कपनमा खहरे खोलाको कहर : बर्खा लागेसँगै बर्सेनि डुबान, तर छैन व्यवस्थापन

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा रहेको खहरे खोलामा सोमबार दिउँसो आएको बाढीले कपनका केही घर डुबानमा परे । सामान्य वर्षामै खोलामा बाढी आएपछि धेरैले घरभित्रका सरसामानसमेत निकाल्न पाएनन् । बाढीबाट कति क्षति भयो भन्ने विवरणसमेत पीडितहरूले निकाल्न सकेका छैनन् ।

खहरे खोलालाई स्थानीयले ह्युमपाइपभित्र पठाएपछि यो क्षेत्रमा बर्सेनि बाढीबाट क्षति हुने गरेको छ । पानीको निकास नहुँदा सामान्य वर्षामै पनि यहाँ सडकमा बाढी बग्न थाल्छ । जसका कारण होचो ठाउँमा भएका घर जलमग्न हुन्छन् । स्थानीयका अनुसार अधिकांश ठाउँमा खोलाको धार नै परिवर्तन हुने गरी मिचिएको छ । त्यसमाथि खोलालाई सानो ह्युमपाइपमा पठाउँदा सडक र बस्ती डुब्ने गरेका छन् । 

कपनका राजेन्द्र घिमिरेका अनुसार भलबाढीको व्यवस्थित निकास नहुँदा बर्सेनि यहाँको भित्री बस्ती डुबानमा पर्दै आएको छ । ‘बग्ने ठाउँ नहुँदा खोला बस्तीमा पसेको छ,’ उनले भने, ‘अझ खोलालाई साँघुरो पारेर ह्युमपाइप राखियो, त्यसमा ढलसमेत मिसाइएको छ ।’ उनका अनुसार पहिले उर्लिएर आउने खोलाको नामनिसाना हराइसकेको छ । बर्सातका वेला त्यही खोला उर्लिएर आउँदा डुबान हुने गरेको छ । यो क्षेत्रको ढल व्यवस्थापनका लागि बागमती प्रदेशअन्तर्गतको सिँचाइ आयोजनाले एक वर्षदेखि सडक ढलान गरे पनि खोला व्यवस्थित नहुँदा डुबानमा पर्ने गरेको छ । स्थानीय गोपाल पोखरेलका अनुसार खोला क्षेत्रलाई निकास नदिँदा बाढी आउने गरेको हो । उनले खोलालाई पुरानै अवस्थामा लैजाने गरी काम गर्नुपर्ने सुझाव दिए । ‘यो खोला पूर्ववत् अवस्थामै लैजानुपर्छ, अन्यथा यसरी नै बर्सेनि क्षति र विनाश निम्त्याउँछ,’ उनले भने । 

खहरे खोलामा बाढी आउँदा काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र ७ एवं बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० र १२ का बस्ती डुबानमा पर्ने गरेको छ । यस क्षेत्रमा शिवपुरी राष्ट्रिय निकुञ्जसम्मको पानी आउँछ । 

काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले खोला साँघुरो हुँदा डुबान पर्दै आइरहेको बताए । ‘यस क्षेत्रमा खोला साँघुरो छ, धेरै ठाउँमा मिचिएको छ, स्थानीयले खोला मिचेर घर बनाएका छन्,’ उनले भने, ‘यो खोलामा हिउँदमा ढल बग्छ, बर्खामा अकासे पानी ।’ 

सीमा छुट्याउन माग 
वडाध्यक्ष लामाले महानगर र बुढानीलकण्ठको सीमा यकिन गर्न आवश्यक रहेको बताए । उनले साततले क्षेत्रमा सीमा मापन गर्नुपर्ने बताए । ‘मैले यसबारे धेरै कुरा उठाएँ र बुढानीलकण्ठ नगरपालिकाले सुनेन,’ वडाध्यक्ष लामाले भने, ‘सीमा छुट्टिएपछि आ–आफ्नो क्षेत्रको समस्या समाधान गर्ने जिम्मा स्थानीय तहकै हो ।’ उनले खोलामा पर्ने घर र अस्थायी टहरा हटाएर खोला व्यवस्थित बनाउनुपर्ने बताउँदै सबैभन्दा बढी समस्या बुढानीलकण्ठ क्षेत्रमा रहेको बताए । उनका अनुसार बुढानीलकण्ठ क्षेत्रमा घरटहराले खोला क्षेत्र बढी ओगटेका छन् । 

यसरी मिचियो खहरे खोला
काठमाडौं महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१२ को सीमा छुट्याउने खहरे खोला बग्ने ठाउँ छैन । खोलामाथि अग्ला–अग्ला भवन निर्माण भएका छन् । यो खोलाको स्थानीय नाम स्यालमती र चुखुँचा पनि हो । तर, ०५६ सालमा खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइयो । त्यसमाथि कालोपत्रे सडक बन्यो । खोला–किनारका जग्गाको मूल्य बढेपछि केही टाठाबाठाले मिलेमतोमा खोलाको जग्गासमेत बिक्री गरे । केहीले खोला हडपेर घर नै उभ्याए । सोही कारण हरेक वर्ष यो खोला आफ्नो ठाउँ खोज्दै स्थानीय गल्ली र घरघरमा पस्छ । 

यी ठाउँ डुबानको उच्च जोखिममा 
उपत्यकामा अलि ठूलो पानी पर्नासाथै सडक र भित्री गल्ली जलमग्न हुन्छन् । अझ लामो समयसम्म अडिएर पानी आइराख्ने हो भने सडकको पानी बस्तीमा उक्लिन्छ । उपत्यकाभित्र अनामनगर, नयाँ बसपार्क, पुतलीसडक, चाबहिल सरस्वतीनगर, कपन, वसन्तपुर दरबार क्षेत्र, सुन्धारा, ललितपुरको पाटन दरबार, हात्तीवन, नख्खु, जावलाखेल, बल्खु, कलंकी, नारायणथान, भक्तपुरको सल्लाघारी, सूर्यविनायक, जडीबुटी, जगातीलगायत ठाउँ डुबानको जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ । यी ठाउँमा ढल, पाइप तथा खोला व्यवस्थित गर्ने क्रममा सावधानी नअपनाउँदा डुबान पर्ने गरेको पाइन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस्तै जोखिमपूर्ण डुबान क्षेत्र र खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढेका छन् । दुई वर्षअघि कपनमा बाढी आउँदा एक बालकलाई बगाएको थियो । 

उपत्यकामा बर्खा याममा हुने विकास निर्माणले पनि डुबानको जोखिम बढाइरहेको छ । विकास निर्माणको बहानामा हुने सडक अवरोध, खानेपानी, ढल तथा त्यससँग सम्बन्धित कामका कारण कतिपय ठाउँमा बस्तीमा बाढी पस्ने गरेको छ । पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारी अन्तरनिकायबीच समन्वय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था रहेको बताए । विकास निर्माणसँग सम्बन्धित निकायले लापरबाही गर्ने गरेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार