नेपालले भारतको बिहार राज्यसँग जोडिएका १३२ केभीका चार अन्तरदेशीय प्रसारण लाइन प्रयोग गरेर भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा थप ३०० मेगावाट विद्युत् बिक्री गर्ने भएको छ । नेपालले रामनगर–गण्डक, रक्सौल–परवानीपुर, कटैया–कुसाह र कटैया–कुसाह–२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बिक्री गर्ने भएको हो ।
अहिले नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बोलकबोलमार्फत ४५२ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ । त्यसका लागि ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग भइरहेको छ । यसअघि उक्त प्रसारण लाइन इनर्जी बैंकिङअन्तर्गत भारतको बिहार राज्यसँग गरिने विद्युत् आदान–प्रदानमा हुँदै आएको थियो । अब भने भारतको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री गर्दा पनि उक्त प्रसारण लाइन प्रयोग गर्न पाइने भएको हो । यसका लागि गत २६ जुनमा भारतको विद्युत् व्यापार कम्पनी पिटिसी इन्डिया र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
यद्यपि, खुला बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गर्ने भएकाले यस सम्झौतामा पिपिएदर छैन । भारतको खुला बजारमा १५–१५ मिनेटको ब्लक गरेर दैनिक ९६ ब्लकमा विद्युत् बिक्री गरिन्छ । ती सबै ब्लकमा फरक–फरक दर हुन्छ । पिटिसी इन्डियाले प्राधिकरण र भारतीय खुला बजारको बीचमा मध्यस्थकर्ता (ट्रेडर)को रूपमा काम गर्नेछ । सोहीअनुसार नै पिटिसी इन्डियासँग सम्झौता भएको प्राधिकरणको व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । पिटिसी इन्डिया भारतको निजी क्षेत्रको विद्युत् व्यापार कम्पनी हो । अब यसका लागि प्राधिकरणले निश्चित आयोजनालाई स्रोत देखाएर भारतमा प्रस्ताव पठाउनुपर्नेछ । त्यहाँबाट स्वीकृत भएर आएपछि यसअन्तर्गत विद्युत् निर्यात हुनेछ । यस सम्झौताअनुसार यही बर्खामा विद्युत् निर्यात गर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ ।
अहिले भारतमा विद्युत् निर्यात गर्न ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशी प्रसारण लाइन प्रयोग गरेर ८ सयदेखि १ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिन्छ । यद्यपि, उक्त प्रसारण लाइन प्रयोग गरेबापत प्राधिकरणले ह्विलिङ चार्ज भने तिर्नुपर्छ । प्रतियुनिट ४० देखि ५० पैसा(भारु) दरले ह्विलिङ चार्ज तिर्ने गरी उक्त सम्झौता भएको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनमा पनि प्राधिकरणले सोही दिनमा ह्विलिङ चार्ज तिर्नुपर्छ ।
गत फागुनमा भारतमा सम्पन्न नेपाल भारत ऊर्जासचिवस्तरीय बैठकमा बिहारसँग जोडिएका प्रसारणलाइन प्रयोग गरेर नेपालको विद्युत् भारतमा निर्यात गर्न दिने सहमति भएको थियो । सोहीअन्तर्गत रहेर प्राधिकरण र पिटिसी इन्डियाबीच यस्तो सम्झौता भएको हो । पिटिसी इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीवकुमार मिश्रले पनि बिहारसँग जोडिएका नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनमार्फत ३०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी सम्झौता भएको बताएका छन् ।