ प्रतिशत थियो।

गत वर्ष करिब १३ लाख मानिस एचआइभी संक्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो। यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण ६ लाख ३० हजार मानिसको मृत्यु भएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘मृत्युको एक नम्बर कारण’ रहेको ब्यानिमाले बताइन्।  

सन् २००४ को तुलनामा एड्सका कारण हुने मृत्युको संख्यामा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ। ‘एड्सको अन्त्य एउटा अवसर हो,’ ब्यानिमाले भनिन्, ‘आजको विश्व नेतृत्वलाई ‘संसारको सबैभन्दा घातक महामारीलाई रोक्नेहरूका रूपमा सम्झने अवसर  प्रदान गर्न यसको नियन्त्रणमा उनीहरूले खेल्ने भूमिका रहनेछ।’ 

सन् २०२२ मा एचआइभीका लागि दिइने अनुदान २०.८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९.३ अर्ब डलरभन्दा निकै कम हो।

‘मुख्य जनसंख्या वा उनीहरूको व्यवहारबाट मानिसलाई अपराधीकरण गर्ने कानुनहरू धेरै राष्ट्रहरूमा लागू छन्,’ लागुऔषध इन्जेक्टरहरूको अपराधीकरण र कलंकले उनीहरूलाई उपचारका लागि अगाडि आउनबाट रोक्छ भन्ने उदाहरण दिँदै युएन एड्सले भनेको छ। 

सन् २०२२ मा १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कको तुलनामा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषमा एचआइभीको संक्रमण ११ गुणा बढी देखिएको थियो भने यौनकर्मीहरूमा चार गुणा बढी, लागुपदार्थको सुई लगाउने मानिसमा सात गुणा बढी र ट्रान्सजेन्डर व्यक्तिहरूमा १४ गुणा बढी छ।

सुझावित समाचार