‘चुनावमा महिलाबीच मात्र प्रतिस्पर्धा गराइयोस्’

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

प्रस्तावित निर्वाचन विधेयकबारे महिला सांसदहरूको धारणा

प्रतिनिधिसभा सदस्यहरूले वडादेखि संघसम्म चुनावमा महिलाबीच प्रतिस्पर्धा हुने गरी कानुन निर्माण गर्न माग गरेका छन् । प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा मंगलबार भएको छलफलमा महिला सांसदहरूले प्रत्यक्षतर्फ ५० प्रतिशत महिलालाई टिकट दिनुपर्ने र महिला उठेको ठाउँमा महिला नै उम्मेदवार सुनिश्चित हुने गरी कानुन बनाउनुपर्ने माग गरेका हुन् । 

निर्वाचन आयोगले तयार पारेको एकीकृत निर्वाचन कानुनसम्बन्धी विधेयक गृह मन्त्रालयमा पुगेको छ । विधेयक संसद्मा दर्ता हुनुअघि नै महिला सांसदहरूले ५० प्रतिशत प्रत्यक्ष टिकट तथा महिला महिला प्रतिस्पर्धा सुनिश्चितता गरेर जानुपर्ने माग गरेका छन् । मंगलबारको छलफलमा सांसद शोभा ज्ञवालीले संघदेखि वडासम्म महिला प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिन् । उनले जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने वा त्यसो गर्न नसके महिलाका लागि प्रत्यक्षतर्फ सिट नै तोक्नुपर्ने माग गरिन् । 

महिला नेतृ कमजोर छैनन् : विन्दा पाण्डे, पूर्वसांसद (एमाले)
मेरो पार्टीको महासचिव (शंकर पोखरेल)लाई महिलाले हराएको होइन ? मेरो पार्टीको निर्वाचन प्रमुख (विजय सुब्बा)लाई हराउने पनि महिला नै हुनुहुन्छ । उहाँहरू दुवैजना मन्त्री हुनुहुन्छ । कार्यसम्पादन पनि बलियो छ । तसर्थ, महिला भनेर प्रत्यक्षमा मौका नदिनुपर्ने कुनै कारण छैन

सांसद सरस्वती बजिमयले दुईवटा निर्वाचन क्षेत्र भएको ठाउँमा एउटा अनिवार्य महिलालाई दिनुपर्ने माग गरिन् । ‘मौका पाए महिलाहरूले पनि काम गर्न सक्छन् भनेर देखाउन सक्छौँ,’ उनले भनिन् । सांसद जावेदा खातुनले आर्थिकदेखि हरेक हिसाबले कमजोर हुँदा महिला हार्ने अवस्था हुने गरेको भन्दै त्यसैले महिला प्रतिस्पर्धा गराउनुपर्ने माग गरिन् । ‘एउटा दलले महिला उम्मदवार दियो भने अर्काे दलले पनि महिला उठाउने, यो महिला अधिकारका लागि उपयुक्त हुन्छ,’ उनले भनिन् । 

सांसद चन्दा चौधरीले अहिलेको ५० प्रतिशत समानुपातिक सांसद चुनाव लड्न तयार रहेको, तर टिकट नदिने गरेको गुनासो गरिन् । यस्तै, सांसद हर्कमाया विश्वकर्माले राष्ट्रपति र उपराष्ट्रपतिमा एक महिला अनिवार्य गर्नुपर्ने माग गरिन् । सांसद ईश्वर रिजालले समानुपातिक हटाएर आरक्षणका आधारमा निर्वाचन क्षेत्र तोक्नुपर्ने प्रस्ताव गरे । समितिमा विज्ञका रूपमा निम्त्याइएकी पूर्वसांसद एवं महिला अधिकारकर्मी विन्दा पाण्डेले पुरुष बाहुल्य नियन्त्रणमा रहेको राजनीतिमा महिलालाई दिने हो भने भन्ने मानसिकता परिवर्तन हुनु अपरिहार्य रहेको बताइन् ।

संविधानमा रहेको राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा शब्द भन्नेको व्याख्या सर्वाेच्च अदालतले गरिदिनुपर्ने उनको भनाइ थियो । ‘लड्छु भन्नेलाई टिकट नदिने अनि समानुपातिकमा यतिपटक भन्ने ? समानुपातिकले संसद् धानिदिएको छ । दलको नेताले भनेको मान्ने मात्रै होइन, दल भनेको हामी पनि हो,’ उनले भनिन् । पाण्डेले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउन संविधान संशोधन गर्नुपर्ने बताइन् । ‘आरक्षणअनुसार निर्वाचन क्षेत्र तोक्न अहिलेकै कानुनबाट सम्भव छैन,’ उनले भनिन् । यसो गर्दा सरकार चुन्ने प्रणाली पनि बदल्नुपर्ने उनको भनाइ थियो । 

पाण्डेले कुनै तहमा एकपटक चुनाव लडेपछि मात्र समानुपातिकमा जाने व्यवस्था बनाउन पनि सुझाव दिइन् । यसले मानसिकता बदल्न मद्दत गर्ने उनको तर्क थियो । 
पाण्डेले प्रतिनिधिसभा नियमावलीमै उल्लेखित महिला समन्वय समिति सकेसम्म छिटो बनाउने पहल गर्न पनि सुझाव दिइन् । महिला ज्येष्ठ सदस्यको संयोजकत्वमा अगाडि बढाउन उनले सुझाइन् । समितिको सभापतित्व गरिरहेकी ज्येष्ठ सदस्य रोशन कार्की आउँदै गरेको निर्वाचन कानुनमा महिला कहाँ छन् भनेर अध्ययन गर्न छलफल थालिएको र यसलाई निरन्तरता दिने बताइन् । 

See More On

सुझावित समाचार