एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने पार्टीको आन्तरिक विषयमाथि बाहिरका विरोधीले आफूमाथि ताकेरै आक्रमण गरेको दाबी गरेका छन् । एमाले वागमती प्रदेश कमिटीको मंगलबारको बैठकमा ओलीले उमेरहद हटाउने विषयमा अराजनीतिक तर्क गरेर विरोधीले आक्रमण गरेको बताएका हुन् ।
‘एमालेले ७० वर्ष हटायो भनेर हाम्रा विरोधीहरूको रुवावासी छ । तिनलाई के चासो ७० हटाओस्, कि ७५ राखोस् कि, ६० राखोस् कि ४० राखोस् कि, तिनलाई के मतलब ? किनकि तिनीहरूलाई खालि एमालेकै विरोध गर्नुछ । कांग्रेसले उमेरै राखेकै छैन । त्यहाँ ८० वर्षको नेता हुँदा ठीकै छ,’ ओलीले भने, ‘अहिले बूढा भनेर आक्रमण गरेको अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई हो र, होइन नि, शेरबहादुरजी ८० वर्ष जति हुनुहुन्छ, उहाँमाथि होइन नि, मोदीजी मभन्दा एक वर्ष जेठो हुनुहुन्छ, उहाँमाथि पनि होइन नि, त्यो एउटा केपी ओलीलाई ताकेको हो क्या ।’
उमेरहदको विषय उठाउनु अराजनीतिक तर्क भएको र ओलीले त्यस्तासँग आफू राजनीतिक म्याराथनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘कहिलेकाहीँ त्यस्ता(अराजनीतिक) कुरा गर्नेलाई म्याराथन दौडका लागि निम्तो गरौं कि जस्तो लाग्छ, आऊन् न म्याराथन दौडमा दौडिएको हेर्न । जे होस्, यो उमेर कुनै वैज्ञानिक कुरा होइन, कसैले राखेको पनि छैन । जसले राखेको थियो तिनले हटाइसके’, ओलीले भने, ‘सबैभन्दा पहिले उमेरहद राख्ने साइप्रसको पार्टीले पनि हटाइसक्यो अनि हामीले मात्रै राख्नुपर्ने ?’
दुई–चारजना नयाँ मान्छेले खोलेको पार्टीसँग आफ्नो पार्टीको तुलना हुन नसक्ने तर्क गरे । ‘युवालाई सामेल गर्नुपर्छ, जिम्मेवारी दिनुपर्छ, उनीहरूको सामथ्र्य प्रयोग गर्नुपर्छ । युवा जति बाहिर जाने, अनि ज्येष्ठ नागरिकलाई मात्र नेपालमा बस्न दिनुहुँदैन । राजनीतिमा चारजना मान्छे लिएर कुनै नयाँ पार्टी खोल्यो भने युवा अध्यक्ष त भइहाल्छ नि । के त्यसपछि युवाहरूको व्यबस्थापन भयो ?’, ओलीको भनाइ थियो, ‘युवाहरूले मौका पाए । यस्तो खालको अराजनीतिक कुरामा होइन, हामी देश बनाउने विचार, नीति र कार्यक्रममा जानुपर्छ ।’
स्वस्थ र क्रियाशील मान्छेलाई उमेरहद लगाउने तर्क अराजनीतिक भएको ओलीको टिप्पणी छ । उनले त्यसले मान्छेलाई शिथिल र निष्क्रिय बनाउने दाबी गरे । त्यसरी अराजनीतिक तर्क गरेर आफूलाई ललकार्नेहरूलाई आफूसँग भिड्न ओलीले निम्तासमेत दिए ।
‘यति वर्षपछि सक्रिय हुन सक्दैन भनेर अराजनीतिक कुरा गरेका छन् । काम गरिरहेको मान्छे ७० पुग्यो भनेर कमिटीमा बस्नै नपाउने ? यस्ता कुरा गरेर कसैले ललका¥यो भने मलाई भिड्न सक्छुजस्तो हुन्छ । स्वस्थ रहेका मान्छेका लागि त ७० वर्ष भनेको केको उमेर हो र ?’ ओलीले भने,‘म कति पल्ट अपरेसन गरेको, दुईपल्ट किड्नी ट्रान्सप्लान्ट गरेको मान्छेले अहिले १८ घन्टा काम गरिरहेको छु । अनि काम गर्नलाई बाधा छैन भने उमेर पुग्यो भन्नु मान्छेलाई शिथिल र निष्क्रिय बनाउने तरिका हो ।’
एमाले सरकार परिवर्तनको खेलमा छैन

ओलीले एमाले सरकार परिवर्तन गर्ने खेलमा नलागेको दावी गरे । आफ्नो पार्टी जोडजाड गरेर सरकार जोगाउने र परिवर्तन गर्ने खेलमा नलागेको भन्दै ओलीले एमाले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने अभियानका साथ अगाडि बढेको सुनाए ।
‘हामीलाई सरकारमा जान हतारो नभएको मात्र होइन, हामीले सरकारतिर फर्केर हेरेका पनि छैनौँ, त्यतातिर सोचेका पनि छैनौँ, हामी ग्रासरुट अभियानमा लाग्यौँ, अब हामी मिसन ८४, मिसन फिप्टी वनपट्टि लागेका छौँ’ ओलीले भने,‘हामी सरकारको दैनिक किचलो, सरकार बनाउने, कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, ऊ खोज्यो, कसलाई जेलबाट छुटाएर चार भोट लियो, कसलाई के गरेर चार भोट लियो, यता खेल्यो, उता खेल्यो । यसखालको कुनै परिणाम ननिस्कने खेलमा लाग्दैनौँ ।’
ओलीले सरकार भ्रष्टाचारविरोधी कदमका नाममा स्टन्टवाजीतिर लागेको भन्दै त्यस्तो कदम उनीहरूतिरै फर्किँदै गएको टिप्पणी पनि गरे । ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्र मात्रै हो,’ ओलीले भने,‘यिनीहरूले केही गर्ने होइनन्, यो सबै स्टन्टवाजी हो । जो सबभन्दा बढी अविश्वसनीय छन्, उनीहरू नै बडो विश्वसनीयजस्ता भएका छन्, जो सबभन्दा भ्रष्ट छन्, तिनैले भ्रटाचारविरोधीको अभिनय गरिरहेका छन् ।’
ओलीले अहिलेको भ्रष्टाचारको छानबिनमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको कुनै योगदान नभएको पनि दाबी गरे । ‘यो त अगाडिदेखि चल्दै थियो, अहिलेको सरकार, अहिलेका मन्त्रीहरू । खासगरी गृहमन्त्री र प्रधानमन्त्री लडेको राँगो मैले पछारेँ रे । अहिले आएको भ्रष्टाचारविरोधी कुरा अहिलेको सरकारको योगदान नै होइन । यो त अगाडिदेखि चल्दै थियो ।’ ओलीले अहिले पनि थुप्रै काण्डको छानबिनमा सरकारले तदारुकता नदेखाएको आरोपसमेत लगाए । ‘अहिले पनि मुद्दा कहाँ चलेको छ ? खोइ धर्मस्थलीतिरको जमिनको मुद्दा, चन्द्रागिरी मातातीर्थको नेपाल ट्रस्टको जग्गा हिनामिनाको मुद्दा खोइ ? काभ्रेस्थलीको मुद्दा खोइ ? अरू मुद्दाहरू खोइ ?’ ओलीले थपे,‘एमालेलाई बदनाम गर्ने कोसिस गर्नु बेग्लै कुरा हो । कुनै भ्रष्टाचारमा एमाले फसेको छैन, फस्दैन ढुक्क भए हुन्छ । अनेक हिसाबले बदनाम गर्न बोल्नु बेग्लै कुरा हो ।’